स्मार्ट सिटीको पूर्बाधार बनाउँदै हेटौंडा नगर

समाचार

हेटौंडा, २९ माघ


हेटौंडा उपमहानगरपालिकाले स्मार्ट सिटी बनाउने पूर्बाधारमा लगानी गर्न सुरु गरेको छ । पहिलो चरणमा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार जस्ता विकासका पूर्बाधारमा सुधार गर्न थालेको हो । नगरका १९ वटै वडामा नेटवर्किङ गर्नका लागि कोरियाली सहयोग नियोगसँग सम्झौता गरेको छ ।
नगरबासीलाई सवैखाले सेवासुविधा दिनका लागि पहिलो चरणमा पूर्बाधारको काम सुरु गरिएको नगरप्रमुख हरिबहादुर महतले बताए । वडास्तरमा नेटवर्किङ गरी प्रबिधिमार्फत् काम गर्नका लागि कोरियाली सहयोग नियोग कोईकासँग सम्झौता गरिएको हो । उपमहानगरपालिका क्षेत्रका नागरिकलाई वडामै एकीकृत सम्पत्तिकरलगायत सबैखाले राजश्व तिर्न र नगरपालिकाको बिभिन्न सेवा लिन सहज बनाईने नगरप्रमुख महतले बताए ।
पुरानो नगरपालिकाको ११ वटा वडामा बिगतमा जडान गरिएको १ कोरको अप्टिकल फाईबर हटाएर १९ वटै वडामा ६ र १२ कोरको फाइवर विस्तार गर्न लागिएको नगरप्रमुख महतले वताए । ५ बर्ष अघि साबिक हर्नामाडी, हटिया, चुरियामाई, पदमपोखरी, बसामाडी गाविसलाई नगरपालिकामा गाभेर उपमहानगरपालिका बनाइएको थियो । ति साबिकका गाविसमा विकासका पूर्बाधार पु¥याउने कार्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको छ ।
उपमहानगरको ६० लाख रुपैयाँ र कोरियाली सहयोग नियोगको ३१ लाख रुपैयाँ सहयोगमा ९१ लाख रुपैयाँमा अप्टिकल फाईबर जडान गर्नका लागि मंगलबार संझौता गरिएको हो । हाल २ सय ६१ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको हेटौंडा नगरको अधिकांश भूभाग ग्रामीण क्षेत्रको रुपमा रहेको छ । ग्रामीण क्षेत्रको विकास गर्नका लागि नगरपालिकाले आबधिक योजना निर्माण गरिरहेको छ ।
हेटौंडाका सवै वडामा ६ कोरको अप्टिकल फाईबर बिस्तार गरी वडा कार्यालयबाट प्राप्त हुने सेवालाई थप प्रभाबकारी बनाउन सम्झौता गरिएको नगरप्रमुख महतले वताए । नगरप्रमुख महत र कोरियाली सहयोग नियोगका नेपाल कार्यक्रम संयोजक डा. वान जुन कानबीच नेटवर्क बिस्तार गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको उपमहानगरका सूचना अधिकृत रामकृष्ण थापाले वताए ।
नेपाल सरकारले विसं. २०२६ वैशाखमा हेटौंडालाई तत्कालीन नगरपञ्चायतका रुपमा घोषणा गरेको थियो । २०४९ र २०६४ को स्थानीय निर्वाचनमा नगरप्रमुख बनेका डोरमणि पौडेल नै अहिले बागमती प्रदेशको मुख्यमन्त्री रहेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएपछि यो नगरको विकासमा मुख्यमन्त्री पौडेलको चासो पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *