ऐन कार्यान्वयनको माग

समाचार

 

भक्तपुर, ३ भदौ (रासस) ः प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सरकारले बहिरा व्यक्तिको हकहित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर बहिरा सङ्घको आज सम्पन्न ११औँ अधिवेशन तथा २२औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले आफूले बहिरा व्यक्तिको पक्षमा सरकारले बनाएको कानूनलाई कार्यान्वयन गराउन प्रतिनधिसभामा आवाज उठाइरहेको बताउनुभयो । सञ्चारबिहीन रहेका बहिरा व्यक्तिको हितका लागि सरकारले दोभासेको व्यवस्था गर्नुपर्ने र उनीहरुलाई रोजगारमूलक सीप विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले कानूनमा व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिको हक अधिकारलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले आमनागरिक र बहिरा व्यक्तिकाबीच प्रत्यक्ष संवादको माध्यम दोभासे भएकाले सरकारले बहिरा व्यक्तिको सङ्ख्याका आधारमा हरेक स्थानीय तहमा दोभासेको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले बहिरा व्यक्तिको राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिँदै सबै वर्ग र समुदायको अधिकार व्यवहारिक रुपमा स्थापित हुनुपर्ने आंैल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शखाका अध्यक्ष पुष्करराज बुढाथोकीले राज्यको मूलप्रवाहबाट टाढा रहेका उनीहरुलाई उचित अवसर प्रदान गर्नुपर्ने बताउनुभयो । भक्तपुर बहिरा सङ्घका अध्यक्ष सूर्यबहादुर बुढाथोकीले सरकारले बहिरा व्यक्तिको लागि वृत्तचित्र रिले सर्भिसको व्यवस्था गर्न माग गर्दै राज्यका तिनै तहमा बहिरा व्यक्तिको सम्मानजनक सहभागिता हुनुपर्ने बताउनुभयो ।

विभिन्न दश प्रकारका अपाङ्गतामध्ये बहिरा व्यक्ति सवेदनशील भएको भन्दै उहाँले हरेक स्थानीय तह र उद्योगमा कानूनमा व्यवस्था भएअनुसार अपाङ्ग व्यक्तिलाई रोजगारी प्रदान गर्न सबै तहसँग माग गर्नुभयो । सङ्घले बहिरा व्यक्ति तथा अन्य स्रोतबाट संकलन भएको रकमबाट भक्तपुर नगरपालिका– १० मा दुई आना दुई पैसा जग्गा खरीद गरेको र उक्त जग्गामा भवन निर्माणका लागि करीब रु पाँच लाख सङ्कलन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *