एमसीसी विरूद्ध नेमकिपाकाे आन्दाेलन जारी, काेहलपुरमा बुधबार सम्पन्न

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
कोहलर, १३ असोज


देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोधसभा गरेको छ ।
नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्यूरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाको उपनिवेश बनाउने धारणा राखे ।

नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्रविरुद्ध नेमकिपाले सडकदेखि संसद्सम्म सङ्घर्ष गरिरहेको भन्दै गाउँसहरबाट जनता आन्दोलनमा उत्रिनुपर्ने विचार राखे । उनले कुनै पनि बेला एससीसी सम्झौता संसद्बाट पारित गर्न शासक दलहरू लागिरहेको भन्दै जनताको खबरदारी तथा दबाब कायम राख्नुपर्ने बताए ।

ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुईसय वर्षसम्म उपनिवेश बनाएको उदाहरण राख्दै केन्द्रीय सदस्य गोसाईले अमेरिकी निगमले नेपाललाई उपपनिवेश बनाउन खोजेको भनाइ राखे । अमेरिकालाई अफगानिस्तानमाथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेकाको देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागेको बताए । एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा नभएको भन्दै गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्ने उनको तर्क थियो ।

कोणसभामा नेमकिपा बाँकेको दोस्रो जिल्ला सम्मेलन तयारी समितिको संयोजक बखत थापाले नेपाली जनताले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नु आवश्यक भएको बताए । उनले विदेशी दलाल तथा देशघातीहरूलाई नेपाली जनताले सडकमा ल्याएर कारबाही गर्ने धारणा राखे ।

कोणसभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा कोहलपुर नगर समिति अध्यक्ष अन्जीर शाही र नेमकिपा बाँके दोस्रो जिल्ला सम्मेलन तयारी समितिका सदस्य नविन शाहीले भ्रष्टाचार नियन्त्रण र ठूला पुँजीपतिहरूबाट बक्यौता कर असुली गरेमात्र पनि देशमा ठूला परियोजनामा लगानी गर्न सकिने तर्क राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *