भक्तपुर,१४ साउन
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामुग (घण्टाकर्ण) पर्व आज मंगलबार मनाइँदैछ । घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले भने गठा मुग पर्वका रुपमा मनाउने गर्दछन् ।परापूर्व कालमा दोबाटो चौवाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात पैसा उठाई दुःख दिने घण्टाकर्ण गठा मुग नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ ।मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याइन्छ । अश्लील शब्द प्रयोग गरी गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ ।