जोशीको पुनरागमनले सर्वोच्चमा तनाव, मर्यादाक्रमबारे न्यायाधीशबीच विवाद !

विशेष समाचार समाचार

काठमाडौं, २७ भाद

संसदीय सुनुवाइ विशेष समितिले नेपालको प्रधानन्यायाधीश बन्न ‘योग्य नभएको’ भनेर अस्वीकृत गरेका सर्वोच्चका न्यायाधीश दीपकराज जोशी ३९ दिन बिदा बसेर मंगलवार सर्वोच्च फर्किए ।

सोमवार नेपालको ३८औं प्रधानन्यायाधीशमा नियुक्त भएका ओमप्रकाश मिश्रलाई स्वागत गरेका जोशी मंगलवारदेखि नियमित काममा फर्किएका हुन् । तर मंगलवार उनका लागि कुनै पेशी तोकिएन ।

न्यायसम्पादनका जिम्मेवारी नपाएका जोशी मंगलवार कार्यालय समय बिताएर त्यसै घर फर्किए । जोशीले मंगलवार आफ्ना लागि पेशी नतोकिनु प्राविधिक विषय भएको अनुमान गरेका थिए ।

मंगलवार लोकान्तरसँगको कुराकानीमा जोशीले भनेका थिए, ‘इजलाशका मेच व्यवस्थापन गर्न परेकाले आज पेशी नतोकिएको होला, भोलिदेखि तोकिन्छ ।’

तर प्रधानन्यायाधीश मिश्रले बुधवार पनि जोशीका नाममा पेशी तोकेका छैनन् । मिश्रले बुधवार ९ वटा इजलाशका लागि पेशी तोकेका छन् । न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको बाहेक अन्य ७ वटा संयुक्त इजलाश छन् ।

जोशीको पुनरागमले सर्वोच्चमा तनाव

मंगलवार र बुधवार गरी दुईदिन पेशी नपाएका जोशीले अर्को दिन पुन सहजै पेशी पाउने अवस्था नरहेको एक अधिवक्ता बताउँछन् । सर्वोच्च अदालतका अन्य न्यायाधीशले जोशीप्रति सकरात्मक धारणा बनाउन नसकेका ती अधिवक्ताको भनाइ छ ।

‘जोशीले सर्वोच्चमा फर्किनु एक त नैतिकताको विषय हो । अर्को कानूनी र संवैधानिक पनि बनेका छ,’ ती अधिवक्ता भन्छन्, ‘प्राय सबै न्यायाधीशले जोशीसँग बेन्च सेयर गर्न चाहेका छैनन् । अर्को विषय संसदले अस्वीकृत गरेका न्यायाधीशले गरेका आदेश तथा फैसलाको कानूनी र संवैधानिक आधार के हुन्छ भन्ने विषयमा पनि सर्वोच्चका अन्य न्यायाधीशले प्रश्न उठाएका छन् ।’

सर्वोच्चका न्यायाधीशले अर्को प्रश्न पनि उठाएका छन्, जोशीको मर्यादाक्रमबारे । वरिष्ठताका आधारमा जोशी प्रधानन्यायाधीश मिश्रभन्दा पनि अगाडि थिए । संसदीय सुनुवाइ समितिले जोशीलाई प्रधान्यायाधीशमा अस्वीकृत गरेपछि संवैधानिक परिषद्को सिफारिसमा जोशी पछि वरिष्ठताको आधारमा दोस्रो नम्बरमा रहेका मिश्र प्रधानन्यायाधीश बने ।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश मिश्रपछि न्यायाधीश चोलेन्द्रशम्शेर जबरा थिए । मिश्र प्रधानन्यायाधीश बनेपछि सर्वोच्च अदालतले मर्यादाक्रम निर्धारण गरी जोशीलाई वरिष्ठतम् न्यायाधीशका रूपमा ‘स्वीकारेको’ छ । सर्वोच्चले आफ्नो वेवसाइटमा न्यायाधीशको सूचीमा प्रधानन्यायाधीशपछि दोस्रो नम्बरमा जोशीको नाम राखेको छ ।

स्रोतका अनुसार न्यायाधीश जबराले जोशीलाई वरिष्ठतम् न्यायाधीशका रूपमा राखिएकोप्रति असन्तुष्टि जनाएका छन् । जबरासहित अन्य न्यायाधीशले पनि जोशीलाई वरिष्ठतम् न्यायाधीशको रूपमा स्वीकार गर्न नसकिने भन्दै प्रधानन्यायाधीश मिश्रको ध्यानाकर्षण गराइसकेका छन् ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश न्याय परिषद्को सदस्य हुने प्रावधान छ । साथै प्रधानन्यायाधीशको अनुपस्थितिमा पेशी तोक्ने काम पनि वरिष्ठतम् न्यायाधीशले गर्न पाउँछन् ।

यद्यपि न्याय परिषद्ले भने जोशीलाई सदस्यको रूपमा ‘स्वीकार’ गरेको छैन । परिषद्को सदस्य सूचीमा वरिष्ठतम् न्यायाधीश सदस्य हुने ठाउँमा कसैको पनि नाम उल्लेख गरिएको छैन ।

पेशी किन तोकिएन, थाहा छैन : जोशी 

न्यायाधीश जोशीले बुधवार पनि आफ्नो नाममा पेशी नतोकिएकोबारे आफूलाई केही जानकारी नदिइएको बताए । पेशी तोक्ने अधिकारी प्रधानन्यायाधीशमा निहित भएकाले त्यसबारे आफूलाई कुनै जानकारी नभएको जोशीको भनाइ छ ।

‘पेशी किन तोकिएन भन्ने विषय प्रधान्यायाधीशलाई थाहा होला । मलाई यसबारे कुनै जानकारी गराइएको छैन,’ लोकान्तरसँगको कुराकानीमा जोशीले भने, ‘यसबारे उहाँलाई सोध्दा राम्रो होला ।’

आफ्नो नाममा पेशी नतोकिए पछि जोशीले बुधवार ढिला मात्रै कार्यालय जाने जानकारी दिए । ‘सधैंको बुधवार नियमित रूपमा बस्ने बैठकमा सहभागी हुने हिसाबले सर्वोच्च जान्छु,’ जोशीले भने, ‘सोही बैठकमा छलफल होला । मलाई किन पेशी नतोकिएको रहेछ भन्ने पनि सोही मिटिङमा थाहा होला ।’

जोशीले सर्वोच्चका अन्य न्यायाधीशसँग कुरा गर्दा कसैले पनि आफ्नो भूमिकाबारे प्रश्न नउठाएको बताए ।
‘मंगलवार सबै सहपाठीसँग कुरा भयो,’ जोशीले भने, ‘सबै जनाले राम्रै प्रतिक्रिया दिनुभएको थियो । कसैले मप्रति नकरात्मक धारणा बनाएको जस्तो त लागेन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *