सिन्धुली,२ जेठ
सिन्धुली सदरमुकाममा जुत्ता सिलाएर जीविको पार्जन गर्नेहरुको संख्या ठुलै छ । तर पछिल्लो यो व्यावसाय गर्नेहरुलाई जीवन निर्वाहमै समस्या पर्ने गरेको गुनासो छ । मानिसहरुमा बढ्ेको आर्थीक श्रोतका कारण जुत्ता सिलाएर लगाउनेहरुको संख्यामा कमी आए पछि जीविको पार्जनमा समस्या परेको उनीहरुले बताएका छन ।
सिन्धुलीको विभिन्न स्थानमा गरेर करिव २ दर्जन व्यक्तिहरु जुत्ता सिलाए परिवार पाल्ने गरेको व्यावसायीहरु बताउछन । महोत्तरीको औरहि ६ बैरियाका नागेन्द्र राम (३७) सिन्धुलीमाढीको वसपार्कको छेउँमा जुत्ता सिलाउने काम गर्छन । उनले आउने ग्राहकका जुत्तामा पोलिस लगाउँछन । तलुवा फेर्छन । उनले यसो गरेको निकै लामो समय भयो । उनलाई एकीन वर्ष त याद भएन तर राजाको सन्तान मारेको वर्ष (वि.सं.२०५८) भन्दा ४, ५ वर्ष पहिलेदेखि सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको सम्झन्छन । अलि अलि अक्षर चिनेका उनले परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता मर्मत गर्न थालेका हुन ।
पढाईबारे सोध्दा भन्छन, ‘खेतवारी छैन त कसरी पढ्नु ?’ ‘पेट पाल्नका लागि कमाउने धुनमा लागें, खाने कुरा ठूलो थ्यो’ उनले सम्झे । ३ सन्तानका बाबु उनले जुत्ता मर्मतबाट दैनिक ४ सय देखि १ हजार रुपैंयासम्म दैनिक कमाउँछन । त्यो कमाईले कोठा भाडा तिर्नु खानु लाउनु र छोराछोरी पढाउनु धौ धौ नै छ उनलाई ।
उनी जस्तै अर्का जुत्ता सिलाउने महोत्तरीको गौशालाका राजकुमार राम (३२) ले सिन्धुलीका हाटबजारहरुमा जुत्ता सिलाउन थालेको १४, १५ वर्ष भयो । नियमित रुपले सिन्धुलीमाढीमै बसेर दिनहुँ जुत्ता सिलाउन थालेको भने २ वर्ष भएको छ । जुत्ता सिलाएर कमाएको पैसाले ४ जनाको परिवार पालेका छन । २ जना छोराछोरीलाई सरकारी स्कुलमा पढाउँछन । दैनिक ४ सय देखि हजार, १२ सय कमाउने उनको कहिले काँहिं कमाई नै हुदैन । कमाएको पैसाले मनग्य खर्च गर्न पुग्दैन । भन्छन, ‘पुग्न त पुग्दैन, दुखम सुखम् चलिराछ ।’ परिवार महोत्तरीको घरमै छन उनका । १०, १५ दिनमा घरमा जान्छन, खर्च दिन्छन अनि फर्कन्छन काममा । सडकको छेउँमा व्यवसाय चलाउँछन उनी । शनिबार सिन्धुलीमाढीमा लाग्ने जनता हाटबजारमा पनि जुत्ता, छाता सिउँछन । नगरपालिकाले कहिले काँ जा भन्छ, कहिले काँ ? गाह्रो पनि छ उनीहरुलाई । शनिबार हाटमा भने ५० रुपैंया कर तिर्छन अरु दिन नगरपालिकालाई पैसा दिनु पर्दैन । जुत्ता सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइदैन । जनकपुर, काठमान्डौ या त भारतका बजारमा सामान लिन पुग्छन ।
राजकुमारसँग नयाँ जुत्ता बनाउने सिप पनि छ । तर पसल खोल्न पैसा नभएका कारण सडकमै जुत्ता सिलाई रहेका छन । भन्छन, ‘पसल खोल्न पैसा छैन । विना धितो बैंकले ऋण दिन्न । धितो राख्न जमिन छैन सिप भएर के गर्नु ?’ उनले सरकारले सिपको सम्मान नगरेको गुनासो गर्न पनि भ्याए ।
उनीहरुको जस्तै पेशा गर्दै आएका महोत्तरीको औरहि ६ बैरियाका विन्देश्वर राम (४२) ले बैदेशिक रोजगारीमा ५ वर्ष विताए । ४ वर्ष कतार र १ वर्ष मलेसिया बसेका उनले बाबुकै पुरानो पेशा अंगालेर निरन्तरता दिएका छन । दुखा राम (७०) सँगै, उनी, उनको छोरा सञ्जय राम (१७) र भतिजा विजय राम (२८) ले सिन्धुलीकै बसपार्क छेउँमा लामो समयदेखि जुत्ता सिलाउने काम गरिरहेका छन । तीन पुस्ता नै यहि पेशामा रहेका विन्देश्वर भन्छन, ‘मेरो छोरा (सञ्जय) लाई पढाउन धेरै कोशिस गरें, पढेन । कमाउन त पर्यो । नागरिकता बनाएर विदेश पठाईदिन्छु ।’ उनका छोराले कक्षा ५ मा पढ्दा पढ्दै छोडे । सम्पत्तिको नाममा बुवाको नाममा २ कठ्ठा जमिन छ । दुई भाई दाजु भाईले बुवाको त्यहि जमिनमा छुट्टाछुट्टै घर बनाएर मजदुरी गरि परिवार पालेका छन । ४ छोरी र २ छोराका बाबु उनले अरु सबै छोराछोरी पढाई रहेका छन । २ छोरीको विहे गरिदिए । बाँकी रहेका परिवारको खर्च बाबुछोराको कमाईले धानेको छ ।
विन्देश्वरले विदेशबाट आएर जुत्ता मर्मतको काम गरे । यो काम गरेको १०,१२ वर्ष भयो । कहिले कमाई ३ सय देखि ७, ८ सय हुन्छ, कहिले हुदै हुदैन । परिवार पाल्न जेनतेन कमाईले पुग्छ, खेतिपाती छैन ।