मोटरसाइकलमा अब प्रदेशको नम्बर प्लेट

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, ९ कात्तिक

दशैंअगाडि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ। मन्त्रिपरिषदले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो।

अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशको आधारमा नम्बर प्लेट दिइनेछ।

मन्त्रिपरिषदले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नु पर्नेछ। प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ।

अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ।

पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ। त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुनेछ।

त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ।

उदाहरणको लागि प्रदेश नम्बर ३ को क्रम संख्या ०१ भएको कुनै सवारी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने पहिलो समूहको (०००१ देखि ९९९९भित्रको) १२८६ दर्ता नम्बरको निजी मोटरसाइकलको नम्बर प्लेट यस्तो हुनेछ।

अगाडिको नम्बर प्लेट

प्रदेश ३–०१

००१ प १२८६

पछाडिको नम्बर प्लेट

प्रदेश ३–०१

००१ प

१२८६

यसअघि बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन डिजिटको संकेत अक्षर (लट नम्बर) दिन नियमावली संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकलरस्कुटरको दर्ता रोकिएको थियो।

सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार साना सवारी (मोटरसाइकल स्कुटर लगायत दुई पांग्रे)को नम्बर प्लेटमा बढीमा आठ ओटासम्मको अंक र अक्षर रहने व्यवस्था थियो। जसमा तल र माथि दुई लाइनमा राख्नुपर्ने व्यवस्था थियो।

नियमावलीअनुसार माथिल्लो लाइनको सुरूमा दर्ता गर्ने कार्यालयको अञ्चल संकेत अक्षर र त्यसपछि समूह जनाउन अंक लेखिनु पर्ने, त्यस्तो सवारी जनाउने अंक १ देखि ९९ सम्म हुने भनिएको छ। त्यस्तो अंकपछि सवारीको किसिम जनाउने संकेत अक्षर लेख्नु पर्ने कार्यविधिमा उल्लेख थियो।

तल्लो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्ने र यस्तो दर्ता नम्बर एउटा संकेत अक्षरमा बढीमा चार अंक (१ देखि ९९९९) सम्म हुनेछ। कुनै एक संकेत अक्षरमा सबैभन्दा ठूलो ९९९९ पुगेपछि क्रमश अर्को संकेत अक्षर दिई त्यसमा पनि १ देखि ९९९९ सम्म दिँदै जानु पर्ने व्यवस्था रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *