वागीश्वरीबाट एसइई उत्तीर्ण २ सय ४४ विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन
न्यूज अपडेट संवाददाता
भक्तपुर, १८ असार
भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समाज सेवामा समर्पित भावना भएको व्यक्ति हरेक विषयमा सफल हुने बताएको छ । वागीश्वरी माध्यमिक विद्यालयबाट उत्तीर्ण एसइई २०८० का २ सय ४४ जना विद्यार्थीहरुलाई बधाई तथा मार्ग निर्देशन दिँदै उनले यस्तो बताएको हो । उनले देशका लागि बुद्धिजीवीकरण गर्ने कार्यमा भक्तपुर नगरपालिकाबाट देशमै उच्च शिक्षा अध्ययन गर्नेका लागि ऋण तथा छात्रवृत्तिको व्यवस्था गरेको बताए । उनले गुणस्तरीय शिक्षाको गन्तव्य भक्तपुरका रुपमा लिई प्लस टु पछि पनि जुनसुकै विषय भक्तपुरमै अध्ययन गर्न पाउने स्पष्ट पारेको छ । ३.९६ जीपीए आउने सर्वोत्कृष्ट चार विद्यार्थीलाई मायाको चिनो वितरण गर्दै उनले विद्यार्थीको सफलतामा साथ दिने शिक्षक, अभिभावक, विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरे ।
एसइई उत्तीर्ण अन्य सम्पूर्ण विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्दै वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष एवम् भनपा ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले प्ले ग्रुपदेखि स्नातकोत्तर तहसम्म वागीश्वरीमै पढ्न पाउने व्यवस्था भएकाले पढाइका लागि अन्त जान्नै नपर्ने जिकीर गरे । उनले केही गर्नु छ भने व्यवहार, आचरणमा सुधार गर्नुपर्ने बताउँदै प्रविधि, सिप जुनसुकै ठाउँमा सिकेपनि त्यसको प्रयोग आफ्नै माटोको लागि गर्नुपर्नेमा जोड दिए । उनले एसइईपछि जुनसुकै ठाउँमा जाँदा पनि कसैको छत्रछायाँमा नबसी आत्मनिर्भर भई अघि बढ्नुपर्ने बताए ।
वागीश्वरी कलेज अफ म्यानाज्मेन्टका प्राचार्य कृष्ण प्रसाद धन्छाले बढी मेहनत गरे जीवनको लक्ष्य भेटाउन र विभिन्न विषयमा विज्ञ बन्न यो कार्यक्रमको आयोजना भएको बताएको छ । उनले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै धेरैपटकको ठक्करबाट सफलता हासिल गर्न सकेको बताए ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले अल्मलिरहेका विद्यार्थीलाई बाटो देखाउने काममा शिक्षकले सहयोगी भूमिका निर्वाह गर्ने बताए । उनले विद्यार्थीको उज्वल भविष्यका लागि वागीश्वरीले निरन्तर साथ सहयोग दिइरहने बताए ।
प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले अरु कसैले भनेकै भरमा विद्यालय नछानी विद्यालयको दिगोपनाका आधारमा छान्नुपर्ने बताए । उनले देशभरका २७ हजार विद्यालयमा सर्वोत्कृष्ठ दश स्थानमा पर्न सफल भएकोले विद्यार्थीको गन्तव्य वागीश्वरी नै हुनुपर्नेमा जोड दिए । उनले मानवीकी विज्ञानको जननी भएको बताउँदै सबै विषय उत्तिकै महत्वपूर्ण रहेको बताए । कुशल व्यवस्थापनका कारण वागीश्वरी नमूना विद्यालय बन्न सफल भएको बताउँदै उनले हरेक प्रतिभावान विद्यार्थीका लागि पैसाकै कारण बाधा अड्चन नहुने बताए । उनले वागीश्वरीमा वार्षिक १ करोडसम्मको छात्रवृत्तिको व्यवस्था रहेको स्पष्ट पारे ।
निमित्त प्रधानाध्यापक कृष्ण प्रसाद कमाचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राविधिक टेक्स कार्यक्रमका संयोजक दिनेश प्रधान, व्यवस्थापन शिक्षक नवीन प्रजापति, मानविकी शिक्षक भानु हुमागाई र पूर्व विद्यार्थी एवम् एमबीबीएसमा छात्रवृत्ति पाउन सफल झलक खत्रीले विद्यार्थीहरुलाई प्रस्तुतीकरणमार्फत मार्ग निर्देश गरेका थिए ।