देश र जनताको सेवा गर्ने जीवनका उद्देश्य हुनुपर्ने

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, ४ पुस

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षिक उत्सवको अवसरमा बुधबार कलेजको प्राङ्गणमा शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले शिक्षा व्यक्तिगत र सामाजिक विषय भएको र समाजवाद हुँदै वर्गविहीन र राज्यविहीन साम्यवादी समाज स्थापनाको लागि अगाडि बढ्नुपर्ने बताएका छन् ।
उत्पादनका मुख्य मुख्य स्रोत र साधनहरू सामाजिकीकरण नभएसम्म वर्ग संघर्षबाट मुक्त हुन नसक्ने विचार राख्दै उनले जीवनको उद्देश्य देश र जनताको सेवा गर्ने हुनुपर्ने बताए ।
हाम्रो देशमा अहिले प्रादेशिक र केन्द्रीय शिक्षामा भिन्नता आउने सम्भावना रहेको बताउँदै शिक्षामा नवउदारवादविरुद्ध युवालाई सचेत पार्न आवश्यक रहेको बताए ।

‘देशको प्राकृतिक र मानवीय स्रोत विदेशमा जाँदैछ । देश झन् कमजोर हुने संकेत यसले देखाउँछ ।’– उनले भने ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले सरकारको नीति तथा कार्यक्रम समाजवादउन्मुख नभएको र समाजवाद देखाउने दाँत मात्र भएको बताए ।

अर्बौं लगानी गर्नेलाई कर छुट दिने र थोरै कमाउनेलाई बढी कर लगाउने सरकारको नीति खोटपूर्ण भएको बताउँदै सांसद सुवालले नेपालका अर्थतन्त्र पुरै भारतमा निर्भर हुनु, खाद्यान्न भारतबाट आयात हुनु र युवाहरू विदेश पलायन हुनुले देश परनिर्भरतातर्फ गइरहेको बताए ।

उनले चुनाव जित्न अर्बौं पैसा खर्च गर्ने, राजनीतिलाई पैसाले किन्ने शासक दलका नेता तथा कार्यकर्ताहरूकै कारण नेपालको राजनीति बिग्रिरहेको बताए ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शिक्षामा भक्तपुर नपाले अगुवाको भूमिका निर्वाह गरिरहेको र समाजमा परिवर्तन ल्याउन देश र जनतामा समर्पित भएर लाग्नुपर्ने बताए ।
नेपालको संविधानले मावि तहसम्मको शिक्षा निःशुल्क गर्ने भनिए पनि संविधानअनुरुप सरकारले बजेट व्यवस्था गर्न नसकेको बताउँदै प्रमुख प्रजापतिले संघ सरकारले आवश्यक बजेट विनियोजन गरेको खण्डमा भनपाले मावि तहसम्म निःशुल्क शिक्षाको बन्दोबस्त गर्ने बताए ।

प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले ख्वप कलेजको स्थापनाले देशकै विद्यार्थीहरूले सस्तो र गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउँदै शासक दलको पूर्वाग्राही सोचकै कारण ख्वप विश्वविद्यालय विधेयक अगाडि नबढेको बताए ।

अर्का प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले देशलाई आवश्यक जनशक्ति तयार गरी देशकै सेवा गरिरहेको बताइन् । उनले प्रदेश सरकार एनजीओ र आर्इएनजीओको सहयोग पाउनुलाई आफ्नो सफलता सम्झनुले वर्तमान सरकार जताततै असफल भइरहेको सावित भएको बताए ।

कार्यक्रममा त्रिवि शिक्षाशास्त्रका पूर्व डीन पृथुचरण वैद्य, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, ख्वप कलेजका प्राचार्य रुपक जोशीलगायतले आफ्नो विचार राखेका थिए ।

कलेजको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजयी खेलाडीहरू, कलेजमा अध्ययनरत विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई मायाको चिनो र पुरस्कार वितरण गरिएको थियो ।

साथै प्रदर्शनीमा ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशाश्त्र संकायमा दश जोड दुई तहदेखि स्नातकोतर तहसम्ममा अध्ययनरत विद्यार्थीले पनि स्टलहरु राखेर प्रदर्शन गरेका थिए ।
यसवर्ष रोवोर्टको स्टल आकर्षक देखिएको छ । ख्वप इन्जिनियरिङ कलेज लिवाली भक्तपुरको आयोजनामा भएको रोवोर्ट प्रतियोगितामा उत्कृष्ट रहेको स्टल विशेष आकर्षण रहेको थियो । ख्वप इन्जिनियरिङ कलेजको वार्षिकोत्सवमा अवसरमा भएको रोवोर्ट प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीलाई पछार्दै ख्वप उच्च माविका विद्यार्थीले बनाएको रोवोर्ट पहिलो भएको थियो । त्यही प्रथम रोवोर्ट प्रदर्शनीमा पुनः देखाइएको थियो ।प्रदर्शनीको झण्डै १० हजार दर्शकहरुले अवलोकन भ्रमण गर्ने विश्वास गरिएको छ । प्रदर्शनी अवलोकनका लागि काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न स्कुल कलेजहरुलाई पनि निमन्त्रणा पठाइएको आयोजक कलेजका प्राचार्य एवं वार्षिकोत्सव मुल उपसमितिका संयोजक जोशीले बताए ।
प्रदर्शनी बुधवार र बिहीवार दुई दिन मात्रै रहे पनि वार्षिकोत्सव भने तीन दिन रहने बताइएको छ । वार्षिकोत्सवको अन्तिम दिन ख्वपमा अध्ययनरत विद्यार्थीका लागि मात्रै सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । ख्वपमा देशभरिकै ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।
वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिताहरु पनि यसअघिबाट नै भइरहेका छन् । दौड, बास्केटबल, फुटबल, भलिवल, ब्याडमिन्टन, बक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला, चेस, टेवलटेनिस, कविता, शर्टपुटलगायतका प्रतियोगिताहरु भएका थिए ।
वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गर्नका लागि प्राचार्य जोशीको संयोजकत्वमा मुल उपसमितिका साथै विभिन्न शिक्षकहरुको संयोजकत्वमा प्रचारप्रसार, बुलेटिन प्रकाशन, दौड प्रतियोगित, बास्केटवल प्रतियोगिता, फुटवल, भलिवल, ब्याडमिन्टन, पुरस्कार व्यवस्थापन, जलपान तथा खाजा व्यवस्थापन, बक्तृत्वकला, हाजिरीजवाफ, चित्रकला, चेस, नाम दर्ता तथा रजिष्टेशन, टेवलटेनिस, कविता, सांस्कृतिक प्रतियोगिता, शर्टपुट, सचिवालय व्यवस्थापन, छपाई र मञ्च तथा टेण्ट व्यवस्थापन उपसमितिहरु पनि गठन गरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *