१६औं हस्तकला व्यापार मेला भोलिदेखि, १४औं हस्तकला प्रतियोगिता पनि हुने

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

काठमाडौं, २६ कात्तिक

नेपाली हस्तकलाका सामानहरूको अन्तरराष्ट्रिय जगतमा प्रचार प्रसार गर्नुका साथै नेपाली कला तथा संस्कृतिको प्रसारमा सघाउ पु¥याउने उद्देश्यसहित १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता बुधवारदेखि शुरू हुने भएको छ । मेला कात्तिक २८ देखि मङसिर २ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन गर्ने तयारी गरेको नेपाल हस्तकला महासङ्घले बताएको छ ।
‘हस्तकला समृद्धिका सम्भावनाहरु’ भन्ने मूल नाराका साथ महासङ्घले १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिता सञ्चालन गर्न लागेको महाङ्घका अध्यक्ष धर्मराज शाक्यले जानकारी गराएका छन् ।
५ दिनसम्म सञ्चालनमा रहने उक्त मेलामा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको १६औं हस्तकला व्यापार मेलाका संयोजक हेमरत्न शाक्यले बताएका छन् । ७ ओटै प्रदेशबाट उद्यमी व्यवसायीले आ–आफ्ना प्रदेशका हस्तकला सामग्रीलाई उच्च प्राथमिकता दिई प्रदर्शनी तथा विक्रीका लागि राख्ने आयोजकले जानकारी गराएको छ । संयोजक शाक्यका अनुसार, मेलामा ६ ओटा प्याभिलियनसहित १ सय ७० ओटा स्टलहरू रहने छन् । त्यस्तै, भारत, चीन, पाकिस्तान, श्रीलङ्का, भुटान, बङ्गलादेशलगायत अन्य देशहरूको २० ओटा स्टल मेलामा समावेश रहने संयोजक शाक्यको भनाइ छ ।
करीब २ लाख अवलोकनकर्ताको सहभागिता रहने उक्त मेलामा हस्तकलाका विभिन्न वस्तुहरूको डिजाइन प्रक्षेपण र अमूर्त सांस्कृतिक सम्पदाको अवधारणा यस वर्षको मेलाको प्रमुख आकर्षणको रूपमा रहने कार्यक्रममा स्पष्ट पारिएको छ । मेला अवधिमा जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनी, बी टु बी(बिजनेश टु बिजनेश) बैठकलगायत अन्य कार्यक्रम सञ्चालनमा आउने आयोजकको भनाइ छ ।
मेलालाई लक्षित गर्दै यसपटक चीनबाट केही सञ्चारकर्मी समेतको आगमन हुने आयोजकद्वारा जानकारी गराइएको छ । नेपाली हस्तकलाको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन तथा नेपालमा अन्य लगानीयोग्य क्षेत्रको पहिचान गरी त्यसलाई चीनमा प्रचार प्रसार गर्ने लक्ष्यसहित मेलामा चिनियाँ पत्रकारको सहभागिता रहने अध्यक्ष शाक्यले बताएका छन् । ्
हस्तकला क्षेत्रका कलाकारहरूको प्रतिभा पहिचान एवम् मूल्याङ्कन गर्ने तथा आफ्नो पेशा व्यवसायप्रति उत्प्रेरित तुल्याई नयाँ पिढीलाई हस्तकला क्षेत्रमा आकर्षित गर्दै सीप तथा प्रविधि हस्तान्तरण गर्ने उद्देश्यसहित मेलाको अवधिमै १४औं हस्तकला प्रतियोगिता सञ्चालन गरिने आयोजकले बताएको छ । जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी परम्परागत विधातर्फ मैनको मूर्ति र समसामयिक विधातर्फ ढाका बुनाई मुख्य आकर्षण हुने स्पष्ट पारिएको छ ।
प्रतियोगितामा दुवै विधातर्फ पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताअन्तर्गत प्रथम हुनेलाई नगद ५०, द्वितीयलाई ३० र तृतीयलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र दिने व्यवस्था रहेको आयोजकले जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *