फोरलेन सडकमा पाँच पुल निर्माणाधीन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

वीरेन्द्रनगर, ११ कात्तिक


कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन फोरलेन सडकमा पुल निर्माणको काम शुरु भएको छ । धुलियाबिट–बाङ्गेसिमल सडक खण्डअन्तर्गत पायल प्रविधिबाट पाँच ओटा पुल निर्माणको काम शुरु गरिएको हो ।
वीरेन्द्रनगरमा फोरलेन सडक निर्माणकै क्रममा छ । चालू आर्थिक बर्षबाट शुरु गरिएको पाँच खोलामा पक्की पुल निर्माणको लागि विभिन्न तीन वटा निर्माण व्यवसायी कम्पनीले जिम्मा पाएका छन् । डिभिजन सडक कार्यालय सुर्खेतले ठेक्का आव्ह्रान गरेर पुल निर्माणको लागि सपना, आशिष, श्याम एण्ड शंकरलाई दिएको छ । निर्माण व्यवसायीले रेडियो नेपाल नजिकै रहेको ढोडे खाली खोलामा पुलको पायलिङ्ग गरिरहेको छ ।
खोलाको माटो परीक्षणका आधारमा पायलिङ्ग प्रविधिबाट पुल निर्माणको काम शुरु गरिएको डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । सुर्खेतमा पायल प्रविधिबाट पहिलो पटक पुल निर्माणको शुरुवात गरिएको हो । ढोडेखाली खोलामा पायलिङ्ग गर्ने काम सम्पन्न भए लगत्तै नेवारे खोला र गाग्रेताल खोलामा शुरु हुने प्रमुख अधिकारीले बताए ।
८ किलोमिटर चारलाईन सडकमा पाँच ओटा पुल आवश्यक छन् । ढोडेखाली, नेवारे र गाग्रेताल खोलामा नयाँ पुल बनाउन लागिएको छ । इत्राम र खोर्के खोला पुल भने यसअघि नै निर्माण गरि सकिएको छ । यी पुल चारलाईन अनुकल नभएपछि पुलको दायाँ–बायाँ विस्तार गरिने बताइएको छ । गत बैशाखमा निर्माण सम्झौता भएको पुलको कार्यावधि २८ महिनाको छ ।
पाँच पुलको लागत ४७ करोड ५७ लाख ९६ हजार छ । यही रफ्तारमा काम भए निर्धारित समयमै सम्पन्न हुनेमा सडक कार्यालयले जनाएको छ । विभिन्न समयमा स्थानीय तहहरुले निर्माण सामग्रीमा ढुवानीमा समस्या उत्पन्न हुने गरेको गुनासो आशिष, श्याम एण्ड शंकर जेभीका इञ्चार्ज कमल केसीको छ । ‘समयमै निर्माण सामग्री पाएको भए ढोडेखाली खोलामा पायलिङ्ग गर्ने काम सम्पन्न भइसक्थ्यो’ इञ्चार्ज केसीले भने, ‘आफ्नो कम्पनीले तयारीमा राखेको बालुवा र गिट्टी ढुवानी गर्न नदिँदा निर्माणमा केही ढिलाई भएको छ ।’
निर्धारित समयमै काम सम्पन्न गर्न आफूहरु कटिबद्ध रहेको केसीले बताए । उनले विभिन्न समयमा आउने अड्चनहरु सम्वन्धित निकायले सहजीकरण गर्दिन आग्रह गरे । फोरलेन सडकमा बन्ने पाँच ओटै पुल पायलिङ्ग प्रविधिबाट निर्माण गर्न गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *