भृकुटीमण्डप खुल्लाबजारमा यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’राख्ने मन्त्री थापाको घोषणा

विशेष समाचार समाचार

काठमाडौं, २ पुस


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आएपनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् ।
उनले भनिन्, ‘अझैपनि हामीसँग पितृसतात्मक सोच छ । महिलाले अझैपनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा पुगिसक्दा पनि हामी नेपालीहरुको सोचमा व्यवस्थाअनुसार परिवर्तन आएको छैन ।’
काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुला बजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।
जनतासँग सरोकार राख्ने कानुन निर्माणले तीव्रता पाउने उनको भनाइ छ । उनले जनतासँग सरोकार राख्ने केही कानुन निर्माण भइसकेको र अब बाँकी कानुन निर्माणको कामले तीव्रता पाउने बताइन् ।
मन्त्री थापाले संघीय संरचनाको स्थापित भैसकेपछि मौलिक हकसँग सम्बन्धित काम बनाइसकेको बताइन् । उनले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पनि सरकारले क्रमशः पुरा गर्दै लैजाने विश्वास दिलाइन् ।
संविधान र कानुनमा भएका बिषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाइन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् ।
त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुलाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
स्थापना दिवसका अवसरमा संघले बृहत् रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *