दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला, डेल्टाभन्दा खतरनाक हुनसक्ने चेतावनी

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १० मंसिर

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट फेला परेको छ। यो भेरिएन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।

यसलाई अहिलेसम्मकै सबैभन्दा धेरै म्युटेसनवाला भेरिएन्ट भएको बताइएको छ। वैज्ञानिकहरुले यसलाई ‘डरलाग्दो म्युटेशन’ हुनसक्ने सबैभन्दा खराब भेरियन्ट भनेका छन्। यसका कारण विश्वभर फेरि संक्रमण बढ्ने चिन्ता गरिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले विभिन्न राज्य र त्यहाँका निकायमा गरेको पत्राचारमा भने यो भाइरस बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा फैलिएको उल्लेख छ।तर, यो भेरिएन्ट अहिले ‌‌औपचारिक रुपमा भने दक्षिण अफ्रिकामा मात्र भेटिएको बताइएको छ। यसका केही संक्रमित मात्र भेटिए पनि अझ ठूलो रुपमा फैलिसकेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।

यो भेरिएन्टमा खोपले काम गर्ने वा नगर्ने अध्ययन भइरहेको तर, सजग हुनुपर्ने वैज्ञानिकहरुको भनाइ छ। यसबारे सबै जानकारी फेला नपरीसकेको पनि बताइएको छ।

यो भेरिएन्टलाई अहिले बी १.१.५२९ नामकरण गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आजै (शुक्रबार) यसलाई औपचारिक नाम दिनसक्ने बीबीसीले जनाएको छ।  डब्लूएचओले यसलाई पनि अघिल्ला भाइरसजस्तै ग्रिक नाम दिन सक्छ। अघिल्ला भाइरसलाई डब्लूएचओले अल्फा, डेल्टा जस्ता नाम दिएको थियो।

दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रोस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलियो डी ओलिवेराले नयाँ म्युटेसनलाई ‘म्युटेसनको असामान्य समूह’ भनेका छन्। उनले यो अन्य भेरिएन्टभन्दा बिल्कुलै अलग रहेको समेत बताए। यो भेरिएन्टले आफूहरुलाई हैरान गरेको र आफूहरुको आसासमेत बदलिदिएको उनले बताए।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले यसमा कुल मिलाएर ५० म्युटेशन भएको र ३० भन्दा धेरै म्युटेसन अत्यधिक स्पाइक प्रोटिनमा भएको उनले बताए। यसले खोपमा रहेको प्रोटिनमाथि आक्रमण गर्ने हुँदा यसलाई खतरनाक मानिएको हो। विश्वमा आतंक फैलाएको डेल्टा भरिएन्टमा दुई म्युटेसन भएको थियो।

खोप कति प्रभावकारी?
सबै म्युटेसनको अर्थ यो होइन कि त्यो खराब नै हुन्छ। तर, त्यसमा के म्युटेसन हुन्छ हेरिनुपर्छ। चिन्ताको कुरा यो हो कि जुन भाइरस चीनको वुहानमा फेला पर्‍यो, त्योभन्दा यो मौलिक रुपमा अलग पाइएको छ। यसको अर्थ वुहानमा फेला परेको भाइरसलाई लक्षित गरेर निर्माण भएको खोपले यो भाइरसलाई अप्रभावी हुन सक्छ।

दक्षिण अफ्रिकामा युनिभर्सिटी अफ क्वाजुलु नटालमा प्राध्यापक रहेका रिचर्ड लेसल्सले यो भाइरस एक अर्कामा छिटो फैलिने क्षमता राख्ने बताए। यो नै चिन्ताको विषय भएको उनको भनाइ छ। यो भाइरस प्रतिरक्षा प्रणालीको हिस्साबाट पनि बच्ने देखिएको उनले बताए।

केही भेरिएन्ट यस्ता पनि देखिए जसले ठूलो डर देखायो, तर असर धेरै गरेन। वर्षको सुरुवातमा देखिएको बिटा भेरिएन्ट यस्तै थियो। तर, डेल्टा भेरिएन्ट विश्वभर फैलियो र यसले धेरै विनास गरायो।

भारत र बेलायतमा जारी गरियो निर्देशन 
यो भेरिएन्टलाई गम्भीरतापूर्वक लिँदै भारतको केन्द्रीय स्वाथ्य मन्त्रालयले बिहिबार निर्देशन जारी गरेर दक्षिण अफ्रिका, हङकङ र बोत्स्वानावाट आउने र जाने यात्रुहरुको कडा जाँच र परीक्षण गर्न भनेको छ।

स्वास्थ्य सचिव राजेश भूषणले राज्य र केन्द्र शासित प्रदेशहरुलाई पत्र लेखेर भनेका छन्, ‘भारतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी)ले सरकारको सूचित गराएको छ कि बोत्स्वाना, दक्षिण अफ्रिका र हङकङमा नयाँ कोभिड १९ भेरियन्ट बी १.१.५२९ को केही  संक्रमित फेला परेका छन्। यो भेरियन्टको म्युटेशन धेरै बताइएको छ । त्यसैले देशवाट यात्रा गर्नेहरु र ट्रान्जीशन फ्लाइट लिने सबै अन्तराष्ट्रिय यात्रीको एट रिस्क श्रेणीको हिस्सामा राखी कडा जाँच र परिक्षण गर्न अनिवार्य छ।’

त्यस्तै बेलायतले पनि नयाँ भेरिएन्टलाई लिएर यात्रा गर्नेहरुलाई चेतावनी दिएको छ। बेलायतले ६ अफ्रिकी देशबाट आउने उडानमाथि प्रतिबन्ध लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *