आर्थिक वर्ष २०७७∕७८ मा ८० प्रतिशत बजेट खर्च, सरकारले बजेटको लक्ष्य भेटाउन सकेन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ साउन

आर्थिक वर्ष २०७७∕७८ मा ८० प्रतिशत बजेट खर्च, सरकारले बजेटको लक्ष्य भेटाउन सकेन

गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ८० प्रतिशत मात्रै बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्षको अन्तिम दिन अर्थात असार ३१ गतेसम्ममा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको छ। जुन लक्ष्यको ८०.०८ प्रतिशत हो।
गत असार महिनामा सरकारले ठुलो मात्रामा बजेट खर्च गरेको थियो। हरेक वर्ष जस्तो गत वर्ष असार अन्तिममा सरकारले खर्च बढाएपनि बजेटको लक्ष्य भने भेटाउन सकेन।
महालेखा नियन्त्रक कार्यालयको अनुसार गत आर्थिक वर्षमा सरकारले चालू खर्च लक्ष्यको ८९ प्रतिशत अर्थात ८ खर्ब ५१ अर्ब ६७ करोड रुपैयाँ र पूँजीगत खर्च लक्ष्यको ६४ प्रतिशत अर्थात २ खर्ब २८ अर्ब रुपैयाँ रहेको छ। यस्तै वित्तीय खर्च पनि लक्ष्यको ५८ प्रतिशत मात्रै भएको छ। यस वर्ष पनि सरकारले लक्ष्य अनुसारको बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज हुने अवस्था आएको हो।
यसैगरी गत आर्थिक वर्षमा सरकारले लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा ९ खर्ब १२ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने सरकारको लक्ष्य रहेकोमा ८ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। त्यसैगरी कर, गैरकर जस्ता अन्य आम्दानी समेत गरी कुल ९ खर्ब १७ अर्ब रुपैयाँ अम्दानी भएको छ।
चालु आर्थिक वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा बजेटको अर्धवार्षिक समीक्षामा नै कुल बजेटको ९१ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान सरकारले प्रस्तुत गरिसकेको छ। यो भनेको कुल १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ हो। थर सरकारले अर्धवार्षिक समिक्षामार्फत गरिएको अनुमान अनुसार पनि बजेट खर्च हुन सकेन।
अर्ध वार्षिक समीक्षामा कुल खर्चमा चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड–विनियोजित बजेटको ९६.४० प्रतिशत,पूँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड–विनियोजित बजेटको ८०.२० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ  कुल विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो।
असार मसान्तसम्म खर्च नभएका बजेट रकम फ्रिज हुनेछ र यो वर्ष खर्च हुन नसकेको रकम अर्को वर्षको स्रोतको रुपमा उपयोग हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *