हिमाली गाउँको आम्दानीको श्रोत गलैँचा

कला/साहित्य समाचार

ताप्लेजुङ, १ असोज


तीब्बत संग सीमा जोडिएको ताप्लेजुङको ओलाङचुङगोलाकि यमुना सिवा (शेर्पा) लाई केहि वर्ष अघि सम्म गलैँचा बुन्न आउँदैनथ्यो । उनि घरैमा बसेर घरको रेखदेख, घरायसी काम र बस्तुभाउको हेरचाहमा समय विताउँथिन् । तर पछिल्लो ३ वर्षयतादेखि भने शिप सिकेर गलैँचा बुन्न थालिन् । घरको तलामा दुई वटा गलैँचाको तान छन् । उनलाई विहानदेखि बेलुका सम्म नै त्यहि तानमा गलैँचा बुन्न भ्याईनभ्याई छ । नजिकैकि छिमेकि डोङ्मा शेर्पाको दिन पनि गलैँचाको तान मै वित्छ । उनिहरु मात्रै नभई ओलाङचुङगोलाका अधिकांस महिलाहरु गलैँचा बुन्नमै व्यस्त देखिन्छन् ।घर भित्रदेखि घर बाहिरको काममा प्राय पुरुष खटिन्छन् भने महिलाहरु गलैँचा बुन्न खटिएका हुन्छन् । वर्षौदेखि पशुपालन र जडिबुटि संकलनलाई प्रमुख व्यवसायको अँगालेर फुर्सदमा गलैँचा बुन्ने गरेका गोलबासीले अहिले अन्य कामलाई छाडेर गलैँचा बुन्ने व्यवसायलाई नै प्रमुख बनाएकाछन् । पछिल्लो समयमा पशुपालन र जडिबुटि व्यापारमा कमै चासो दिन थालेका उनिहरुले गलैँचालाई नै प्रमुख आमदानीको श्रोत बनाएकाहुन् ।
यहाँ बुनिएका गलैँचाको प्रमुख बजार भनेको छिमेकी देश चीनको तिब्बत हो । तिब्बत बाहेक काठमाण्डौ, सिक्किम, दार्जेलिङमा समेत पुग्ने गरेको छ । एउटा गलैँचा बुन्न कम्तिमा ८ दिन सम्म लाग्छ । यहाँ बुनिएका गलँैचाको मूल्य न्युनतम १२ हजार रुपैँयादेखि २५ हजार रुपैँया सम्म पर्छ । तिब्बत नै गलैँचको प्रमुख बजार भए पनि पहिलेको तुलनामा तिब्बत तर्फ निर्यात गर्न अहिले निकै झन्जटिलो समेत हुने गरेको व्यवसायी बताउँछन् । पछिल्लो समयमा जनशक्तिको अभावले पशुपालन व्यवसाय घट्दै गएकाले गलैँचाकै भरमा गुजारा चलाउँदै आएको स्थानीयको भनाई छ । ‘पहिले जस्तो पशुपालन, जडिबुटि संकलनका लागि प्रयाप्त जनशक्ति पनि छैन, गलैँचा बुन्नकै लागि पनि प्रयाप्त जनशक्ति छैन, तर पनि घरैमा बसेर अलि अलि बुनेका गलैँचाले गुजारा चलाउनु परेको छ’–भुजुक शेर्पाले भने । यहाँका युवा युवती कोहि बिदेश तिर त कोहि अध्ययनका लागि अन्यत्रै गएकाले पनि पहिलेको तुलनामा पशुपालन र गलैँचा बुन्ने व्यवसायका लागि प्रयाप्त जनशक्ति नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *