जीवन बीमा आर्जन रु ३ करोड ९५ लाख र निर्जीवन बीमा आर्जन रु ६३ करोड २९ लाख

अर्थ/वाणिज्य समाचार

धनगढी, २३ माघ


संघीय राजधानी काठमाण्डौँमा कर्पोरेट कार्यालय रहेका अधिकांश जीवन तथा निर्जीवन बीमा कम्पनीका क्षेत्रीय, शाखा एवं उपशाखा कार्यालय सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा खुल्ने क्रम बढ्दै गएको छ । क्षेत्रीय कार्यालय, शाखा तथा उपशाखा कार्यालय विस्तारसँगै यो प्रदेशबाट बीमाआर्जन पनि वर्षेनि बढ्दै गएको पाइएको हो ।
२०७६ असार मसान्तसम्म मात्र सुदूरपश्चिमका विभिन्न जिल्ला तथा बजार क्षेत्रमा सञ्चालित जीवन बीमा कम्पनीका क्षेत्रीय, शाखा तथा उपशाखा गरी १९१ कार्यालयमार्फत बीमा शुल्क आर्जन तीन करोड ९५ लाख ८० हजार संकलन भएको बीमा समितिको तथ्यांक छ । उक्त रकम एक लाख ६८ हजार ६५ बीमा लेख जारी गरी संकलन भएको हो ।
त्यस्तै सो अवधिसम्म एक लाख ३१ हजार ३१३ बीमा लेख जारी गरी यस प्रदेशभित्र सञ्चालित ५६ निर्जीवन बीमाका क्षेत्रीय, शाखा तथा उपशाखा कार्यालयहरुले ६३ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले संकलन गरेको तथ्यांकले देखाएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीका क्षेत्रीय कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालय कैलाली कञ्चनपुर बजार क्षेत्रमा मात्र बढि देखिएकाले पहाडी ग्रामीण भेगमा विस्तार बढाउन सके कारोवारमा अझ बढोत्तरी आउने आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा बताउँछन् ।
सुदूरपश्चिममा जीवन बीमा शुल्क आर्जन ६ दशमलव १२ तथा जारी बीमा लेख ६ दशमलव २२ प्रतिशत मात्र देखिएको मन्त्री बोहराले बताए । त्यस्तै निर्जीवन बीमा शुल्क आर्जन दुई दशमलव ७२ तथा बीमा लेख जारी ६ दशमलव ११ प्रतिशत छ भने जीवन बीमा कम्पनीहरुको उपस्थिति प्रदेशभित्र ११ दशमलव ७५ र निर्जीवन बीमाको उपस्थिति ५ दशमलव ९३ प्रतिशत देखिएको छ ।
त्यस्तै यहाँ सञ्चालिन जीवन बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी संख्या ४६२ (९ दशमलव ४१) तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १८८ (४ दशमलव १४ प्रतिशत) रहेको छ । जीवन र निर्जीवन बीमा विस्तार बजार क्षेत्रमा मात्र सिमित हुन पुगेकाले ग्रामीण भेगसम्म विस्तार गरी रोजगारी र कारोवार बढाउन सकिने संभावना निकै बढि भएको सरोकारवाला बताउँछन् । मन्त्रालयले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार क श्रेणीका वाणिज्य बैंकको संख्या २९१, ख श्रेणीका विकास बैंक ७२, ग श्रेणीका वित्त कम्पनी तीन तथा घ श्रेणीका लघु वित्त कम्पनी ३३६ गरी कुल ७०२ बैंक तथा वित्तीय संस्थाहरुले यो प्रदेशभित्र बैकिङ सेवा दिइरहेका छन् ।
बैंक विस्तार प्रदेशभित्र बढ्दो क्रममा देखिएको नेपाल राष्ट्र बैंक धनगढीले जनाएको छ । महिला उद्यमीसहित विभिन्न शिर्षकमा कर्जा दिने कार्यक्रम गत आवदेखि कार्यान्वयनमा ल्याएको बताउँदै राष्ट्र बैँक धनगढीका निर्देशक निश्चल अधिकारीले उक्त नीतिअनुसार वाणिज्य बैंकले आफ्नो आधार दरमा दुई प्रतिशत प्रिमियम जोडेर ऋणीबाट व्याज लिन सक्नेछन् । साना तथा ठुला उद्यमीहरुलाई आकर्षित गर्ने गरी विभिन्न शिर्षकमा वाणिज्य बैंकहरुले योजना ल्याएकाले व्यवसायअनुकुलको कर्जा लिन सकिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *