हिलाम्मे सडकले यात्रुहरुलाई सास्ती

समाचार

सल्यान, २९ असार


बर्षायाम शुरु भएसँगै सल्यानका सडकहरु हिलाम्मे हुदाँ यात्रुहरुलाई सास्ती भएको छ । वर्षाका कारण राप्ती राजमार्ग अन्र्तगतको दाङ्ग—सल्यान—रुकुम सडकसँगै जिल्लामा सञ्चालित अन्य ग्रामिण सडकहरु पनि हिलाम्मे भएपछि यात्रुहरूलाई सास्ती भएको छ । गाडी हिलोमा फसेपछि यात्रुले गाडी धकेलेर निकाल्दै यात्रा गर्न बाध्य भएका छन् ।
यात्रुहरुले हिउँदमा धुलो र बर्षामा हिलोका कारण सास्ती पाउदैँ आएका छन् । राप्ती राजमार्गको लागी बर्षेनी बजेट विनियोजन गर्दै आएको भए पनि ठेकेदारको बेवास्ताका कारण गुणस्तरीय बन्न नसकेको यात्रुको गुनासो छ । हिलाम्मे सडकका कारण धेरै स्थानमा घन्टौं गाडी फस्ने गरेको स्थानीय देवबहादुर खत्रीले बताए । ‘फसेको गाडी डोरीले तान्दै, धकेल्दै यात्रा गर्न बाध्य छौं’— उनले भने । धेरै स्थानमा ओटासिल उप्किदा सडकमा ठूलाठूला खाडल परेकै कारण सधैं गाडी फस्ने गरेको उनको भनाई छ ।
अहिले हिलोका कारण यात्रुहरुले जिल्लाका बिभिन्न सडकहरुमा सञ्चालित गाडीलाई पटकपटक ठेल्दै, डोरीले तान्दै यात्रु गन्तव्यमा पुग्न बाध्य भएका हुन् । जसले गर्दा अहिले यात्रुलाई आवतजावतमा सास्ती भएको छ । बिग्रीएका सडकको मर्मत सम्भार तथा स्तरोन्नतिका लागि सम्बन्धित निकाय भने बेखर देखिन्छ । जिल्लाका ग्रामिण सडकहरु मध्ये अहिले अधिकांश सडकमा यातायात सेवा अबरुद्ध समेत भएको छ । अहिले जिल्लाका दर्जन बढी ग्रामिण सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
पहिरो खस्ने, खोलानाला, खाल्डाखुल्डी, हिलाम्मे हुनु लगाएत कारण यातायातका साधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ । अहिले श्रीनगर—दमाचौर, श्रीनगर—कालालेख, थारमारे—दार्मा, थारमारे—रागेचौर जस्ता ग्रामिण सडकहरुमा यातायातका साधन ठप्प रहेका छन् । हिलो, खहरे खोला र खाल्डाखुल्डीले सदरमुकाम खलंगादेखि बाहिरीने र भित्रिने ग्रामिण सडकहरुमा यातायातका साधन कम मात्रामा सञ्चालन भैरहेका छन् ।
हिउँदमा धूलोले सताउने र वर्षामा हिलोले सताउँदा यात्रा सहज नभएको यातायात व्यवसायी डम्बर सिंह तिरुवाले बताए । राप्ती राजमार्गको अधिकांस भागमा उत्रिएको ओटासिल तथा ग्रामिण सडकहरुको पहिरो हटाउने काम नहुदाँ काम समस्या भएको उनले बताए । यहाँका ग्रामिण सडकको ट्रयाक खोलिएको बर्षौ बित्दासमेत सडकको स्तरोन्नति हुन नसक्दा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *