अलकापुरी भक्तपुर र मल्लकालीन भारदार विमोचन

कला/साहित्य समाचार

भक्तपुर, ३ असोज


भक्तपुरमा आज एकैसाथ दुई पुस्तक ‘अलकापुरी भक्तपुर’ र ‘भक्तपुर दरबारका मल्लकालीन भारदारहरु’ सार्वजनिक गरिएको छ ।

पत्रकार एवं साहित्यकार जितेन्द्र श्रेष्ठ ‘रसिक’ को आठौं कृति ‘अलकापुरी भक्तपुर’ र संस्कृतविद् ओम धौभडेलको भक्तपुर ‘दरबारका मल्लकालीन भारदारहरु’को पुरातत्व विभागका महानिर्देशक डा भेषनारायण दाहाल र साहित्यकार एवं संस्कृतकर्मी तेजेश्वरबाबु ग्वङ्गले विमोचन गरेको हो ।

स्वदेश प्रकाशन र भक्तपुर साहित्यिक समाजले संयुक्तरुपमा आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा वक्ताहरुले रसिकद्वारा लिखित ‘अलकापुरी भक्तपुर’ मा भक्तपुरका कला संस्कृति, नाच, मठमन्दिरको जानकारी र तस्वीरसहितको पुस्तकले सिङ्गो भक्तपुरलाई बोकेको बताएका थिए ।

त्यसैगरी धौभडेलको पुस्तक ‘दरबारका मल्लकालीन भारदारहरु’ मल्ल राजाहरुको भारदारहरुको अवस्थाका बारेमा चित्रण गरिएकाले दुवै पुस्तक पठनीय, इतिहास, संस्कृतिलाई आत्मासात् गरेको पुस्तक भएकाले पाठकका लागि धेरै खुराक हुने चर्चा गरेका थिए ।

कार्यक्रममा महानिर्देशक दाहाल, साहित्यकार ग्वङ्ग, प्राध्यापक लेखक भगवान्चन्द्र ज्ञवाली लगायतले पुरस्तकको समीक्षा गर्दै भक्तपुरको सिङ्गो संस्कृतिलाई यसले पस्कने प्रयास गरेको बताउँदै यी दुई पुस्तक अनुसन्धानका लागिसमेत उपयोगी हुने चर्चा गरे।

कार्यक्रममा लेखकद्वय रसिक र धौभडेलले भक्तपुरको कला, संस्कृति, इतिहासको अवस्थाबारे जानकारी दिन र भक्तपुरलाई चिनाउन यी पुस्तकहरु उपयोगी हुने बताए ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति राजुराम मुनकर्मीले भक्तपुरमा पछिल्लो समयमा साहित्य लेखनतर्फ साहित्यकारको आकर्षण बढ्दै गएको र नयाँ साहित्यकारको जन्म भइरहेको सन्दर्भमा यस्ता पुस्तक प्रेरणाको स्रोतसमेत हुन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *