आज सकिमना पुन्हिँ मनाउँदै

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३ मंसिर


कार्तिक पुर्णिमा अर्थात नेपाल भाषामा सकिमना पुन्हिँ महादेवको दर्शन गरि मनाईदै छ । सकिमना अर्थात् पिँडालु उसिनेर उपत्यका नेवार समुदायले खाने पर्व अर्थात् सकिमना पर्व मनाउँदै छन् ।नेवार समुदायले प्रत्येक कार्तिक शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गर्छन् । सकिमना पुन्हीलाई शाब्दिक अर्थमा सकी भन्नाले पिँडालु र मना भन्नाले उसिनेर वा उसिन्ने हो । पूर्णिमाको दिनमा पिँडालु उसिन्ने पर्व भएकोले सकिमना पुन्ही भनिएको हो । यो दिन भक्तपुरका भक्तजनहरु आशापुरी महादेव, यातु महादेव, केदारनाथको शिर डोलेश्वर महादेव, चाँगुनारायण ,इचंगुनारायण लगायतका मन्दिरहरुमा गई दर्शन गर्न जाने चलन रहेको छ । यस दिनमा बिहान पिँडालु, सखरखण्ड, गहँु, भटमास, मकै भुटेर देवीदेवतालाई चढाएर खाने गरिन्छ । बर्सेनि सकिमना पुन्हीको दिन पिँडालु उसिनेर खाँदै आए पनि नयाँ पुस्तालाई पर्व किन र कसरी मनाइन्छ भन्ने जानकारी नभएको बूढापाका बताउँछन् ।
संस्कृतविद् ओम धौभडेलका अनुसार एक पटक रावणले सृष्टिकर्ता ब्रह्मादेखि डाहा लागेर सम्पूर्ण दानवलाई मानव बनाउन कठोर तपस्या गरेछन् । तपस्या सफल भएपछि खाने वस्तु अभाव भयो ।


त्यसपछि रावणले जमिनमाथि मकै र जमिनमुनि पिँडालु उत्पन्न गरे । पछि सम्पूर्ण देवता र मानव मिलेर रावणको प्रयास असफल बनाउन कर्कलो सखाप पार्नतिर लागे । त्यसै क्रममा दसहराको दिन कर्कलाको तरकारी खाने, जनैपूर्णिमाको दिन कर्कलाको अचार खाने र मंसिर शुक्ल पूर्णिमाको दिन पिँडालु खानुलाई राक्षस निर्मूल गरेसरह मानिन्छ ।
उनका अनुसार परापूर्वकालमा नेपालमा अनिकाल परेछ । धानको बिउसमेत पाइएन । खानका लागि गहुँ, मकै, भटमासजस्ता अन्न मात्र बाँकी भए । त्यही अन्न खान हुन्छ भन्ने सन्देश दिने उद्देश्यले कार्तिक शुक्ल पूर्णिमाको दिन यस्तै विभिन्न अन्नबाट देवदेवीको चित्र बनाई पछि त्यही अन्न प्रसादको रूपमा खाने चलन बसालियो ।


यो कुरा नेपाल संवत् ८१८ मा भूपतिन्द्र मल्लले लेखाएको भक्तपुर दरबार क्षेत्रको मालती चोकको अभिलेखबाट पुष्टि हुन्छ । भक्तपुर तलेजुभित्र सकिमना पुन्ही मनाउने क्रममा तलेजु भवानीलाई खिर चढाउने गरिन्छ । साथै, तलेजु मूलचोकको स्नेह मण्डपमा नसा ब्वयेगु अर्थात् साँझ भएपछि प्रत्येक टोल टोलमा मन्दिरको अगाडि पिँडालु, सखरखण्ड, पुरी, मालपा, गहुँ, भटमास, मकैले बिभिन्न देवी देवता र मन्दिरहरुको चित्र बनाई प्रदर्शन गरिन्छ । यस्तो प्रकारको कार्यलाई नेपाल भाषामा “नःसा ब्वोयगु” भने गरिन्छ । करीव ४ र ५ घण्टाको प्रदर्शनपछि भजन किर्तन सकाएर यी खानेकुरा सबै मिसाई टोलमा सबैलाई प्रसाद दिने चलन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *