पर्वत,२ जेठ
बिश्वकै उत्कृष्ट पर्यटकीय पदमार्ग नजिकै रहेको पर्वतको भूकदेउराली गाउँलाई नमुना पर्यटकीय गाउँ बनाउने अभियानमा स्थानीयबासीहरु जुटेका छन् । चटक्क मिलेको र हिमालको काखमा रहेको गाउँमा पर्यटकहरुलाई स्वागत गर्न स्थानीयले विभिन्न पूर्वाधारहरु निर्माण गरेका छन् ।
पर्यटकीय गाउँ बनाउने अभियानमा प्रवासमा रहेका भूकबासीले ५० लाख भन्दा बढी सहयोग पठाएका छन् । पर्यटकहरुलाई स्वागतका लागि स्वागतद्धार, स्थानीय परिकार र आतिथ्यता सहितको होमस्टे, शहरका जस्ता सफा चिटिक्क भएका शौचालय बनाईएको छ । टोलटोलमा आमा समूहको सालैजो र रोईला भाकाको स्वागत यहाँ आउने पर्यटकहरुलाई दिने सुविधा हुन् ।
गाउँमा एकनासका ढुंगाले छाएका घर छन भने सबैघरै एउटै किसिमले रंगाइएको छ । गाउँभरि ढुंगाको छपनी बिछ्याएर बनाइएको सिंढी संगै रेलिङ राखिएको छ । गाउँमा फोहोर फाल्ने ड्रम राखिएका छन प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँमा जनजातीको बसोवास रहेको छ ।
धूले सडकमा ढलान गरिएको छ । गाउँभरका रातैभरि उज्यालो हुनेगरी सडकबत्ती बनेका छन । महिला समुहले साप्ताहिक रुपमा बाटोघाटो पनि सफा गर्छन । नमूना गाउँ अभियानका स्थानीय संयोजक चीजकाजी गुरुङका अनुसार गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिंढी बनाइएको छ । २ सय २० मिटर धूलेसडक ढलान गरिएको छ भने ४९ सडक बत्ती र ४ सार्वजनिक शौचालय बनाइएको छ ।
भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा ५० घरमा होमस्टे बनाईएको छ । ‘गाउँको मायाले हामीले प्रवासबाट सहयोग गरिरहेका छौँ,’ टेलिफोनमा गुरुङले भने,‘ आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने हाम्रो योजना छ ।’ उनले गाउँको चिनारीका लागि आफुहरुले व्याक्तिगत सहयोग उठाएर विकासका काम गरिरहेको बताए ।
बेलायती सेनामा भर्ती भएर उतै बस्दै आएका स्थानीय पञ्चकाजी गुरुङको नेतृत्वमा प्रबासीले सहयोग गर्दै आएका छन् । गाउँमा पुर्वाधार लागि ५७ लाख ८ हजार खर्च भएको छ । गाउँबाट अन्नपूर्ण साउथ हिमाल देखिन्छ । केही माथि एकडेढ घण्टा उकालो चढेपछि धौलागिरिदेखि मनास्लु सम्मको हिमश्रृंखला देख्न पाइन्छ । दृश्यावलोकन, सफा वातावरण, मिलेको बस्ती र गाउँवासीको आतिथ्यताले गाउँ पर्यटकीय केन्द्रसँगै थप नमूना हुने अपेक्षा रहेको वडाध्यक्ष गौवहादुर गुरुङले बताए । गुरुङले भने,‘ नमूना गाउँ बनाउन वडाले पनि सक्दो सहयोग गरेको छ ।’ गाउँमाथिको भमरकोट मन्दिर सूर्योदयका लागि उपयुक्त छ । पछिल्लो समय नयाँपुल, भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग छ । पदमार्ग जाने पर्यटक टेन्ट हालेर बस्ने व्यवस्था गरिएको छ ।