७० करोड ठगीमा कम्पनी रजिष्ट्रारका कर्मचारी पक्राउ

अर्थ/वाणिज्य विशेष समाचार समाचार
  • कीर्ते कागज बनाएर एउटाको कम्पनी अर्कोलाई नामसारी

खिलानाथ ढकाल

काठमाडौं,२१ भाद्र

कीर्ते कागजात खडा गरी ७० करोड ठगेको आरोपमा कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक रजिष्ट्रारसहित १३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सहायक रजिष्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशी पनि छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीमा संलग्नलाई विभिन्न मितिमा पक्राउ गरी मुद्दा चलाएको छ। ब्यूरो प्रवक्ता प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयकै आइटी शाखामा कार्यरत आशिष महर्जन र पुष्पकला राई पनि पक्राउ परेका छन्। रजिष्ट्रारकै कार्यालयका दुई जना फरार रहेको उनले बताए।

ठगीका मुख्य योजनाकारहरू चन्द्रागिरी नगरपालिका ८ का राजनप्रसाद लम्साल, चन्द्रागिरी–१४ का निरजकुमार मानन्धर, रामेछाप सुनापाती–१ का जितबहादुर मगर, पेप्सीकोला बस्ने पुष्ण्प्रसाद खरेल पक्राउ परेका छन्। ठगीमा संलग्न अन्य काभ्रे–५ का राजकुमार तामाङ, चन्द्रागिरी–१० का हिमाल महर्जन, चिरीबाबु महर्जन र बारा घर भएका अमृत थापामगर छन्।

ब्युरोका अनुसार मगरले सुरूमा शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक काठमाडौं–४ चुनदेवी बस्ने भारतीय नागरिक राम निरञ्जन जटियाको घरबाट सो कम्पनीको कागजात चोरी गरे। लम्साल र निरजकुमारको सहयोगमा कीर्ते कागज बनाए। ‘कागजात, सहीछाप र हस्ताक्षर कीर्ते गरी जटियाको सबै सेयर खरिद गरेको निवेदन कम्पनी रजिष्ट्रारमा दिए,’ भट्टराईले भने, ‘त्यसपछि कम्पनी मगरको नाममा नामसारी गराएर ७० करोड बराबरको सम्पत्ति ठगी गरेको देखियो।’

पक्राउ परेका व्यक्तिले काठमाडौं महानगरपालिका ४ बालुवाटारको कित्ता नं. ४४१, ५०५ र ५४० को तीन रोपनी जग्गासहितको घर, सतुंगल वडा नं. ९ को कित्ता नं. १२६ को १५ रोपनी जग्गा, शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को नाममा रहेको म्याग्दी र नुवाकोटको जग्गा बेचबिखन गर्न बैना गरेका थिए।

अनुसन्धानमा शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रा.लि.को सञ्चालक समिति बैठकको निर्णय भनी सेयरधनी जटियाले जितबहादुर मगरलाई कम्पनीको ७५ प्रतिशत शेयर बिक्री गरेको कीर्ते कागजात खडा गरेको पाइएको छ।

विशेष साधारणसभा बैठकबाट मगरले आफूलाई अध्यक्ष बनाएको, जटियालाई सञ्ञ्चालक भनी उल्लेख गरेको पत्ता लागेको छ। २०७५/०३/२६ गते जटियाको सञ्चालक पदबाट राजीनामा स्वीकृतिको निवेदन पेश गरेको देखाइएको छ।

कम्पनीको अर्को सञ्चालक समितिको बैठकले कम्पनीको २५ प्रतिशत बराबर हुन आउने ६२५० थान सेयर जटियाबाट जितबहादुर मगरले खरिद गरेको उल्लेख गरेको कागज बनाएको र कम्पनीको अर्को विशेष बैठकबाट जितबहादुर मगरको नाममा मात्र एक जनाको सञ्चालक समिति हुने भनी निर्णय गरेको देखिएको ब्युरोले उल्लेख गरेको छ।

कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०३/२९ र ३२ गतेको  निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि.को सेयर लगत जटियाको नामबाट मगरको नाममा नामसारी गरेको पाइएको छ।

काठमाडौं–४ बस्ने राजभाई श्रेष्ठलाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को शेयरधनी हुँ भनी मगर समेतले बालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रतिआना २१ लाख २५ हजारको दरले खरिदका लागि बैंकमार्फत एक करोड बैना लिएको भेटिएको छ।

चितवन जिल्ला भरतपुर नगरपालिका वडा नम्बर ४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी बस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा.लि. को सेयरधनी भन्दै चन्द्रागिरीको १५ रोपनी जग्गा बिक्रीका लागि दुई करोड बैना लिइएको छ।

पक्राउ परेकालाई विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा मुद्दा चलाइएको छ। अनुसन्धानपछि प्रहरीले प्रतिवेदन जिल्ला सरकारी कार्यालय काठमाडौंमा पेश गरेको छ।

स्रोतः सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *