कोरोना बिमा : १२१९३ जनाले पाए एक अर्ब १९ करोड रुपैयाँ

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ पुस

कोरोना बिमा गर्नेमध्ये १२ हजार १ सय ९३ जनाले दाबी भुक्तानी पाएका छन्। बिमा समितिका अनुसार १२ हजार १ सय ९३ कोरोना संक्रमितले एक अर्ब १९ करोड ७ लाख रुपैयाँ दाबी प्राप्त गरेका हुन्।

दाबी भुक्तानीका क्रममा २३ हजार ५६ जनाको कागजपत्र पुरा भएको छ। तीमध्ये १२ हजार १ सय ९३ जनाले मात्रै भुक्तानी प्राप्त गरेका हुन्। बाँकी दाबी भुक्तानी क्रमशः हुँदै जाने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए।

कागजपत्र पुरा भएका बीमितलाई क्रमशः दाबी भुक्तानी गर्दै जाने भएकाले कसैको पनि दाबी नरोकिने उनले प्रतिबद्धता जनाए। कागजपत्र पुरा भएकामध्ये २ हजार १ सय ११ जनालाई दाबी भुक्तानीका लागि पठाइएको र २ हजार ५५४ जनाको पिसीआर रिपोर्ट भेरिफाइका लागि स्वास्थ्य विभाग पठाइएको छ।

१ हजार ५ सय ७१ जनाको कागजपत्र पूरा नभएकाले कम्पनीहरुलाई फिर्ता पठाइएको छ। मापदण्ड अनुसार दाबी विरोध नपुगेका ५० जनाले दाबी भुक्तानी पाएनन्। उनीहरुले पोलिसी खरिद गरेको १५ दिन नपुग्दै पिसिआर रिपोर्ट बुझाएकाले दाबी नपाएका हुन्। दाबी भुक्तानीका लागि निवेदन दिनेमध्ये ३ हजार ५६६ जनाको कागजपत्र भेरीभाइ गर्ने काम भइरहेको जनाइएको छ।

हालसम्म १७ लाखभन्दा धेरैले कोरोना बिमा गरेका छन्। बिमा गर्ने क्रममा बिमा कम्पनीले ९८ करोड ‍रुपैयाँको प्रिमियम संकलन गरेका छन्। कम्पनीहरुले प्रिमियमभन्दा २१ करोड रुपैयाँ बढीको दाबी भुक्तानी गरिसकेका छन्। ‍बिमा कम्पनी तथा नेपाल सरकारले यस पोलिसीमार्फत् ४ अर्ब भन्दा माथिको दाबी भुक्तानी गर्नु पर्ने देखिएको छ। नेपालको इतिहासमा यो पोलिसी सबैभन्दा असफल पोलिसी मानिएको छ। महामारीको बिमा गर्दा ठूलो नोक्सान बेहोर्नु पर्ने यसबाट सावित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *