केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

अर्थ/वाणिज्य पर्यटन मनोरञ्जन विचार समाचार

गाईघाट, ९ माघ


उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ ।

त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव चौधरीले बताए । दुई महीनाभित्र सर्भे सम्पन्न गरेर आर्थिक वर्ष २०७६÷७७ बाट गाईघाट–बेलदोभान हुँदै पहाडी क्षेत्रको धार्मिक पर्यटकीय र तीर्थस्थल रौतासम्म केबलकार सञ्चालनको योजना शुरु हुने प्रमुख चौधरीले बताए ।

जिल्लाको सदरमुकाम गाईघाटदेखि करीब १९ किलोमिटर उत्तरी पहाडी क्षेत्रको दूरीमा रहेको रौतापोखरीसम्म केबलकार सञ्चालनका लागि झण्डै रु चार अर्ब लाग्ने रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए । रु तीन अर्ब लगानी गर्न विभिन्न केबलकार कम्पनीसँग छलफल र परामर्श भइसकेको र उनीहरु लगानी गर्न तयारी भएको पनि अध्यक्ष खड्काले बताए ।

बाँकी रु एक अर्बमध्ये रु ५० करोड त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाले तीन वर्षभित्र लगानी गरिसक्ने र बाँकी स्थानीय वासिन्दाबाट लगानी गरेर चार वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने कुरा त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताए ।

केबलकार सञ्चालनमा आएपछि जिल्लाकै सबैभन्दा महत्वपूर्ण धार्मिक र पर्यटकीयस्थलको रुपमा रहेको रौता क्षेत्रसम्म आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि हुँदा जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने प्रदेश नं १ का सांसद अम्बिका थापा र विमल कार्की बताउछन् ।

रौता पौखरी र रौता पञ्चकन्या देवीको मन्दिरमा अहिले दैनिक २०० सम्म भक्तजन पूजा गर्न जाने गरेका छन् भने अन्य प्राकृतिक दृश्यावालेकन गर्नेको सङ्ख्या पनि दैनिक सयौँको हाराहारी पुग्ने गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले बताए ।

समुद्री सतहबाट दुई हजार मिटरको उचाइको पहाडी क्षेत्रमा अवस्थित रौताबाट उत्तरतिर सगरमाथा हिमाल, ओखलढुङ्गा, सोलु क्षेत्र, खोटाङको दिक्तेल, हलेसी देख्न सकिन्छ । रौताबाट पूर्वतिर ट्याम्के डाँडा, अरुणबरुण, सङ्खुवासभा क्षेत्र र दक्षिणतिर सप्तरी, सिरहा, धनुषा, सप्तकोशी, इटहरी र विराटनगरसम्म अवलोकन गर्न सकिने हुनाले पनि जिल्लाकै महत्वपूर्ण पर्यटकीयस्थल रहेको छ ।

गाईघाट–बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालन भएपछि प्रदेश नं १ र प्रदेश नं २ लगायत अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा रौता क्षेत्रमा पर्यटक आगमन गर्न सहज हुने र जिल्लाको पर्यटन विकासमा मद्दत पुग्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *