सल्यानमा गाउँपालिकाले बिमानस्थल सञ्चालन गर्ने, ८१ करोड बढी लागत लाग्ने अनुमान

अर्थ/वाणिज्य विशेष समाचार समाचार

सल्यान, २१ असोज


सल्यानमा बिमानस्थल निर्माण हुने भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखराको लेखानाचौरमा बिमानस्थल निर्माण हुने भएको हो । आइतवार लेखपोखरा बिमानस्थल पूर्व सम्भाव्यता अध्ययन प्रतिबेदन सार्वजनिक गर्दै बिमानस्थल निर्माणको लागि लेखपोखरा नै उपयुक्त भएको बताइएको छ । राप्ती राजमार्गको लान्ती बजारदेखि करीब १५ किमीको दूरीमा सम्भाव्यता अध्ययन गरिएको बिमानस्थल पर्दछ ।
लेखपोखरा बिमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न छत्रेश्वरी गाउँपालिकाले यस आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । आरम्भ आर्किटेक्ट एण्ड इञ्जिनीयर्स प्रालि काठमाडौंले एक महीनासम्म गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिबेदनमा भौगोलिक रूपमा लेखपोखरा बिमानस्थल निर्माणको लागि उपयुक्त भएको उल्लेख छ ।
विमानस्थल बनाउँदा धावनमार्गका लागि चाहिने जमीन ६ सय ३० मिटरले प्रशस्त पुग्ने अध्ययनमा संलग्न प्राविधिक टोलीले जानकारी दिएको छ । अध्ययनमा संलग्न प्रालिका किशोर थापाले बिमानस्थल निर्माण गर्न लागिएको जग्गा सार्वजानिक भएको र केही सामुदायिक वनको भएकोले विमानस्थल बनाउँदा प्राविधिक रूपमा चाहिने जमीन प्रशस्त रहेको उनले बताए । भूवनावटको हिसाबले पक्की जमीन भएकोले ग्राउण्डका लागि प्रशस्त र राम्रो जमीन रहेको उनको भनाइ छ ।
लेखपोखरामा निर्माण गर्न लागिएको बिमानस्थल सञ्चालनमा आएपछि यहाँका साढे तीन लाख बढी जनसङ्ख्या लाभान्वित हुने प्रतिबेदनमा उल्लेख छ । सल्यान जिल्लाको अधिकांश भूभागका २ लाख ४२ हजार ४ सय ४४ र रोल्पाका केहीभागका गरेर ३ लाख २१ हजार २ सय ९७ बढी लाभान्वित हुने प्रतिबेदनमा उल्लेख छ । लेखपोखरामा अध्ययन थालिएको विमानस्थलमा १९ सिटे टुइनेटर विमानहरू अवतरण गर्न सक्नेछन् । यहाँ बिमानस्थल निर्माण भएपछि स्थानीयलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ ।
लेखपोखरामा बिमानस्थल निर्माणको लागि ८१ करोड बढी लाग्ने अनुमान गरिएको छ । सार्वजनिक गरिएको प्रतिबेदनअनुसार बिमानस्थल कम्पोनेण्ट र सडक तथा पार्किङको लागि ८१ करोड ४७ लाख १५ हजार १ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो लागत बिमानस्थल पूर्व सम्भाव्यता अध्ययनका क्रममा आकलन गरिएपनि बिस्तृत अध्ययन हुँदा परिवर्तन हुन सक्ने प्राविधिक टोलीले बताएको छ ।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले लेखपोखरामा बिमानस्थल निर्माणको लागि सम्भव भएको बताएका छन् । उनले लागत धेरै देखेर निर्माण कार्य सम्भव हुँदैन कि भनेर नसोच्न आग्रह गरे । ‘छत्रेश्वरी गाउँपालिकाको लागि त बिमानस्थल हो, त्यति मात्र नभएर सिङ्गो सल्यानका लागि ड्रीम प्रोजेक्ट भएकाले अहिले नै लागत देखेर डराउनु पर्ने अवस्था छैन’—उनले भने । उनले काम शुरू गरेपछि जुन सुकै काम पनि सम्भव भएकाले लेखपोखरा बिमानस्थल आफ्नै कार्यकालमा सञ्चालनमा आउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *