कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

विशेष समाचार शिक्षा समाचार

न्यूज  अपडेट
भक्तपुर, १५ असोज

वागीश्वरी माध्यमिक विद्यालयमा यस वर्ष कक्षा ११ मा अध्ययन गर्न आएका नवप्रवेशी विद्यार्थीहरुका लागि बिहीबार अनलाइनमार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले हरेक व्यक्ति एउटा न एउटा विषयमा दक्षता हासिल गर्नुपर्ने बताए । उनले नक्कल गरेर पास हुनुको कुनै अर्थ नभएको र त्यसले देश र जनतालाई हानी पुर्‍याउने बताए । साथै उनले घुस दिएर गोल्ड मेडल पाउने यो देशमा त्यस्ता व्यक्ति पदमा पुगेमा देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्ने बताए । विद्यार्थीहरुले थाहा नभएको कुरा स्पष्ट रुपमा शिक्षकसँग सोध्नुपर्ने र बुझेकै हुनुपर्ने उनले बताए । विद्यार्थीहरुले कोर्ष बुकमा मात्र सीमित नभएर अन्य विभिन्न विषयका पुस्तकहरुमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।


कार्यक्रममा वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुको मूल्यांकन आजैबाट शुरु भएको प्रष्ट्याए । उनले देशको आवश्यकता पूरा गर्न सबै विषय त्यत्ति नै महत्वपूर्ण भएको औल्याए । उनले ठेकेदारहरुको मनोमानीका कारण देशले एउटा रासायनिक मल कारखाना पनि स्थापना गर्न नसक्दा मलविनाको धानवाली गर्नुपरेको यथार्थ बताए । साथै ठेकेदार र सीमित व्यापारीहरुको दबावमा परी उपत्यकाका सीमालाई कडाइ गर्न नसक्दा उपत्यकामा कोरोनाको भयावह स्थिति आइपरेको बताउँदै उनले सरकारको अकर्मण्यताकै कारण देश वर्वादीतर्फ गइरहेको स्पष्ट पारे । उनले राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थी कम भएकाले देशमा राजनीतिलाई भ्रष्टाचारको अखडा बनाएको स्पष्ट पारे ।

वागीश्वरी मा.वि.कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीहरुले एउटा विषयलाई अठोट लिएर पढ्नुपर्ने र विशेषज्ञता हासिल गर्नुपर्ने बताए । उनले सबै संकाय र विषय त्यत्ति नै महत्वपूर्ण भएकाले आफ्नै मेहनतबाट पहिलाको भन्दा ग्रेड वृद्धि गरी पढ्नुपर्ने औल्याए । साथै नयाँ वातावरणमा समायोजित हुन केही समय लागेपनि विना संकोच आफ्नो कुरा विषय शिक्षकहरुसँग राख्नुपर्ने उनको भनाइ छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा उनले विद्यालयको इतिहासबारे स्पष्ट पारे । साथै उनले वर्तमान समयमा पनि वागीश्वरी नमूनाकै रुपमा राख्न नवआगन्तुक विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए । उनले कोरोनो भाइरस संक्रमणकै यो स्थितिमा विद्यार्थीहरुलाई वैकल्पिक प्रविधिको प्रयोग गरी पढाउन लागेको स्पष्ट पारे ।

त्यस्तै वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले विद्यालयबारे आफ्नो धारणा राख्दै विद्यार्थीहरुलाई नयाँ जोश जाँगरका साथ अघि बढ्न जोड दिए । विद्यार्थीहरुले आलोचनात्मक सोचको विकास गर्नुपर्ने, सृजनात्मक हुनुपर्ने, एकआपसमा सञ्चार भइरहनुपर्ने र सहयोगात्मक भावनाका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ । कार्यक्रममा सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्मचार्यले पनि विद्यार्थीहरुलाई स्वागत गरेको थियो ।


विद्यालयमा बिहीवार विहान व्यवस्थापन, मानविकी र शिक्षा संकायतर्फका र दिउँसो विज्ञान संकायका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *