का. राेहितद्वारा भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाकाे उद्घाटन

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ असार

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बाह्रौं नगरसभाको बुधबार एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभा पूर्ण सफलताको कामना गर्दै भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीहरुलाई जानकार गराउन शिक्षकहरुले जोड दिनुपर्ने बताए ।
शासक दलको सत्ता मोहले गर्दा जनताले दुःख पाइरहेको उल्लेख गर्दै उनले मन्त्रीले ऐन लागू गर्ने भन्दा पनि नीतिगत काममा जोड दिनुपर्ने बताए ।

नेपालका युवाहरुलाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गर्दै उनले एसियामा तेस्रो विश्वयुद्ध हुने सम्भावना प्रबल रहेको बताए ।

विश्वविद्यालयको सञ्चालन नगर राज्यबाटै सुरु भएको बताउँदै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थीहरु लाभान्वित हुने बताए । भक्तपुर नपाले चित्रकला विषयको अध्यापनमा जोड दिनुपर्ने बताए ।

आध्यात्मिक विकास नभई भौतिक विकास सम्भव नहुने बताउँदै नेपालमा राजनीतिक संगठन र बन्दोबस्त सही नहुँदा राणाशासन पतन भएको उनले जिकिर गरे ।

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताउँदै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको बताए ।

भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्य स्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्ने बताउँदै उनले विकास निर्माणमा उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढंगले सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले चालु राख्नुपर्ने बताए ।
कुहिने र नकुहिने फोहर अलग अलग संकलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै घट्ने बताउँदै उनले अस्पताल र उद्योगबाट निस्कने फोहरको विशेष रुपमा संकलन गर्ने बन्दोबस्त नगरपालिकाले गर्नुपर्ने बताए ।

‘भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम छिटो सम्पन्न गर्नुपछ । न्युनत्तम दुई आना दुई पैसा (०–२–२–०) को नीति अनुसारको आयोजना भएकोले सोहीअनुसार कायम गर्नुपर्छ’, उनले भने । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरबासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरुको टोली समेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्दै ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालनमा जोड दिने बताए । नगरपालिकाद्वारा प्रवाह गरिने सेवा सुविधालाई सरल, छिटो बनाइने र अनलाइनबाट कर तिर्ने र नक्सापासको प्रक्रिया अगाडि बढाइने योजना रहेको उनले बताए ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम व्यवहारिक र जनताको जीवनसँग सम्बन्धित रहेको बताउँदै भक्तपुर नपा देशकै हितको निम्ति मार्गनिर्देश गर्ने स्थानीय तह भएको बताए । एसपीपीका कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको बताउँदै उनले भक्तपुर नपाले एसपीपीको पूर्ण खारेजीको माग गर्नुपर्ने बताए । उनले नयाँ पुस्तामा व्यक्तिवादी चिन्तन हावी भइसकेको बताउँदै सामूहिक चिन्तानसहितको सेवाको भावबाट नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताए ।

त्यस्तै प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले समाजवादी चिन्तनको सफल प्रयोग गरिरहेको बताउँदै भक्तपुर नपाले अपनाइरहेको जनसहभागितामा आधारित विकासको मोडलको देशव्यापी रुपम चर्चाको विषय बनिरहेको बताए । उनले सरकारले समाजवादी चिन्तनमा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन उद्योगहरु सञ्चालन गर्नुपर्ने बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले गौरवशाली इतिहास बोकेको भक्तपुर नपा आज देशकै उत्कृष्ट नगरको रुपमा परिचित भएको बताउँदै काठमाडौं उपत्यकाको सम्पदा जगेर्नामा भक्तपुर नपाले अग्रणी भूमिका खेल्ने बताए ।

भक्तपुर जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर नपाको नीति तथा कार्यक्रममा नगरको लाभ प्रवद्र्धन गर्न सकिने जनमुखी खालका विषयवस्तु समाविष्ट भएको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य आफैमा नमुनायोग्य भएको बताए ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल काठमाडौं उपत्यकाकै सुविधासम्पन्न अस्पतालको रुपमा अगाडि बढिरहेको बताउँदै भक्तपुर नपाले टोलटोलमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरी व्यापक जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । ख्वप विश्वविद्यालयले १५ लाखमा एमबीबीएसको पढाउने नीति सराहनीय भएको बताउँदै ख्वप विश्वविद्यालय विधेयक पारितगर्न निरन्तर पहल गरिरहन आवश्यक भएको बताए ।

नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *