सिंहदरबार निर्माणको काम १८ महीनामा सम्पन्न हुन्छ ः सहसचिव मानन्धर

समाचार
  • सरकारले इन्जिनीयरहरुको कुरै सुनेनः ई. पोखरेल

काठमाडौं, १८ कात्तिक
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महीनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् । उनले भने, ‘सिंहदरबार अब भत्काउनुपर्दैन । प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं । ढिलोमा १८ महीनामा काम सम्पन्न हुन्छ । हामीले १५ महीनामा सक्छौं भनेर अनुमान गरेका छौं । साह्रै ढिलो भयो भने पनि १८ महीनामा सम्पन्न गर्छौं ।’
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मानन्धरले सिंहदबार ६३ प्रतिशत जस्तोको त्यस्तै रहेको पनि जनाए । त्यस्तै उनले धरहरा पनि २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्राधिकरणले पुनर्निर्माणको काममा ढिलाई नगरेको स्पष्ट पारे । मानन्धरले थपे, ‘रानीपोखरीको पुनर्निर्माणपनि अब छिट्टै सुरु हुन्छ । खुरु–खुरु काम गर्न दिइएन । विवादै विवाद सुल्झाउँदा केही समय लागेको हो । अब काम सुरु हुन्छ ।’
काष्ठमण्डपको पनि पुनर्निर्माण पनि चाँडै सुरु हुने उनले जनाए । मानन्धरले भने, ‘स्थानीय जनताको सहकार्यमा हामी छिट्टै घोषणा गर्छौं । अब ढिलाई हुँदैन् ।’ उनका अनुसार प्राधिकरणले अहिलेसम्म ५ हजार स्कुल बनाइसकेको छ । उनले भने, ‘अहिलेसम्म हामीले ४३ प्रतिशत निजी आवास बनाइसकेका छौं । जे भएको छ, त्यो भएको छ भनेर भनिदिनुपर्यो ।’
प्राधिकरण गठन गर्नमै १० महीना समय लागेको र यो बीचमा सीईओहरु परिवर्तन भैरहेकोले काम भएन की भनेर देखिएपनि प्राधिकरण सुस्त नरहेको उनको दाबी छ । उनले २३० सरकारी भवनमध्ये अहिलेसम्म १६ वटा भवनको पुनर्निर्माण सम्पन्न भैसकेको जनाए ।
उनले भने, ‘अरु कतिपय निर्माणाधीन छन् । कतिपय टेण्डरको प्रक्रियामा गैसकेका छन् । २२३ स्वास्थ्य भवन निर्माण भैसकेका छन् ।’ आगामी जुलाई १५ देखि २० सम्म ९० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भैसक्नेपनि उनले विश्वास दिलाए । आगामी २ वर्षभित्र सबै सरकारी भवनको पुनर्निर्माण भैसक्नेपनि मानन्धरले दाबी गरे ।
७५१ मध्ये १२१ वटा सम्पदाहरुको पूननिर्माण भैसकेको पनि उनले जनाए । उनले भने, ‘हुन त रानीपोखरी र काष्ठमण्डपको पुनर्निर्माण किन भएन ? भनेर हामीलाई प्रश्न सोधिन्छ, अब यी दुवैको पुनर्निर्माणले गति लिन्छ । रानीपोखरी अब पूरानै शैली र स्वरुपमा बनाउँछौं । अब केही दिनभित्रै काम सुरु हुन्छ ।’
पुनर्निर्माणको लागि समय र लगानी दुवै आवश्यक हुने बताउँदै उनले भने, ‘हामीलाई ९ खर्ब आवश्यक थियो । त्यसमध्ये प्राधिकरणले ३ खर्ब ५१ अर्ब प्राप्त गरिसकेको छ । यो वर्षलाई १ खर्ब ५१ अर्ब राखेका छौं ।’ २०४५ सालको भुकम्पपछि २ वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने भनेर योजना बनाएपनि ७ वर्ष लागेको सुनाउँदै अहिलेपनि केही समय लाग्ने उनको भनाइ थियो ।
उनले पुनर्निर्माणको लागि सहयोग गर्ने भनेर दाताहरुले घोषणा गरेको रकम प्राप्तिको लागि आफूहरुले घचघचाउने पनि जनाए । उनले भने, ‘दाताहरुले दिन्छौं भनेको रकम सबै प्राप्त भएको छैन । प्राप्त हुने रकमको लागि हामी घचघचाउँछौं । अहिले कोषमा भएकै रकम खर्च भएको छैन ।’
फरक प्रसँगमा उनले प्राधिकरणले नेपाल राष्ट्र बैंकको भवन निर्माणमा पप्पुको प्रस्ताव स्वीकृत भएको तर विवाद भएकोले आफूहरुले उक्त विषय सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालमा पठाएको स्पष्ट पारे । उनले भने, ‘पहिले पप्पुलाई कसैले चिन्दैनथियो । तर, पप्पुको बारेमा मिडियामा धारावाही आउन थालेपछि यसको बारेमा सबै जानकार छन् । अहिले त पप्पु बहुचर्चित भयो ।’
सार्वजनकि खरीद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनोट भएको पप्पुको फाइल प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पठाएको उनले जनाए । यो विषय क्याबिनेटमा जान पनि सक्ने वा नजानपनि सक्ने दुवै सम्भावना रहेको उनले सुनाए ।
उनले भने, ‘मौजुदा नियमानुसार ठेक्का पप्पुले नै पाउने हो । मिडिया चुप लागेर बसेको भए नियम र ऐनअनुसार पप्पुले नै पाउने हो । तर, मिडियाले यत्रो विषय उठान गरिसकेको छ । अब त हामी पनि ज्यादै दोधारमा छौं । ऐनले त बकैता रुपमा पप्पुलाई दे भन्छ । तर, कहिलेकाही ऐन र नियमअनुसार मात्रै निर्णय हुँदैन । परिस्थिति र आवश्यकताअनुसर निर्णय हुन्छ । हामी अब दोधारमा छौं । हाम्रो मन्त्रालय भनेको नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हो । हाम्रो मन्त्री भनेकै प्रधानमन्त्रीज्यू हो ।’
कार्यक्रममा नेपाल इन्जिनीयर्स एशोसिएशनका कार्यकारी सदस्य ई. होमनाथ पोखरेलले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिलेपनि निर्माणका कामहरु सुस्त गतिमा भएको गुनासो पोखे ।
यद्यपि, उनले सरकार परिवर्तन र सीईओहरु परिवर्तनको बावजूद पनि पुनर्निर्माणका कामहरु भैरहेको सुनाए । उनले भने, ‘हामीले त कामहरु द्रुत गतिमा हुनुपर्छ भनेर आवाज उठाइरहेका छौं । गुणस्तरीय काम हुनुपर्छ भनेका छौं । हामीले आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका अहिले पनि निर्वाह गरिरहेका छौं ।’
पुर्ननिर्माणसम्बन्धी कामहरु अघि बढाउनको लागि आफूहरुले देशव्यापी रुपमा सचेतना कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको उनले सुनाए । उनले भने, ‘निर्माणको काम कसरी गर्ने र भुकम्प प्रतिरोधात्मक घरहरु कसरी निर्माण गर्ने भन्नेबारे हामी सचेत छौं । र, यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेका छौं ।’
सरकारलाई विकास निर्माणको काममा आफ्नो संगठनको तर्फबाट सुझाव तथा नीतिहरु दिइरहेको पनि उनले जनाए । उनले भने, ‘४५ हजार इन्जिनीयरहरुको छाता संगठन हो । हामीले सरकारलाई हाम्रो नीतिहरु दिइरहेका छौं । तर, सरकारले हाम्रो कुरा सुनेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *