कोटेश्वर-भक्तपुर सडकमा व्यस्त समयमा भोलिदेखि टिपर चलाउन नपाइने

समाचार

कोटेश्वर-भक्तपुर सडक खण्डमा टिपर चलाउन समय तोकिएको छ। पछिल्लो समय टिपरका कारण दुर्घटना बढेपछि व्यस्त समयमा टिपर नचलाउन गृह मन्त्रालयले निर्देशन दिएको हो।

महानगरीय ट्राफिक कार्यालय प्रमुख वसन्त पन्तका अनुसार भक्तपुर-कोटेश्वर सडकमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म टिपर चलाउन पाइने छैन। भोलिदेखि यो नियम लागू हुनेछ।

‘दिउँसो १२ देखि ३ चलाउन पाइन्छ,’ महानगरीय प्रमुख वसन्त पन्तले सेतोपाटीसँग भने, ‘त्यस्तै राती ८ देखि बिहान ८ बजेसम्म चलाउन पाइन्छ। योसँगै टिपर दुर्घटना कम गर्न टाइम कार्ड पनि लागू गर्ने तयारी हुँदैछ। थप छलफल हुँदैछ।’

काठमाडौं चक्रपथभित्र पहिलेदेखि नै बिहान ५ बजेदेखि राती ८ बजेसम्म चलाउन नपाउने नियम छ। चक्रपथबाहिर भने जुनसुकै समय चलाउन पाइन्थ्यो।

टिपरका कारण काठमाडाै‌ं उपत्यकामा जेठ महिनायता मात्र ७ जनाको ज्यान गइसकेको छ। केही गम्भीर घाइते छन्।

हिजो मंगलबार मात्रै जडिबुटीमा टिपरकै ठक्करबाट सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो। उनी सवार मोटरसाइकलका चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *