Thursday, April 25, 2024

एमसीसी र हिन्द–प्रशान्त सैन्य गठबन्धनको विरोध नेमकिपा स्थापना दिवसको मुख्य एजेन्डा

अन्तर्वार्ता राजनीति विचार विशेष समाचार समाचार सम्पादकीय

भक्तपुर, १० माघ

आज माघ १० गते, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस । नेमकिपा स्थापना दिवसको सन्दर्भमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग समसामयिक विषयमा गरेको कुराकानी प्रस्तुत छः
अध्यक्षज्यू, नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना । पार्टी स्थापना दिवसको अवसरमा पार्टी कार्यकर्ता, समर्थक र नेपाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?
नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण पार्टी कार्यकर्ता, समर्थक र सहानुभूति राख्ने सम्पूर्ण नेपाली जनतालाई देश एवम् जनताको निःस्वार्थरूपले सेवा गर्न आह्वान गर्दछु ।
केही समयअघि काठमाडौबाट प्रकाशित अङ्ग्रेजी दैनिक द काठमाडौं पोस्टमा प्रजग कोरियाको जुछे विचारधारामै आधारित भएर नेमकिपाले आफ्नो प्रभाव क्षेत्रमा विकास निर्माणका गतिविधि गरिरहेको उल्लेख छ । यसअघि पनि नेमकिपालाई केही सञ्चारमाध्यमले प्रजग कोरिया र जुछे विचारधारासँग जोडेर चर्चा गरेको पाउँछौँ । खासमा नेमकिपा र प्रजग कोरिया अनि जुछे विचारधाराबीच के सम्बन्ध छ ?
प्रजग कोरिया एक एसियाली देश हो । ७० वर्षदेखि नै कोरियाली जनता संरा अमेरिकाको आक्रमण र नाकाबन्दीबाट आक्रान्त छ । कोरियामाथि सन् १९५० देखि १९५३ सम्म अमेरिकी साम्राज्यादले आक्रमण गरेको थियो । सन् १९५३ मा प्रजग कोरिया र संरा अमेरिकाबीच युद्धविराम भएको थियो । युद्धविरामको अर्थ शान्ति सम्झौता होइन, युद्धविरामको अर्थ कुनै पनि बेला आक्रमण र युद्ध हुनसक्छ भन्ने हो ।
प्रजग कोरियाली जनतालाई अमेरिकी साम्राज्यवादले ७० वर्षदेखि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । दुई–चार महिनाको भारतको नाकाबन्दी भोगेको नेपाली जनतालाई ७० वर्षदेखिको नाकाबन्दीले कोरियाली जनतालाई कति दुःख–कष्ट भयो होला र देशको विकासमा कति बाधा पुग्यो होला ? हामी कल्पनामात्र गर्न सकौँला ।
प्रजग कोरिया शान्ति–सम्झौताको पक्षमा छ । संरा अमेरिका मौका पाउनासाथ कोरियामाथि हमला गर्न निहुँ खोज्ने मौका खोज्दै छ । तर, प्रजग कोरियाका सारा जनता सम्भावित आक्रमणबाट आफ्नो देशको रक्षा गर्न र आक्रमणको उचित जवाफ दिन रात–दिन तम्तयार अवस्थामा छन् ।
यसले नेपालजस्तो क्षेत्रफल र जनसङ्ख्याले सानो देश र जनतालाई आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न उत्साहित गर्छ, आफ्नो देशको गर्व गर्ने उदाहरण दिन्छ । आफूभन्दा बलियो शक्तिसँग लड्न हरेक क्षेत्रमा आत्मनिर्भरता महत्वपूर्ण विषय हो र प्रजग कोरियाको अनुभव सबै विकासशील देशहरूको निम्ति उदाहरण नै हो ।
दोस्रो विश्व युद्धको लगत्तै भएको कोरिया युद्ध (सन १९५०–५३) मा समयमै मित्र देशहरूबाट हतियार पुर्‍याउन नसक्दा कोरियामा अमेरिकाको आक्रमण बढ्यो र कोरिया प्रायःद्वीप दुई भागमा विभाजित भयो । हात–हतियारमा आफ्नै देश आत्मनिर्भर भएको भए त्यसैबेला अमेरिकी आक्रमणबाट कोरियाली प्रायःद्वीप पूर्णरूपले मुक्त हुने थियो । यसकारण विकासशील र पीडित देशहरूले आफ्नो देशको रक्षाको निम्ति महँगो हतियार किन्नुभन्दा आफ्नै देशमा तयार गर्नु लाभदायक हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ ।
त्यसबाहेक आत्मनिर्भर उद्योग, कृषि, यातायात, अगाडि बढेको शिक्षा–संस्कृति, विज्ञान र प्रविधिले हरेक गरिब देशलाई बलियो बनाउने सन्देश प्रजग कोरियाले दिँदै आएको छ । आत्मनिर्भरता, आफ्नै खुट्टामा उभिने र जनताकेन्द्रित नीतिजस्ता ‘जुछे’ विचार बाट प्रेरित प्रजग कोरिया र त्यहाँका जनताको उत्साहबाट हामी नेपाली जनता पनि परिचित छौँ ।
नेपाल मजदुर किसान पार्टीको एसिया र अन्य महादेशका राजनीतिक दल, कम्युनिस्ट एवं साम्राज्यवादविरोधी संस्थाहरूसँग भाइचारा सम्बन्ध र ऐक्यबद्धता भएजस्तै प्रजग कोरियाको मजदुर पार्टीसँग पनि सम्बन्ध छ ।
नेमकिपाको केन्द्रीय कार्यालयमा राखिएका विभिन्न कम्युनिस्ट नेताहरूको तस्वीरबारे पनि त्यसमा चर्चा गरियो । माक्र्सदेखि किम इल सङ र किम जङ इलसम्मका सजाइएका तस्वीर पनि छापिए । पार्टी कार्यालयमा ती तस्वीरहरू राखिनुको कारण के हो ?
विभिन्न देशका प्रतिनिधिहरूले सम्झनाको रूपमा आ–आफ्ना नेताहरूको तस्वीर र चित्रहरू उपहार दिन्छन् र हाम्रो पार्टीले पनि हाम्रो प्रकाशन र तस्वीरहरू उपहार प्रदान गर्छौँ । पार्टी केन्द्रीय कार्यालयमा तिनै तस्वीरहरू राखिएका हुन् ।
सरकारले प्रजग कोरियालाई नेपालमा गरेका सबै लगानी फिर्ता लान औपचारिकरूपमा आग्रह गरिसकेको छ । कम्युनिस्ट पार्टीको सरकारले अर्काे कम्युनिस्ट पार्टीले नेतृत्व गरेको देशको लगानी किन फिर्ता गरेको होला ?
संरा अमेरिकाले संरा सङ्घ र त्यसका कति समितिहरूमा प्रभाव पार्ने गरेको जगजाहेर छ । एक सार्वभौम देशले अरूले जे–जे भन्छ त्यो मान्नु हुँदैन । कर्णेल गद्दाफीले संरा सङ्घ एकै ठाउँमा राख्नुहुन्न, अन्य महादेशमा सार्नुपर्‍यो भन्ने प्रस्ताव राखेका थिए । संरा अमेरिकाले लिवियामा हमला गर्‍यो र गद्दाफीको हत्या गर्‍यो ।
सार्वभौम देशहरूले संरा अमेरिकाको आदेश–उपदेश मान्ने काम भइरहे नेपालजस्तो सार्वभौम देशहरूको हुर्मत लुटिने छ । हाम्रो सरकारले प्रजग कोरियाको लगानीलाई फर्काउने निर्णय हतारोमा र विदेशको दबाबमा गरेको निर्णय हो, जो एक एसियाली देशको निम्ति उपयुक्त छैन ।
नेमकिपाले जुछे विचारधाराबाट नेपालले सिक्नुपर्ने कुरा गरिरहेको छ । जुछे विचारधारामा के उपयोगी कुरा छन् ?
जुछे विचाराधारा कोरियाली मजदुर पार्टी र प्रजग कोरियाको आफ्नो नीति हो । हाम्रो अध्ययनअनुसार आत्मनिर्भरता र आफ्नै खुट्टामा उभिने नीतिले हाम्रो देशको सुस्त अर्थतन्त्रलाई सक्रिय बनाउन सहयोग पुग्छ । यो हाम्रो पुरानै दृष्टिकोण हो ।
नेमकिपालाई केही आलोचकहरूले क्रमशः खुम्चिंदै गएको देखिरहेका छन् । के नेमकिपा खुम्चिंदै गएको हो ? मानिसहरू चुनावी परिणााम देखाएर आफ्ना भनाइ पुष्टि गर्न खोज्छन् त ?
कुनै राजनीतिक दलको सकारात्मक पक्ष निर्वाचनमा प्राप्त मत सङ्ख्याले मूल्याङ्कन गर्ने होइन । राजनीतिक दलहरूले देश र जनताको हितमा वर्षभरि गरेका गतिविधि र प्रदर्शनहरूले दलको सकारात्मकताको मूल्याङ्कन गर्छन् । कुन–कुन प्रदेश र जिल्लामा कति वटा प्रदर्शनहरू भए, कति जनसभा भए र त्यसमा सहभागी जनता के–कति थिए, अन्तरक्रिया र गोष्ठीहरूका विषय र प्रभावकारिता आदिको मूल्याङ्कन गरिन्छ । निर्वाचनको मूल्याङ्कन गर्दा अन्य दलहरूले के–कति आचारसंहिता उल्लङ्घन गरे, के–के निर्वाचन नियमावलीविपरीत गतिविधि गरे मूल्याङ्कन गरिन्छ ।
राजनैतिक दल सङ्ख्या वा हुल जम्मा गर्ने संस्था नभई राजनीतिक दर्शनको आधारमा नयाँ आदर्श समाज निर्माण गर्ने उद्देश्यबाट स्थापित हुने प्राज्ञिक दबु वा ‘चिन्तनको चौतारी’ हो ।
हरेक राजनीतिक दल एक न एक वर्गको हितमा, एक न एक राजनीतिक दर्शन र सिद्धान्तको आधारमा स्थापना गरिएको हुन्छ । जात, भाषा, धर्म, क्षेत्रीय साम्प्रदायिकताको आधारमा राजनैतिक दलहरूलाई मान्यता दिनु घातक हुने मान्यतालाई अगाडि बढाउनु उत्तम हुन्छ भन्ने नेमकिपाको धारणा हो । त्यसको निम्ति दलहरूले आ–आफ्नो दैनिक, साप्ताहिक र सामयिक पत्र–पत्रिकाहरू प्रकाशित गरेका हुन्छन् र राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आधारित पुस्तक प्रकाशन र वक्तव्यहरूको समेत व्यापकता राख्नु आवश्यक हुन्छ ।
यी माथिका सबै विषयहरूको मूल्याङ्कनले मात्र कुनै दलको विकास वा साङ्गुरिएको थाहा हुनेछ ।
शासक दलका एक जना कार्यकर्ताले ‘नेमकिपाले चलाएको भक्तपुर नगर अलगै राज्य भएको’, अर्को एक जना प्रतिनिधिले ‘लामो समयदेखि नेमकिपाको कठोर शासन भोगेको’ भनी प्रतिक्रिया दिएको ‘द काठमाडौ पोस्ट’को सो आलेखमा उल्लेख छ । के वास्तविकता यही हो ? के नेमकिपा अरूसँग मिलेर बस्नै नसकेको हो ? के विपक्ष र भिन्न विचारमाथि नेमकिपाले ‘कठोर दमन’ गरेको हो ?
नेमकिपाबारे हलुका टिप्पणी गर्नेहरूले सम्भवतः प्राचीनकालको नगर राज्यको आँखाले हेरेका होलान् । राजनीतिशास्त्रमा रोम र एथेन्सका नगर राज्यहरूको सम्झना गरेका होलान् । भक्तपुर त हाम्रो देशको सबभन्दा सानो तर जनसङ्ख्याको हिसाबले सघन नगर हो ।
भक्तपुरमा पृथ्वीनारायण शाहको हमलापछि १८ पटक विद्रोह भएको बताइन्छ र त्यसबेलाको कठोर शासन भोगेका व्यक्तिहरूको कथनलाई दोहो¥याइएको हुनुपर्छ । वास्तवमा नगरपालिका सरकारले बनाएको ऐन–कानुनभित्र चल्ने विकेन्द्रीकरण र स्वायत्तमा चल्ने संस्था हो  ।
विचारको दमन पञ्चायतकालमा भएको थियो । ती टिप्पणी गर्नेहरूबाट पुरानै व्यवस्थाको ‘स्वर्ग’ सम्झेर यस्तो प्रतिक्रिया आएको अनुमान गर्न कठिन छैन ।
एक जना राजनीतिक टिप्पणीकारले नेमकिपाको जग किसान सङ्गठन र भक्तपुरको गुठी भएको र व्यक्तिगत मामिलाजस्तै विवाह, सम्बन्धविच्छेद आदिमा पनि पार्टीले हस्तक्षेप गर्ने गरेको बताए । साथै पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको पनि बताए । के यो टिप्पणीमा सत्यता छ ?
परिवारको आन्तरिक मामलामा समाजको प्रचलन, ऐन–कानुन र मन मिलेमा हुने बन्दोबस्त हो । यस्तो नातागोता र परिवार स्थानीय समितिमा मात्रै सीमित हुन्छ । माथिसम्म आएको मुद्दाबारे हामी अवगत छैनौँ ।
पार्टीमा मत जाहेर गर्ने, मतदानमा भाग लिने, उम्मेदवार हुने, आलोचना र आत्म–आलोचना गर्ने जनवादी केन्द्रीयताको बन्दोबस्त छ ।
नेमकिपाले पुरानो विचारधारा नै अँगालेको र नयाँ विचारधारा दिन नसकेकोले पार्टी सानो भएको भन्ने धारणाबारे तपार्इँ के भन्नुहुन्छ ?
त्यसो त पञ्चायत व्यवस्थामा सबै बहुदलवादीहरूलाई ‘पुरानो बेलायतको विचार’ भन्थे । साँचो अर्थमा वर्तमान राज्य बन्दोबस्त सन् १६४० मा बेलायती क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली राज्य क्रान्ति आदि पुँजीवादी क्रान्तिकै सिलसिला हो ।
३–४ सय वर्ष पुरानो व्यवस्थाभन्दा पेरिसको कम्युन (१८७०), रूसी बोल्शेविक क्रान्ति (१९१७) र चिनियाँ जनवादी क्रान्ति (१९४९) पुँजीवादी क्रान्तिभन्दा नौलो हो ।
भक्तपुर नगरपालिकाको निर्णय प्रक्रियामा पार्टीले हस्तक्षेप गर्ने कुरा के सत्य हो ?
सङ्घीय संसद्, प्रदेश संसद् वा स्थानीय निकायको निर्वाचनमा हरेक राजनीतिक दलहरूले घोषणापत्रमार्फत जनतासँग मत माग्ने गर्छन् । यसकारण ती घोषणापत्रहरू लागू गर्दा नेमकिपाको उपस्थिति स्वाभाविक हो ।
तर, पञ्चायतमा दल उपस्थित हुँदा पञ्चायती आँखाले वर्तमान स्थितिलाई हेर्दा अप्ठेरो अनुभव गर्नु अनौठो होइन ।
विभिन्न जिल्लाबाट काठमाडाँै उपत्यका र विशेषतः भक्तपुरमा बसाइँ सरेका जनताप्रति नेमकिपा असहिष्णु छ भन्ने आरोप छ । के भन्न्नुहुन्छ ?
काठमाडौँ उपत्यकामा अपराधको सङ्ख्या बढ्नुमा अव्यवस्थित सहरी विस्तार पनि जिम्मेवार छ । व्यवस्थित सहरी विकासको अर्थ असहिष्णुता होइन, अराजक निर्माणमाथिको कानुनी बन्देज हो ।
नेमकिपाको ४६ औँ स्थापना दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
विभिन्न जिल्लामा अन्तरक्रिया, जनसभा, जुलुस प्रदर्शन, गोष्ठी, मूल्याङ्कनसभा आदि प्रकारले नेमकिपाले आफ्नो ४६ औँ स्थापना दिवस देशभरि बडो उत्साहका साथ स्थानीय पार्टी, समर्थक र सहानुभूति राख्ने मजदुर–किसान, बुद्धिजीवी, व्यापारी र युवा–विद्यार्थी एवम् महिलाहरूले गर्दै छन् ।
यो वर्षको स्थापना दिवसको मूल एजेन्डा के हो ?
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र ‘हिन्द–प्रशान्त सैन्य गठबन्धन’ को विरोधलाई देशभर कक्षा सञ्चालन र विरोध कार्यक्रमलाई मूल विषय बनाउने छौँ । जसरी केही महिना अगाडि लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे देशका विभिन्न जिल्ला, नगर र प्रदेशमा कक्षा सञ्चालन, गोष्ठी र जनसभा भएको थियो ।
अन्त्यमा केही थप भन्नुपर्ने कुरा छ कि ?
संरा अमेरिकाका ‘एक परोपकारी राज्य’ हो भन्ने समझदारी राख्ने हाम्रा देशका राजनैतिक दलहरूले अमेरिकी साम्राज्यवादको उत्थान नै युद्धबाट भएको हुँदा उसको पतन पनि युद्धबाटै हुन्छ भन्ने ख्याल राख्नु उपयुक्त हुनेबारे सबैको ध्यान जानु आवश्यक छ । म सबै पार्टी सदस्य, समर्थक र पार्टीलाई सद्भावना राख्ने सबै जनतालाई यहीँ कुरा आह्वान गर्न चाहन्छु ।
साभारः मजदुुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *