विश्व राजनीतिक पार्टी शिखर सम्मेलनमा नेमकिपा अध्यक्ष बिजुक्छेँको सन्देश

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ असार

(चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा चिकपा अन्तर्राष्ट्रिय विभागको अग्रसरतामा मङ्गलबार भएको विश्वभरका राजनीतिक दलहरूको शिखर सम्मेलनको निम्ति नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पठाउनुभएको सन्देश पाठकको जानकारीको लागि प्रस्तुत छ–सम्पादक)

सम्माननीय चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङ, अन्य प्रतिनिधिमण्डल सदस्य र कमरेडहरू,
हरेक राजनीतिक पार्टी निश्चित विचारधारा र वर्गको आधारमा बहुमत जनताको निःस्वार्थ सेवा गर्न स्थापना भएको हुन्छ । एक शताब्दीअघि चिनियाँ कम्युनिस्ट पार्टी साम्राज्यवादी शक्तिबाट चीनलाई मुक्त गर्न स्थापना भयो । ७२ वर्षअघि चीनमा समाजवादी व्यवस्था स्थापनापछि चिकपा सत्तामा गयो । चिकपा स्थापनाको १०० वर्ष र सत्ता चलाएको ७२ वर्षमा चिनियाँ जनताले गरिबी निर्मूल गरे । विज्ञान–प्रविधि, उद्योग, शिक्षा, स्वास्थ्य र अर्थतन्त्रका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरे ।
यो सुखद अवसरमा म नेपाल मजदुर किसान पार्टीका सदस्य र शुभचिन्तकहरूको तर्फबाट ‘संसारकै सबभन्दा ठुलो राजनीतिक पार्टी’ का महासचिव सी चिनफिङलाई शुभकामना व्यक्त गर्दै यो अवसरको निम्ति आभार व्यक्त गर्दछु ।
हरेक क्षेत्रमा व्यक्तित्व विकासमा समान अवसर, सबैलाई क्षमता र कामअनुसार ज्याला, उत्पादनका साधन र सेवालाई जनता तथा समाजको निम्ति समर्पण गर्नु चिकपा र चिनियाँ जनताको सभ्य भावना र संस्कृतिका प्रतीक हुन् । जनताको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर सन् २०५० भित्र चिनियाँ समाजलाई आधुनिक समाजवादी समाजमा रूपान्तरण गर्ने लक्ष्य वास्तवमै महान् र प्रशंसनीय विचार र सपना हो । नेमकिपा यस्ता ऐतिहासिक र दूरदर्शी लक्ष्यमा सफलताको निम्ति शुभकामना व्यक्त गर्दछ ।
कोभिड–१९ महामारीविरुद्ध चिनियाँ जनताको सङ्घर्ष र विजय एवम् संसारभरका राजनीतिक दलहरूसँग आफ्नो अनुभव र उपलब्धि आदानप्रदान गर्ने ‘सार्वजनिक हित’ को विचारले संसारलाई आश्चर्यचकितमात्र बनाएको छैन, बरु कठिनाइ सामना गर्ने आशाको किरण पनि बनेको छ । चिकपाका महासचिव एवम् चिनियाँ जनताका राष्ट्रपति महामहिम सी चिनफिङले सिङ्गो संसारका जनतालाई ‘हातमा हात मिलाएर काम गर्न’ गर्नुभएको आह्वान ऐतिहासिक थियो ।
नेपालका सबै राजनीतिक पार्टीहरूले चिकपा र चिनियाँ जनताको उच्च भावना अँगाल्न सके आफ्नो लक्ष्य पूरा गर्न त्यसले पक्कै योगदान गर्नेछ । महामारीविरुद्ध राजनीतिक पार्टीहरूले चौबीसै घण्टा अथक र प्रशंसनीय प्रयास गरेजस्तै यदि उनीहरूले भ्रष्टाचारविरुद्ध लडे र जनतालाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, आवासलगायत आधारभूत आवश्यकता पूरा गर्न दलगत स्वार्थ त्यागे हामी हाम्रो कर्तव्य पूरा गर्न सक्थ्यौँ र लक्ष्यमा पुग्ने थियौँ ।
जनताको हित हेर्ने, निःस्वार्थरूपमा सेवा गर्ने र दिलोज्यानले लाग्ने नेताहरू भएको चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले विकसित विज्ञान–प्रविधि, शिक्षा र भौतिक सामग्रीको प्रचुरता भएको आदर्श समाजतर्फ रूपान्तरणमा संसारका जनतासँग हातेमालो गर्न म शुभकामना व्यक्त गर्दछु । त्यो आदर्श समाजमा सबैले आफ्नो क्षमताअनुसारको काम र आवश्यकताअनुसार सेवा पाउनेछन्, मजदुर र किसान, शारीरिक र बौद्धिक श्रम, सहर र गाउँबीच कुनै भिन्नता हुने छैन । म मानव समाजलाई वर्गविहीन र शोषणमुक्त समाजमा रूपान्तरण गर्ने कठिन कार्यमा योगदानको सफलताको शुभकामना व्यक्त गर्दछु ।
अन्त्यमा, चिनियाँ कम्युुनिस्ट पार्टी अन्तर्राष्ट्रिय समितिलाई चीन र अन्य देशका राजनीतिक पार्टीको यो शिखर सम्मेलन आयोजनाको निम्ति आभार व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *