नौं लघुवित्त संस्थाले पारित गरे लाभांश

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, १३ मंसिर

नौं लघुवित्त संस्थाले पारित गरे लाभांश

धितोपत्र दोस्रो बजारमा सूचिकृत लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ३६ कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव सार्वजनिक गर्ने लघुवित्त कम्पनीहरुमध्य पनि नौं कम्पनीहरुले भने वार्षिक साधारण सभाबाट पारित समेत गरिसकेका छन् ।

लाभांश पारित गर्ने कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, स्वरोजगार लघुवित्त, सिभिल लघुवित्त, आशा लघुवित्त, एनआइसी एशिया लघुवित्त, आरएसडीसी लघुवित्त र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् । लाभांश पारित गर्ने संस्थाहरुमध्ये सबैभन्दा बढी लाभांश आशा लघुवित्त वित्तीय र साधना लघुवित्त वित्तीय संस्था रहेका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको असोज २३ गते चितवन गार्डेन रिसोर्ट भरतपुरमा सम्पन्न भएको २० औं वार्षिक साधारणसभाले यस वर्ष २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत कर सहितको नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश पारित गरेको छ ।

त्यस्तै, साधना लघुवित्त वित्तीय संस्थाले यस वर्ष २५ प्रतिशत बोनस शेयर र १.३१५७८ प्रतिशत नगद गरी कुल २०.३१५७८ प्रतिशत लाभांश पारित गरेको छ । सो लाभांश कात्तिक १३ गते होटल गोर्खा बिसौनी गोर्खामा सम्पन्न भएको ५ औ वार्षिक साभारणसभाले पारित गरेको छ ।

गुराँस लघुवित्तको कात्तिक २२ गते सम्पन्न भएको ६ औं वार्षिक साधारणसभाले यस वर्ष  १६.९० प्रतिशत बोनस शेयर र ०.८८९ प्रतिशत नगद लाभांश पारित गरेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको साधारणसभा कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको सो साधारणसभाले यसवर्ष २५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।

सिभिल लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनस शेयर १ प्रतिशत करसहितको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिएको छ । उक्त प्रस्तावित लाभांश कात्तिक २८ गते बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा सम्पन्न भएको १० औं वार्षिक साधारणसभाले पारित गरेको छ ।

आशा लघुवित्तको साधारणसभा कात्तिक २७ गते ककनीमा सम्पन्न भएको सो साधारणसभाले यसवर्ष २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत करसहितको नगल लाभांस पारित गरेको छ । एनआइसी एशिया लघुवित्तले यसवर्ष चुक्ता पुँजीको ५.१४ प्रतिशत नगद लाभांश दिएको छ । उक्त प्रस्तावित लाभांश मंसिर ५ गते धरान व्याङकेट एण्ड म्यानेजमेन्ट प्रालि धरानमा सम्पन्न भएको ४ औं र्वािषक साधारणसभाले पारित गरेको छ ।

आरएसडीसी लघुवित्तले यसवर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश एसिएन होटल कालिकानगर बुटवलमा सम्पन्न भएको संस्थाको १० औं वार्षिक साधारणसभाले पारित गरेको छ ।

त्यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्षिक वर्ष ०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ७.३७ प्रतिशत करसहितको लाभांश दिएको छ । उक्त प्रस्तावित लाभांश मंसिर १० गते अग्रवाल भवन कमलपोखरीमा सम्पन्न भएको संस्थाको १० औं साधारणसभाले पारित गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *