ताप्लेजुङ १९ वैशाख
पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । अधिकांश युवाहरु वैदेशिक रोजगारीलाई त्यागेर गाउँघरमै घरेलु तथा साना उद्योग सञ्चालन गर्न थालेका छन् । झनै घरेलु तथा साना उद्योग विकास समितिले तालिम तथा प्रविधि वितरण गरेपछि अझ व्यावसायीक बनेका हुन् । यहाँका साना उद्योगी तथा कृषक निर्वाहमुखी व्यवसायलाई नाफामुखी र व्यावसायिक बनाउँदै उद्यमतिर लाग्न थालेका छन् ।
अल्लो बुनाई, हाते कागज निमार्ण, फलामका सामग्री निमार्ण लगायतका अन्य लघु तथा घरेलु उद्योग पनि दर्ता हुने क्रम बढ्दै गएको छ । स्वदेश मै केहि गर्छु भनेर लागेका युवाहरुलाई स्थानिय तह सँगको समन्वयमा घरेलु तथा साना उद्योग विकास समितिले क्षमता अभिवृद्धि तथा शिप विकास तालिम दिईरहेको छ । चालु आर्थिक वर्षमा मात्रै जिल्लाका ९ स्थानिय तह मध्ये ७ वटा स्थानिय तहमा उद्यमशिलता तथा सिपविकास तालिम सञ्चालन भैरहेको घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङका उद्योग अधिकृत सुनिल आर्चायले बताए ।
उद्योग अधिकृत आर्चायका अनुसार फुङलिङ नगरपालिकामा ४५ दिने फर्निचर बनाउने र ड्रेस डिजाईन तालिम सम्पन्न भैसकेको छ । आठराई त्रिवेणी गाउँपालिकामा २ महिने एड्भान्स सिलाई कटाई तालिम, फक्ताङलुङ र पाथिभरा याङ्वरक गाउँपालिकामा मौरीपालन तथा प्रसोधन सम्वन्धि ७ दिने तालिम प्रदान गरिएको छ । यसैगरि सोहि गाउँपालिकामा ढाका बुनाई तालिम पनि सञ्चालन गरिएको बताईएको छ । उता मैवाखोला गाउँपालिकाको फाकुम्वामा अल्लो प्रसोधन तथा एड्भान्स सिलाई कटाई र तिन महिने व्यूटिपार्लर तालिम सञ्चालन भएका छन् । सिदिंवामा हातेकागज निमार्ण र होटल व्यवस्थापन तालिम सकिएको छ । अन्य गाउँपालिकामा पनि स्थानिय तहसँगको समन्वयमा तालिम सञ्चालन हुने आर्चायले बताए ।
तालिम लिएका हरुले तालिम लिईसके पछि उद्योग दर्ता गरेरै काम गरिरहेका छन् । घरेलुको तथ्याङ्क अनुसार साउन यता मात्र १ सय १७ वटा दर्ता र १ सय १० वटा उद्योग नविकरण भएका छन् । शिप विकास तालिम सँगै उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत आधुनिक प्रविधि भित्राउन समेत सहयोग गरेपछि उत्पादन वृद्धि हुनुका साथै आर्थिक विकासमा पनि सहयोग पुगेको छ । व्यवसाय गर्नु अगाडि उत्पादनको बजारको अवस्था, समयको मागलाई मध्यनजर गर्दै आफ्नो लगानी नफस्ने गरी कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि ज्ञान फैलाउनको लागि समेत घरेलुले काम गरिरहेको बताईएको छ । स्थानीय सरकारले समेत अझै सहायता थपे युवाले खाडीमा पसिना वगाउनु पर्ने अवस्थाको अन्त्य हुने स्थानियको बुझाई छ ।