नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन

विशेष समाचार समाचार

भक्तपुर,२ असोज


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा बुधबार नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष बिजुक्छेँले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुनसक्ने यहाँको कला–संस्कृति संरक्षण भइरहनेछ भने ।
उनले भक्तपुरको मूर्त–अमूर्त कला–संस्कृतिका कारण भक्तपुर घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढिरहेकोमा खुशी व्यक्त गरे ।


उनँले डकर्मीहरूको जीवन सुरक्षाको निम्ति डकर्मीहरूलाई प्राथमिक उपचारबारे प्रशिक्षित गर्नुपर्ने आवश्यकता औंल्याउँदै कालिगढहरूले नयाँ नयाँ प्रविधि र निर्माणबारे पनि सिक्न अभिप्रेरित गरे ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा भइरहेका विकास निर्माण तथा सांस्कृतिक सम्पदा पुनःनिर्माण उपभोक्ता समितिमार्फत् गुणस्तरीय ढंगले अगाडि बढिरहेको जिकिर गरे ।
भवन निर्माण र अन्य व्यापारका कामहरूमा भारतीय कामदार र लगानीकर्ताको संलग्नता बढिरहेको जिकिर गर्दै प्रमुख प्रजापतिले नेपाली कामदारहरू बिस्तारै बिस्थापित हुने खतरा बढेको बताए ।
कमसल निर्माण र आर्थिक अनियमितता तथा भ्रष्टाचारका कारण ठेकेदारहरूले बद्नाम कमाइरहेको बताउदै उनले ठेकेदारहरूलाई इमानदारीपूर्वक काम गर्न प्रेरित गरे ।
नेपाल क्रान्तिकारी मजदुर संघ भक्तपुर जिल्लाका अध्यक्ष उपेन्द्र सुवालले भक्तपुरका डकर्मी तथा कालीगढहरूले देशको विभिन्न जिल्लामा गरिरहेको निर्माणका कार्यहरू प्रशंसनीय रहेको बताउदै भक्तपुर क्यान्सर अस्पतालको वर्तमान अवस्थाबारे अवगत गराए ।
नेपाल क्रान्तिकारी डकर्मी संघका अध्यक्ष विष्णुराम दुमरुले कामदार वर्गको हकहितको लागि संघ प्रतिबद्ध रहेको बताउदै डकर्मीहरूले कामको समयमा आवश्यक सुरक्षाहरू अपनाउनुपर्ने कुराहरूबारे प्रस्ट पारे ।
भक्तपुर सिकर्मी संघका अध्यक्ष विक्रम ढुकुछुले दुईतिहाइ बहुमत प्राप्त सरकारले कामदार वर्गको पक्षमा नरहेको र पुँजीपति वर्गको पक्षमा काम गरिरहेको बताउदै सबै पेशाका मजदुरहरू राजनैतिक रुपले संगठित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल क्रान्तिकारी डकर्मी संघका उपाध्यक्ष विक्रम कासिछ्वा, नेपाल क्रान्तिकारी मजदुर संघका शिव सितिखु र नेपाल डकर्मी संघका सूर्यनारायण फाँजूले संघ स्थापनाको उद्देश्य र महत्वबारे आ–आफ्नो विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *