तीजको दर खाँदा सयौं गाउँले बिरामी

समाचार

बनेपा, २३ भदौ  ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाउँका सयौं महिला–पुरुष बिरामी परेका छन् ।

दर खान गएकी गीता खनालले भनिन्–‘गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउनेक्रममा रहेको छ ।’

अर्का बिरामी पाँचखाल नगरपालिका–९, भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दर खानेक्रममा बिरामी परेको बताइन् ।

‘सबैजना नै मिलेर पकाएर खाएका हौं । खै के भयो रु खाएपछि सबैजसो बिरामी पर्न थाल्यौं’–उनले भनिन्–‘खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।’

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गाउँमा सहकारीले आयोजना गरेको तीजको भोज दर खाँदा गाउँभरिका मानिस बिरामी परेको र उपचारका लागि स्वाथ्य शिविर खडा गरी उपचार गराइरहेको बताए ।

खरेलले भने–‘झन्डै ३०० भन्दा बढी नै बिरामी भएको अवस्था छ । केहीको बनेपा र धुलिखेलमा उपचारका लागि पठाइसकेको र बाँकीको गाउँमा नै उपचारका लागि पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र र धुलिखेल अस्पतालको स्वास्थ्यकर्मीको टोलीले उपचार गराइरहेको छ ।’

जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीकाअनुसार घटनास्थललगायत पाँचखालमा भएको पोलिक्लिनिक, बनेपा र धुलिखेलका अस्पतालमा गरी २०० भन्दा बढीको उपचार भइरहेको छ ।

कोही आफ्नै ढंगले उपचार गरी घर फर्किसकेको र कोहीको गाउँमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामूहिक भोजमा भएका कारण एकैपटक धेरैजसो बिरामी परेकाले सबैजसो ठाउँमा उपचार भइरहेको हुँदा संख्या एकीन हुन नसकेको गिरीले बताए ।

उनकाअनुसार नजिकै रहेको इनार र कुवाको पानी प्रयोग गरेको भन्ने स्थानीय बासिन्दाले जानकारी दिएकाले ती ठाउँमा भएको पानी झिकेर फाल्ने तयारी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काकाअनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमडौंस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *