बागीश्वरी माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

शिक्षा समाचार
भक्तपुर, २९ असार
भक्तपुर च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक शत्र २०७६/७७ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भयो ।
सो कार्यक्रममा उनले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुहुँदै विद्यालयको प्रतिष्ठा कायम हुने र समाजप्रति प्रतिबद्ध भएर अध्ययन गर्न मार्गनिर्देशन गरे । विद्यार्थीहरूले योग्यता र क्षमताको आधारमा आफ्नो लक्ष्य निर्धारण गरी आ–आफ्नो विषयमा विशेषज्ञता हासिल गर्न उहाँले जोड दिए ।
नगरपालिकाभित्र संचालित कलेजहरूमा अध्ययन अध्यापन र अनुसन्धानमा पनि जोड दिइरहेको बताउदै प्रमुख प्रजापतिले उच्च शिक्षा हासिल गर्न चाहने योग्य नगरबासी विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी सहुलियत ब्याजदरमा ऋण दिने व्यवस्था गरिसकेको बताए ।
उनले राम्रो शिक्षा हासिल गर्नेहरूको आत्मसम्मान बढ्ने बताउदै विद्यार्थीहरूले अध्ययन सँगसँगै बानी, व्यवहार र आचरणमा पनि सुधार गर्नुपर्ने आवश्यकता आंैल्याए ।
कार्यक्रममा बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पैसा भएर मात्र इज्जत र सम्मान प्राप्त नहुने बताउदै विद्यार्थीहरूले देशको विकासको लागि काम गरी समाज परिवर्तनमा उल्लेखनीय भूमिका खेल्नुपर्ने बताए ।
उनले विद्यार्थीहरूको उद्देश्य र लक्ष्यमा स्पष्ट हुनुपर्ने र आफ्नो शैक्षिक ज्ञान र योग्यतालाई प्रयोग गरी समाजलाई प्रगति गर्ने उद्देश्य राखी अगाडि बढ्न आह्वान गरे ।
बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूले आफ्नो रुचिअनुसार विषय छनोट गर्नुपर्ने र विद्यार्थीहरू नयाँ नयाँ प्रविधिसँग साक्षात्कार हुनुपर्ने बताए ।
कार्यक्रममा बागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्दा, उपप्राचार्य ज्ञानसागर प्रजापति, डा. बलराम दुवाल, शिक्षक विजयराम प्रजापति र भानुभक्त हुमागाइँलगायतले पनि आ–आफ्नो विचार प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *