भक्तपुर, २१ मंसिर
वागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नागरिकहरुलाई सामुदायिक, सामूहिक र सामाजिक चेतनाबारे सुसूचित गर्नुपर्ने आवश्यकता औंल्याए ।
नयाँ आवास क्षेत्रमा नमूना पुस्तकालय, संग्रहालयहरु निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले ठूल–ठूला गाडीहरु आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्ने विचार व्यक्त गरे ।
विश्वविद्यालयको मानक भवन मात्र नभएको स्पष्ट पार्दै उनले गुणस्तरीय शैक्षिक संस्था हुन विज्ञ शिक्षकहरुको संख्या बढ्नुपर्ने बताए ।
बढ्दो यातायातको साधनलाई ध्यानमा राख्दै उनले नयाँ आवास क्षेत्रमा नक्सा पास गर्न अनिवार्य ग्यारेजको बन्दोबस्त हुनुपर्ने प्रावधान राख्न नगरपालिकालाई सुझाव दिए ।
विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले व्यक्तिगत स्वार्थविनाको कामले प्रगति हुने बताउँदै सामाजिक भावनाको एकताको परिणाम नै वागीश्वरी आजको अवस्थामा आएको बताए ।
भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने नेमकिपाको लक्ष्यअनुसार नगरपालिकाले काम गर्दै आएको जानकारी दिंदै उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय प्रगति गरिरहेको जानकारी दिए ।
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले नेपालका कुनै पनि कलेजले उत्पादित जनशक्ति गुणस्तरयुक्त छन् भन्ने प्रमाणित गराउन विश्वविद्यालय अनुदान आयोगबाट प्रमाणित गराउनुपर्ने आवश्यकताअनुसार यस कलेजले पनि गुणस्तर सुनिश्चितता प्रत्यायन समितिको कार्यक्रममा अगाडि बढ्नु प्रशंसनीय भएको बताउँदै कलेजको प्रगतिमा योगदान गर्नुहुने सम्पूर्ण व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारीहरुमा शुभकामना व्यक्त गरे ।
उनले प्रदेश नं. ३ को सरकारले हाल वागीश्वरी माविलाई नमूना विद्यालयको रुपमा छनोट गरेको जानकारी दिए ।
प्राध्यापक डा. सिद्धिवीर कर्माचार्यले शिक्षकहरुले अध्ययनलाई थप व्यापक बनाउँदै कलेजको गुणस्तर वृद्धिको लागि थप योगदान गर्नुपर्ने आवश्यकता औंल्याए ।
कलेजको भवन निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर उलकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, शिक्षक राजन चौगुठीलगायतले बोलेका थिए ।