न्यूज अपडेट
भक्तपुर, ३० कात्तिक

जनता बाँचे भाषा बच्छ भन्ने मूल नाराका साथ दीपावली तथा नयाँ वर्ष ने.सं.११४१ को अवसरमा नेपाल भाषा साहित्य तःमुंज्याले अनलाइन जुमबाट आज शुभकामना कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले लिपि हराए संस्कृति र सम्पदा हराउने, मान्छे हराए भाषा हराउने कुरा बताएको छ । उनले सन्तुलित विकासको अवधारणा विगत २५ वर्षदेखि भनिरहेको संकेत गर्दै देशभरका मान्छे स्मार्ट सीटीलगायतका योजना ल्याएर एकै ठाउँमा राख्न नहुनेमा सरकारले त्यस्तो गर्न खोजेको प्रति खेद व्यक्त गरे । साथै विगतमा नेपाली कांग्रेस सरकारकै पालामा किसानलाई कम मुआब्जा दिएर जग्गा अधिग्रहण गरी औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्न महारवादीहरुलाई सस्तोमा पोसेको बताए । स्थानीय हस्तकला उद्योगको रुपमा राख्न बनाएको उक्त उद्योगमा रासायनिक पदार्थको प्रयोग गरिरहेको र यहाँका मान्छेलाई धुँवा, धुलो खुवाएर प्रदूषण बढाएर मार्न खोजेको त्यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको स्पष्ट पारे ।

बडाअहंकारबदी र जातिवादी अहिलेको सरकारले नेपालका विभिन्न क्षेत्रमा सन्तुलित विकास गर्नुपर्नेमा नगरिएको बताउँदै उनले आफू बाच्नका लागि सरकारले जनताको बली चढाएको औल्याए । अहिलेको कोरोना महामारीको समयमा विभिन्न चाँडपर्वलाई हामीले मनाउनु, दाफा भजन गर्नु भनेको आफ्नो मान्छेलाई आफैले मार्नुसरह हुने भएकाले भोज खाने र खुवाउने कार्य नगर्न सुझाव दिए । उनले हाम्रो आफ्नै विगतका सामाजिक संस्कार बिर्सेकै कारण कोरोना रोग महामारीको रुपमा आइरहेको बताए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवलले सन्तुलित विकास गर्नुपर्ने र सांस्कृतिक अतिक्रमण हुनबाट बचाउनुपर्ने धारणा राखे । साथै उनले सरकारको प्रतिबद्धता अनुसार औद्योगिक क्षेत्रलाई उपत्यकाबाट स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । उनले सम्पदा बिगारी विभिन्न कम्प्लेक्स बनाएकोप्रति आपत्ति व्यक्त गरे ।

नेमकिपा केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाषा बोल्ने संख्यामा कमी आएपछि सांस्कृतिक अतिक्रमण बढेको बताउँदै उपत्यकालाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय पाठ्यक्रममा नेपाल भाषा लिपि सिकाउने पाठ समावेश गरेर भक्तपुर नगरका ९२ वटा विद्यालयमा पठन पाठन गराउँदै आएको बताए । उनले जहाँ अन्याय हुन्छ, त्यहाँ नेमकिपाका कार्यकर्ताको उपस्थिति हुने स्पष्ट पार्दै भक्तपुर क्यान्सर अस्पताललाई भ्रष्टाचारको अखडाबाट मुक्त गर्न राज्यले नेतृत्व गर्न समिति बनाएको बताए । त्यस्तै उनले कोरोनाको महामारीबाट पहिला आफू बच्नुपर्ने र त्यसपछि मात्रै जनताको सेवा गर्न सकिने धारणा राखे ।
आयोजक मूल कमिटीका अध्यक्ष चन्द्र बहादुर उलकको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सभासद् सु्रेन्द्रराज गोसाई, सृजना सैजू, नेमकिपा काठमाडौका अध्यक्ष सनकमान महर्जन, आशकुमार चिकबन्जार, सविन ख्याजुलगायतले शुभकामना व्यक्त गरेका थिए ।