भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको २ वर्ष

विशेष समाचार समाचार

भक्तपुर, ८ जेठ


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संविधानमा भएका कमी कमजोरी र त्रुटिहरुबारे सत्तापक्षकै सांसदहरुले विरोध गर्नु निन्दनीय विषय भएको बताउँदै शासक दलका नेताहरुमा राजनीतिक र सैद्धान्तिक विषयमा ध्यान नपुगेको स्पष्ट भएको बताए ।
भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको २ वर्ष कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा पनि उदाहरणीय कार्य गर्ने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाले महिला लक्षित योजनाहरु अगाडि बढाउनुपर्ने, नगरभित्र भारी सवारीसाधनमा रोक लगाउनुपर्ने, नगरभित्रका हिंसा नियन्त्रण गर्नुका साथै अन्धविश्वास विरुद्ध जनतालाई सचेत गर्दै लानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं. २ का कृष्णेश्वरी मल्ल प्रधानलाई २,४९,३३३।–, वडा नं. ६ का रत्नकेशरी कक्षपतिलाई ४,७०,९५१।–, वडा नं. ६ का कृष्णराम कुम्पाखलाई २,१३,६५३।–, वडा नं. ९ का विश्वराम प्रजापतिलाई ३,५७,६६८।– र वडा नं. १० का बिकास कोजूलाई १,५५,२५८।– रुपैंया काठ, ईटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।

राजनीतिक पार्टी र शासक वर्गहरुमा व्यापक दृष्टिकोणको कमी रहेको औंल्याउँदै अध्यक्ष बिजुक्छेँले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । सांसदहरु सिंहदबारका मन्त्रालय धाउने गलत प्रवृत्तिको आलोचना गर्दै उनले समाजलाई व्यवस्थित रुपमा अगाडि बढाउन ब्यापक जनताको चेतना स्तरमा वृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले गरेका महत्वपूर्ण कामहरुको चर्चा गर्दै विगतमा स्थानीय तहमा जनप्रतिनिधि नभएको समयमा दिइएको विकास रकम अब खारेज गर्नुपर्ने बताए। उनले विकासको नाममा विनियोजन हुने रकम संघ र प्रदेशले सीधै स्थानीय तहमा पठाउनुपर्ने माग राखे।
लामो समय सिंहदरबारमा बसेर शासन सञ्चालन गर्नेहरुले अधिकार छाड्न चाहेको आरोप लगाउँदै प्रमुख प्रजापतिले सिंहदरबार पुगेकाहरु एकात्मक शैलीमै शासन सञ्चालन गर्न खोजिरहेको बताए ।


भक्तपुर नपाको सन्तुलित विकास गर्न शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खेलकुदलगायतका विषयहरुलाई प्राथमिकता तोकेर जनताको पक्षमा काम गरिरहेको बताउँदै भक्तपुरको विकास निर्माण काम र सम्पदा निर्माणदेखि अन्य भौतिक संरचनाहरु निर्माण स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत नै गर्ने नीतिलाई निरन्तरता दिँदै जाने धारणा व्यक्त गरे।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले उपत्यकाका सबै नगरहरु १२ औं शताब्दीदेखि नै स्मार्ट सिटीको रुपमा रहेको बताउँदै भक्तपुरका गौरवशाली धरोहरलाई अध्ययन, अनुसन्धान र अन्वेषणको माधयमबाट परम्परागत शैलीलाई कायम राखी मौलिक प्रविधि स्थानीय निर्माण सामग्री र कालीगढबाटै जस्ताको तस्तै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने योजनाले अगाडि बढिरहेको जानकारी दिइन्।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरपालिकाको कार्यशैली अनियमिता शून्य रहेको बताउँदै नपाले समाजवादउन्मूख प्रणाली सुनियोजित रुपमा आत्मसात गरेको र शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकुदलाई उच्च प्राथमिकतामा राखी व्यापक जनताको हितमा आफ्ना नीति, कार्यक्रम तथा गतिविधिलाई अगाडि बढाइरहेको बताए । भक्तपुरलाई अपराधमुक्त नगर बनाउन अग्रसर रहेको उनी बताउँछन् ।


भक्तपुरका प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले नगरपालिकाको कार्यशैली अनुकरणीय भएको बताउँदै नगरभित्रका सडकहरुमा ढुंगा छपाई स्तरीय भएको र नगरभित्र हरियाली व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक भएको बताए ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले भक्तपुर नगर क्षेत्रको विकास कार्य प्रशंसनीय भएको बताउँदै सम्पदा संरक्षण र पर्यटन प्रबद्र्धनमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको बताए ।

नेमकिपाका सचिव प्रेम सुवालले नगरपालिकामा कार्यरत उत्कृष्ट १० जना कर्मचारीहरु क्रमशः रामसुन्दर सुजखु, जितबहादुर खाइजु, इन्दिरा शाक्य, शरद खत्री, राजन कासुला, बुद्धिनारायण सुवाल, जयप्रकाश गणेजु, ज्ञानेन्द्र सुवाल, गौरी गोठे र बिमला पोडेलाई नगद रु. १० हजार सहित कदर–पत्र वितरण गरेको थियो । त्यसैगरी नगरपालिकाका डकर्मी श्यामकृष्ण त्वायना, सिकर्मी जगतबीर शिल्पकार र लोहँकर्मी कान्छा रन्जितकारलाई पनि नगद पुरस्कार सहित प्रशंसा पत्र वितरण गरेको थियो । नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा योजना स्विकृत भई आ.व. २०७५÷७६मा उपभोक्ता समिति मार्पmत निर्माण कार्य सम्पन्न गरी पेश्की फछ्र्यौट गरेका उपभोक्ता समितिका अध्यक्षहरुलाई योगदानको कदर गर्दै धन्यवाद–पत्र प्रदान गरेको थियो ।


कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले नगरपालिकाभित्र उपभोक्ता समितिले अपनत्व कायम गरी उत्कृष्ट ढंगले काम गरिरहेको चर्चा गरे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबीन्द्र ज्याख्वले पनि आफ्नो भनाइ राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *