न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ जेठ
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजनामा सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा बिहीबार एकदिने मोबाइल जर्नालिजम(मोजो) बिषयक अभिमुखीकरण कार्यक्रम होटेल सिटीगाउँ बाचामारीमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले पत्रकारले स्वच्छ पत्रकारिता गर्नु आवश्यक रहेको बताए । उनले पत्रकारले सत्य तथ्य कुरालाई मात्र समाचार बनाउनुपर्नेमा जोड दिए । साथै अनावश्यक हल्लाको पछाडि गई समाचार भाइरल बनाउन नहुने उनले बताए ।
नंखेल काँक्रेबारीको प्लानिङको कुरालाई लिई पर्ति जग्गा मिची प्रमुखले २० करोडभन्दा बढी भ्रष्टाचार गरेको अफवाह फैलाएको प्रति आक्रोश व्यक्त गर्दै त्यसबाट सूर्यविनायक न.पा.का कुनै पनि जनप्रतिनिधिले रकम असुलेको ठहरे कारवाही गर्ने निकायले नछोड्ने स्पष्ट पारे । महासंघबाट गरेका हरेक गतिविधिसँग समन्वय र सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले आवश्यक परे महासंघका लागि जग्गा प्रदान गरी भवन निर्माणका लागि समेत सहयोग गर्न नहिच्किचाएको तर्क राखे ।
प्रमुख जिल्ला अधिकारी भक्तपुरका गोपाल प्रसाद अर्यालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै तालिमबाट सिकेका कुरालाई पूर्वाग्रही नराखी नागरिकलाई तथ्यगत सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना भट्टराई र महासंघका पूर्व अध्यक्ष नारायण किलम्बूले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रममा उपाध्यक्ष हेमराज ढकालले स्वागत गरेको थियो ।
सचिव दिपक ढुंगानाले सञ्चालन गरेको उक्त कार्यक्रम महासंघका अध्यक्ष सुन्दर शिल्पकारको सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षक विकास कार्कीले मोबाइल जर्नालिजमका विषयमा तालिम प्रदान गरेको उक्त कार्यक्रममा महासंघमा आबद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिम पश्चात सहभागी प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ, केन्द्रीय सचिव रामप्रसाद दाहालबाट प्रमाणपत्र प्रदान गरेको थियो ।