भारतमा रोजगारी गुमाएर फर्किनेको नाकामा भिड

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, १० बैशाख


कैलालीका शिवराज राना रोजगारीका लागि भारत गएको जम्माजम्मी पाँच महिना भएको छ ।भारतमा कोरोना महामारी फैलिएपछि गएको जेठमा नोकरी छोडेर नेपाल आएका शिवराजले २१ दिन क्वारेन्टिनमा बिताउँदा अब भारत नजाने निधो गरेका थिए । नेपालमै बसेर केही गर्ने सपना बुनेका उनले ६ महिना गाउँमै बिताए । तर कुनै काम सुरु गर्न सकेनन् । ‘पसल गरेर बस्ने सोचेको थिएँ तर लगानीनै भएन’ शिवराज भन्छन् ‘घरमै बसेर जहान केटाकेटी पाल्न पनि गाह्रो भयो, अनि फेरि मंसिरमा भारत पसेँ ।’ऋण खोजेर मुम्बई पुगेका उनले जागिर त पाए तर जम्मा चार महिनाको मात्रै । भारतमा कोरोनाको संक्रमण बढेसंगै शिवराज फेरि नेपाल फर्किएका छन् ।अछामको चौरपाटी गाउँपालिकाका मानबहादुर साउँद पनि भारतमा कोरोना महामारी फैलिएका कारण आफ्नै घर फर्किए । दुई महिनाअघि काम खोज्थ्दै भारतको पुना पुगेका साउँद दशैंमा फर्किने सोचमा थिए, तर उनको सोच कोरोनाले फेरिदियो । महाराष्टमा कोरोना फैलिएसंगै रोजगारविहीन हुन पुगे ।
शिवराज र मानबहादुर मात्रै होइन कोरोना महामारीका कारण हजारौं नेपाली भारतमा रोजगारी गुमाएर घर फर्किएका छन् ।भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको त्रिनगर नाकाबाट मात्रै दैनिक सात र आठ सय नेपाली भित्रिन थालेका छन् । भारतमा संक्रमण तीव्र गतिले बढ्न थालेपछि उनीहरु घर फर्कन थालेका हुन् ।कतिपयको लकडाउनका कारण जागिर गुमेको छ भने कतिपय कोरोनाको त्रासले घर फर्किरहेका छन् । कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको भिड पनि उस्तै छ । भारतमा पहिलो चरणको कोरोना संक्रमण फैलिएपछि गत जेठमा यसैगरी भारतबाट फर्किनेको भिड लागेको थियो । स्थिति अलि साम्य भएपछि उनीहरु कामकै खोजीमा मुग्लान पसे । थामिनसक्नु भिड नेपाल भित्रिएपछि सुदूरपश्चिममा कोरोनाको संक्रमण फैलिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले भारतबाट आउनेहरुको सीमा नाकामा एन्टिजेन परीक्षण गर्दैछ । बिहीबारसम्म १९ हजार चार सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार चार सय २१ जना पोजेटिभ देखिएका छन् ।तर उनीहरुको व्यवस्थापन राम्रोसँग भएको छैन । पहिलो चरणको कोरोना संक्रमण फैलिएपछि हात धुने, सेनिटाइजरको प्रयोग गर्ने र मास्क लगाउने बानी परेकाहरुले पनि बिस्तारै छाड्दै गएका छन् । सार्वजनिक यातायातमा उस्तै भिड देखिएको छ । क्वारेन्टिन र आइसोलेसन केन्द्रहरु पनि छैनन् । सरकारले अहिले पनि भिडभाड हुने औपचारिक कार्यक्रमहरु रोक्न सकेको छैन । २५ जनाभन्दा बढी मान्छे जम्मा गरेर कार्यक्रम गर्न नपाईनै सरकारी निर्णय सरकारका निकायहरुले नै उल्लंघन गरेका छन् । राजनीतिक दलहरुले ठूलो संख्यामा मान्छे जम्मा गरेर बैठक र भेला गर्न छोडेका छैनन् । कोरोना संक्रमण फैलिएकै कारण कैलालीका विद्यालयहरु १० दिनका लागि बन्द भएपनि अन्य जिल्लाहरुमा बिद्यालय सञ्चालन भइरहेका छन् ।
बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण देखिएको छ । कैलालीका ४०, कञ्चनपुरका १७, बैतडीका एक, डडेल्धुराका तीन र डोटीका आठ जनामा कोरोना संक्रमण देखिएको हो । योसंगै सुदूरपश्चिम प्रदेशमा एक सातामा तीन सय १४ जना संक्रमित देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
वैशाख ३ गते कैलालीका २९, कञ्चनपुरका नौ र डोटी र बैतडीका एकरएक गरी ४० जनामा संक्रमण देखिएको थियो । यस्तै ४ गते कैलालीका २९ र कञ्चनपुरका दुई गरी ३१ जना संक्रमित थपिए । वैशाख ५ गते कैलालीका १४, डडेल्धुराका पाँच, डोटी, बैतडी र कञ्चनपुरका एकरएक गरी २२ जनामा कोरोना संक्रमण देखिएको थियो । ६ गते कैलालीका ११, कञ्चनपुरका आठ, बैतडीका ६ र डडेल्धुराका एक गरि २६ जनामा संक्रमण देखियो । ७ गते कैलालीका ३५, कञ्चनपुरका २३, डोटीका पाँच, डडेल्धुराका दुई र अछाम र बाजुराका एक र एक गरी ६७ जना संक्रमित थपिए । वैशाख ८ गते कैलालीका २३, कञ्चनपुरका २५, बैतडीका आठ, डोटी, बझाङ र डडेल्धुराका एक र एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

५९ जनाको मृत्यु
बिहीबार बझाङका ४८ बर्षीय एक पुरुष र अछामका ६५ बर्षीय एक पुरुष गरी दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यस्तै वैशाख ४ गते कञ्चपुरमा ८१ बर्षीय एक पुरुषको मृत्यु भएको हो । योसंगै सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । कैलालीका ३१, कञ्चनपुरका १३, बझाङका चार, बैतडी, अछाम र डडेल्धुराका तीनरतीन जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बाजुरा र दार्चुलाका दुईरदुई जना र डोटीका एक जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अस्पताल बनाउँदै प्रदेश सरकार
कोरोनाको दोस्रो चरणको संक्रमण बढ्न थालेपछि सुदूरपश्चिम सरकारले कोरोना विशेष अस्पतालको लागि भवन निर्माण गर्न थालेको छ ।पहिलो चरणको कोरोना संक्रमण दर घटेपछि सुस्ताएको प्रदेश सरकारले कोरोना संक्रमण दर बढेपछि ५० शय्याको भवन निर्माण गर्न लागेको हो ।गत बर्ष कैलालीको घनगढी र कञ्चनपुरको महेन्द्रनगरमा ५० शय्या क्षमताका दुई कोरोना अस्पताल निर्माण गरेको धनगढीमा थप ५० शय्याको अस्पताल बनाउन सुरु गरेको छ । निर्माणको ठेक्का पाएको वाईआर कन्ट्रक्सनले वैशाख १ गतेदेखि निर्माण कार्य अगाडि बढाएको छ ।जिल्ला समन्वय समिति कैलालीको स्वामित्वमा रहेको जग्गामा निर्माण हुन लागेको अस्पतालको लागत एक करोड ४९ लाख रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।क्याबिनसहित ५० शय्या रहने असार मसान्तभित्रै निर्माण भइसक्ने जनाइएको छ । पुषबाटै निर्माण कार्य सुरु भइसक्नु पर्नेमा भवन निर्माण हुने ठाउँमा भएका रुखहरु कटानी आदेश नपाउँदा ढिलाइ भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख धामीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *