निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ३१ चैत


भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ देखि चैत्र ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सोमबार नगरपालिको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद कुनै पनि राष्ट्रको सम्मान र गौरव बढाउने विषय भएको औंल्याउदै नेपाललाई विश्वमा चिनाउने खेलकुदले नै हो र खेलाडीहरु भनेका देशकै सम्पत्ति हुन् भने ।
उनले दुई देशबीचको सम्बन्ध बढाउन खेलकुदले महत्वपूर्ण भूमिका खेलेको उदाहरणहरु दिंदै नगरपालिकाको आयोजनामा भएको अन्तरनगर बुद्धिचाल र नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गरे ।
भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रमा आवश्यकताअनुसार पूर्वाधार विकास गर्दै विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले खेलाडी सम्मान, खेलकुद प्रतियोगिता र प्रशिक्षणलाई निरन्तरता दिंदै आइरहेको छ — उनले भने ।
सरकारले खेलकुदलाई जसरी प्राथमिकतामा राख्नुपर्ने हो त्यो भएको छैन भन्दै प्रमुख प्रजापतिले खेलकुद क्षेत्रभित्रको बेथितिले खेलाडीहरुको मनोबल कमजोर हुँदै गएको बताए । नव वर्ष २०७८ सालको शुभकामना व्यक्त गर्दै उनले भने — भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यहाँका जनताको भावनासँग जोडिएको जात्रा हो । बिस्कालाई सभ्य, भव्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्नु हामी सबैको कर्तव्य भएको उनले बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आगामी दिनहरुमा पनि खेलकुद प्रतियोगितालाई सशक्त ढंगले अगाडि बढाउने बताउदै भक्तपुरलाई सभ्य र संस्कृतिक नगरको रुपमा परिचित गर्न यहाँ मनाइने जात्रा तथा पर्वहरु पनि शान्तिपूर्ण र मर्यादित हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा भएको खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै खेलको माध्यमबाट सभ्य र अनुशासित नागरिक तयार गर्न मद्दत पुर्‍याउने बताए ।
कार्यक्रममा नेपाल भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले विद्यार्थीहरुलाई पढाई सँगसँगै कुनै न कुनै खेलमा सहभागी गराउनु औचित्यपूर्ण भएको र भक्तपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष निरन्जन प्रजापतिले नपाको आयोजनामा भएको बुद्धिचाल प्रतियोगितामा नेपालका च्याम्पियन खेलाडीहरुको उत्साहपूर्वक सहभागिता रहेको बताए ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले धन्यवाद ज्ञापन मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले गरेको थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले २०७७ फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता निर्णायक, आर्बिटर, रेफ्री, स्वयम्सेवक र भक्तपुर नपाको आयोजनामा पुस १० गतेदेखि सञ्चालित छिपुङ खेलका प्रशिक्षकहरुलाई प्रशंशा पत्र वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *