ख्वपमा सवैभन्दा कम शुल्कमा बीबीएम

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट भक्तपुर
भक्तपुर, १७ असोज

भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचा भक्तपुरले सवैभन्दा कम शुल्कमा बीबीएम (व्याचलर अफ विजनेश म्यानेजमेन्ट) को पढाई सुरु गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक (सरकारी) र सम्वन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सवैभन्दा कम शुल्कमा बीबीएमको पढाई सुरु गर्न लागेको हो । कलेजले सार्वजनिक गरे अनुसार बीबीएम कार्यक्रमका लागि आठ सेमेष्टरमा कुल तीन लाख ४७ हजार शुल्क लाग्ने सार्वजनिक गरेको छ ।
कलेजका प्राचार्य रुपक जोशीले यो शुल्क काठमाडौं उपत्यकामै सवैभन्दा कम रहेको पाइएको जानकारी दिए । ‘हामीले बुझेअनुसार यो काठमाडौं उपत्यकामै सवैभन्दा कम शुल्क हो, प्राचार्य जोशीले भने, ‘हामीलाई लाग्छ, यो देशकै सवैभन्दा कम पनि हो ।’
नाफा नलिने उद्देश्यका साथ सञ्चालित भएकोले कम शुल्कमै पढाउन आफूहरु सक्षम रहेको प्राचार्य जोशीले जनाए । ‘हामीलाई सञ्चालन खर्च मात्रै उठे पुग्छ, नाफा चाहिंदैन, प्राचार्य जोशीले थपे, ‘फेरि हामीलाई बीबीएमको कार्यक्रम सञ्चालन गर्न थप भौतिक संरचना पनि आवश्यक भएन, कलेजको पहिलाकै भौतिक संरचनाबाट काम चलाउन सकिन्छ ।’ बीबीएम कार्यक्रमका लागि थप भौतिक संरचना बनाइराख्न नपरी लगानी नपर्ने भएकाले त्यसको मूल्य पनि विद्यार्थीले व्यहोर्नु नपर्ने भएको उनको भनाइ छ ।
कलेज भक्तपुर नगरपालिकाबाट सञ्चालित छ । नगरपालिकाबाट सञ्चालित भएकोले सम्पूर्ण भौतिक संरचना नगरपालिका आफैंले नै गरिदिन्छ । कलेजले सञ्चालन खर्चका लागि मात्रै विद्यार्थीसँंग शुल्क उठाउँंछ ।
कम शुल्कमै गुणस्तरीय शिक्षा दिने नीति अनुसार आफूहरुले पढाई गरिरहेको कलेजले जनाएको छ । विभिन्न वर्षहरुमा कलेजका विद्यार्थी त्रिभुवन विश्वविद्यालय टपर तथा गोल्ड मेडलिष्ट पनि भइसकेका छन् । कलेजले बीएस्सी सीएसआइटीलाई पनि प्रस्तावित कार्यक्रमको सूचिमा छ ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप कलेजले भक्तपुरमा जिल्लामै पहिलो पटक बीबीएमको पढाई सुरु गर्न लागेको हो । कक्षा भने दसैं पछाडिबाट मात्रै सुरु हुने कलेजले जनाएको छ । कक्षा सञ्चालनका लागि कलेजले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यालयबाट सम्वन्धन (स्वीकृति) प्राप्त गसिरकेको छ । स्वीकृति प्राप्त गरसँंगै यो वर्षदेखि बीबीएमको पढाईका लागि भर्ना लिएको हो । यसअघि नै सम्वन्धन शुल्कका लागि आवश्यक १५ लाख रुपैयाँं कलेजले तिरिसककेको छ ।
यसको पढाई समेष्टर सिस्टममा हुने जनाइएको छ । कोर्ष चार वर्षे हुनेछ । सेमेष्टर प्रणालीमा रही मार्किग पनि ग्रेडिंग सिस्टममा रहने हुनाले विद्यार्थीको आकर्षण यसप्रति रहेको जनाइएको छ । कम्प्युटर कोर्षहरु पनि रहेकाले यसप्रतिको आकर्षण वढी रहेको बताइएको छ । म्यानेजमेन्टका मिड लेभलका विद्यार्थीको विशेष आकर्षण यसप्रति रहेको जनाइएको छ ।
कलेजमा स्नातक तहमै बीएड, बीबीएस, बीए, बीएएसडव्लू, बीएस्सी फिजिक्स, बीएस्सी इन्भारोमेन्ट साइन्सलगायतका विषयमा पनि पढाई भइराखेका छन् । साथै स्नातकोतर तहमा पनि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका विभिन्न विषयहरुमा पढाई भइराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *