वागीश्वरीमा सामाजिक दूरी कायम गरी बधाई तथा मार्गनिर्देशन

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट
भक्तपुर, १२ मंसिर


वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा २०७६ मा एसइई उत्तीर्ण विद्यार्थीहरुलाई बुधवारदेखि स्वास्थ्य मापदण्ड पालना गरी पाँच दिने बधाई तथा मार्गनिर्देशन कार्यक्रम भएको छ ।

सामाजिक दूरी कायम गरी पाँच समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै विद्यालयमै बोलाई उक्त कार्यक्रम गरेको विद्यालय प्रशासनले जनाएको छ । एसईईमा सामेल विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि मार्गनिर्देशन दिएको उक्त कार्यक्रममा विद्यालय गतिविधि तथा भौतिक निर्माणसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

बुधवारदेखि शुरु भएको उक्त कार्यक्रममा विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन दिँदै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यालय तह सकेपछि मात्र चरित्र निर्माणको तह शुरु हुने भएकोले अझ बढी मेहनत गर्नुपर्ने बताए। पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले जुनसुकै विषय लिएपनि विशेषज्ञता हासिल गर्ने गरी पढ्नुपर्नेमा जोड दिए । उनले जुनसुकै स्थान र विद्यालयमा पढेपनि यहाँबाट गइसकेपछि पनि यस विद्यालयको ख्यातिमा थप योगदान गर्नुपर्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले विद्यार्थीहरुले आन्तरिक मूल्यांकनबाट पाएको ग्रेडलाई ध्यानमा राखी उच्च शिक्षा अध्ययनको क्रममा पनि बढीभन्दा बढी ग्रेड प्राप्त गर्नुपर्ने बताए । उनले वागीश्वरीका विद्यार्थी नमूनाका रुपमा सदभावदूतका रुपमा अन्य ठाउँमा जाँदा पनि राम्रो पहिचान कायम गर्नुपर्ने बताए। शिक्षक विश्वेश्वर मानन्धरले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक उकेश सुवालले स्वागत गरेको थियो ।

प्रधानाध्यापक धन्छाले विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेको उक्त कार्यक्रममा प्रत्येक दिन दुई जना विद्यार्थीहरुले विद्यालयमा पढ्दाको अनुभव व्यक्त गरेका थिए । जीपीए ३.६५ वा सोभन्दा माथि ४५ जना, ३.२५ वा सोभन्दा माथि ६९ जना, २.८५ वा सोभन्दा माथि ६९ जना, २.४५ वा सोभन्दा माथि ५४ जना र २.०५ वा सोभन्दा माथि २१ जना गरी जम्मा २ सय ५८ जनाले उक्त विद्यालयबाट एसईई परीक्षा पूरा गरेको विद्यालय प्रशासनले बताएको छ । ९० प्रतिशतभन्दा बढी विद्यार्थीको भौतिक उपस्थितिमा भएको उक्त कार्यक्रम सोमबारसम्म हुनेछ । कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षकहरु मैयाकेशरी कोजू, पूजा शाक्यलगायतले बधाई तथा मार्गनिर्देशन दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *