पूर्वाधार निर्माण र प्राविधिक शिक्षाको लागि महायज्ञ

समाचार

पाल्पा, १९ वैशाख


जनमार्ग माध्यमिक विद्यालय पूर्वखोलाले समय सापेक्ष प्राविधिक शिक्षा सञ्चालन र विद्यालयको भौतिक पूर्वाधार निर्माणसंगै शैक्षिक गुणस्तर वृद्धिको लागि महायज्ञ हुने भएको छ । विद्यालयले वैशाख २३ देखि ३१ गते सम्म महायज्ञ सञ्चालन गर्न लागेको हो ।
माध्यमिक तह सम्म अध्यापन हुने पूर्वखोला १ सिलुवाको एक मात्र विद्यालयमा आवश्यक अनुसार पूर्वाधार नहुँदा यस क्षेत्रका विद्यार्थीहरुले समस्या झेल्दै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरमान आलेले पूर्वाधार निर्माणसंगै समयको माग अनुसारको शिक्षा प्रदानका लागि स्रोत जुटाउन यज्ञ आयोजना गर्न लागेको बताए । विद्यालयका प्रधानाध्यापक श्यामबहादुर दिशाले आवश्यक पूर्वाधार नहुँदा समस्या भएको र जेनतेना व्यवस्थापन गर्दै आएको बताए । कक्षा १२ सम्म अध्यापन हुँदै आएको विद्यालयमा पर्याप्त कक्षा कोठा नहुँदा खालीचौर तथा विद्यालय बाहिर कोठा भाडामा लिएर कक्षा सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘विद्यालयको कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालयमा राखेर पढाउँदै आएका छौं । केहीलाई बाहिर कोठा लिएर पनि पढाउँदै आएका छौ । हिउँदको महिनामा कक्षा ११ र १२ को ऐच्छिक विषय चौरमा राखेर पनि पढाउनु पर्ने बाध्यता छ ।’ विद्यालयमा कक्षा ६ देखि माथि विद्यार्थीहरुको चाप बढी हुने गर्दछ । प्रधानाध्यापक दिशाले थपे, ‘कक्षा ६ देखि सेक्सन खोल्नु पर्ने अवस्था छ । तर कोठा अभावमा कक्षा ९ र १० लाई मात्र सेक्सन छुट्टाएर व्यवस्थापन गरेका छौं ।’विद्यालयमा भौतिक पूर्वाधार सुधारको लागि सरकारी तरवरबाट प्रयास नभएको भने होईन तर पर्याप्त नहुँदा समस्या देखिएको प्रधानाध्यापक दिशा स्वीकार्छन् । विद्यालयमा लागत सहभागितामा निर्मित ७ वटा, लाईब्रेरी, पुरानो भवन, पुरानो परियोजनाको भवन गरी १९ वटा कोठा रहेका छन् । हाल ४ कोठे भवन निर्माणको क्रममा रहेको छ । उक्त भवन सम्पन्न भएर पनि थप १० वटा कोठा आवश्यक रहेको विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *