सुजना कार्की
भक्तपुर, २ साउन

कुनै समय भक्तपुरमा माटाको भाँडा बनाउने भ्याइनभ्याइ हुने ठाउँमा अहिले पेशानै लोप हुन थालेको छ । माटोका भाँडा बनाउँदै आएका भक्तपुरका प्रजापतिहरुको पेशा अहिले संकटमा परेको छ । माटोको भाँडाहरुको मागमा कमी भएको छ ।
आधुनिकतासँगै प्लास्तिकका नयाँ नयाँ सामानहरु आएपछि माटोका भाँडाको मागमा कमी आएर माटोका भाँडाहरु बनाउन कम भएको बताउँछन् स्थानीय विष्णुप्रसाद प्रजापति । माटोको भाउ बढ्नुका साथै परिश्रम धेरै गर्न परेको र कमाइ थोरै भएकाले यस्तो समस्या आएको हो ।
कुनै समय पाला र घैंटोको माग यति धेरै हुन्थ्योे कि हामीलाई बनाउन नै भ्याइनभ्याइ हुन्थ्यो । विष्णुप्रसादले भने, तर हिजो आज त्यस्तो भ्याइनभ्याई हुँदैन पाला माटोको गमला, खुत्रुके हाँडी जस्ता सामानको मात्रै अहिले माग छ । पहिले पहिले पानी राख्ने भाँडा माटोको नै हुन्थे तर अहिले त्यस्ता सामान हराउँदै गएका छन् । पानी राख्ने आधुनिक सामान आएकाले माटोको विक्रीमा कम भएको बताए ।
भक्तपुर तोलाकोमा करिब सय घर परिवारले माटाको भाँडा निर्माणको काम गर्दै आए थिए । माटाको भाउ बढ्नुको साथै नयाँ युवा पुस्ताले यस काम प्रतिको रुचि नदेखाए पछि अहिले यो पेशा गर्नेहरु घटेका छन् । अहिले २०–२५ घरका मानिसले मात्र यो काम गर्दै आएका छन् ।
छोराछोरी कलेज जान्छन्, उनीहरुको काम गर्ने कमउ नै छैन भक्तपुरका शोभा लक्ष्मी प्रजापति भन्छिन् आफ्नै काम गर्दैमा फुसर्द हुँदैन । सिक्नै चाहँदैन पढे लेखेकाको रुचि यस पेशामा छैन उनले भनिन् ।
आम्दानी राम्रै भए पनि निकै परिश्रम लगाउनुपर्ने भएकाले यसप्रतिको चासो कम बन्दै गएको स्थानीय बताउँछन् । नयाँ पुस्ताको यस प्रति कुनै चासो नरहेको जसले गर्दा यो पेशा केही वर्षमा लोप हुन सक्ने पनि स्थानीय बताउँछन् ।