सुपथ मूल्य पसलमा चिनीको बिक्री रोक

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, १४ असोज

सरकारले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर १२ गतेबाट सञ्चालन गरेको सुपथ मूल्य पसलमा चिनी बिक्री वितरणमा रोक लगाइएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले आइतबारबाट सुपथ मूल्य पसलको चिनी बिक्री रोकिएको बताएका छन्।
मन्त्रीको निर्देशनमा सुपथ मूल्य पसलमा चिनी विक्रीमा रोक लगाइएको उनको भनाइ छ।

चिनी एसोसिएसन, खुद्रा व्यापारी, आयातकर्ता आ–आफैले चिनीको मूल्य राखेर विक्री वितरण गरेको अवस्था छ। भाटभटेनीले ५९ रुपैयाँमा र इसेवाले ६९ रुपैयाँ प्रतिकेजीमा चिनी दिएका छन्। बजारमा उपभोक्ताले ७५ देखि ८५ सम्म तिर्नु परेको छ।

‘पसलै पिच्छे चिनीको मूल्य फरक भइरहेकोले सुपथ मूल्य पसलमा कति रूपैयाँमा राख्ने भन्ने कुराको धेरै छलफल चल्यो’ उनले भने ‘टुङ्गो नलाग्दै पसल सञ्चालन गर्ने दिन आएकोले दुई दिनका लागि ७० रूपैयाँ चिनीको मूल्य निर्धारण गरिएको हो।’

उद्घाटनका बेला चिनीकै विक्री नगर्दा नकारात्मक सन्देश जाने भएकाले दुई दिनकै लागि ७० रुपैयाँ राखिएको उनको भनाइ छ। प्रधानमन्त्रीको निर्देशनकै कारण चिनीको बिक्री रोकिएको राजभण्डारीले जानकारी दिए।

‘निजी क्षेत्रलाई एकाधिकार जमाउन हस्तक्षेप गर्ने निकाय भनेको हाम्रो जस्तो निकाय हो, त्यसैले यसबारे हामीलाई छिट्टै निर्णय चाहिछ भनेका छौँ’ उनले भने।

उद्योगी तथा साल्ट ट्रेडिङ कर्पोरेसनको र मन्त्रालयबीच छलफल भई चाँडै नै नयाँ मूल्य तय गरिने बताइएको छ। केही मूल्य घट्न सक्ने भएमा घटाएर बेच्ने तयारी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *