धिमे बाजा प्रतियोगिता सम्पन्न

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, २७ माघ


भक्तपुर नगरपालिकाले भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता (माघ २५ र २६) गते सफलताका साथ सम्पन्न ग¥यो ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । शनिबार र आइतबार गरी दुई दिन आयोजित उक्त प्रतियोगितामा भक्तपुर जिल्लाभरिका ७७ वटा बाजा समूह दर्ता भएकोमा ७२ बाजा समूहले प्रतियोगितामा भाग लिएका थिए । धिमे बाजा प्रतियोगितामा भनपा वडा नं. १० कमलविनायकको न्हुज धिमे खलः प्रथम, भनपा वडा नं. ९ दत्तात्रयको ख्वप धिमे खलः द्वितीय, छालिङ ५ चाँगुनारायण नपाको श्री गणेश दाफा भजन समूह तृतीय, नगाँचा १० भक्तपुरको नगाँचा धिमे बाजा खलः र भक्तपुर याछें ६ को द राइजिङ कल्चर गुपले सान्त्वना स्थान हासिल गरेको थियो भने सूर्य्विनायक नपा पान्डुबजार ६ को पान्डुबजार धिमाय् बाजा खलः र मध्यपुर थिमी गुंगचिवा ६ को गुंगचिवा धिमेले  भने प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।

पुरस्कार वितरण समारोहमा बोल्दै नेता बिजुक्छेँले नगरपालिकाद्वारा आयोजित धिमे बाजा प्रतियोगिताका प्रतिस्पर्धीहरु अधिकांश नयाँ पुस्ताका युवाहरु रहेको उल्लेख गर्दै भक्तपुरका जनताको राजनैतिक र सांस्कृतिक स्तर विस्तारै बढ्दै गएको छ भने । उनले भक्तपुरका हरेक नागरिकलाई कलाकारको संज्ञा दिन्दै आफूले सिकेको सीप र ज्ञान सधैं जीवनउपयोगी हुने बताउदै नेपाली कांग्रेस भ्रष्टाचारीको पक्ष लिने पार्टी हो भने । भक्तपुर नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृतिको लागि माग गरिरहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरभित्र भारी सवारीसाधन निषेध गर्ने निर्णय स्वागतयोग्य भएको बताए ।

समारोहका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक प्रवद्र्धनमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने बताउदै भक्तपुर नपाले भक्तपुरको संस्कृति प्रवद्र्धन र संरक्षणमा अग्रणी भूमिका खेल्ने संस्कृतिकर्मीहरुको सम्मान गर्दै आइरहेको बताए । उनले सांस्कृतिक नगर भक्तपुरमा फागुन १ गतेदेखि निश्चित समयको लागि भारी सवारीसाधन प्रवेश निषेधको योजना अगाडि सारेको बताए ।
नेमकिपा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले प्रतियोगिता निकै उल्लासमय ढंगले सुचारु भएको बताउदै धिमे बाजामार्फत समाजमा भएका विभिन्न किसिमका समाजिक र राजनीतिक विकृति विरोध गर्दै अगाडि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसले पञ्चायती बाटो नै पछ्याइरहेको छ भन्दै उनले पञ्चायत, नेका र नेकपा सरकार ‘गाँसे गुसे एकै नासे’ हुन् भने ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई जीवन्तता दिन सांस्कृति प्रतियोगिताले थप योगदान पु¥याउने बताउदै भक्तपुर महोत्सवमा समाविष्ट गरिने सांस्कृतिक कार्यक्रमहरुबारे जानकारी गराए ।

उनले भक्तपुर भूकम्पीय जोखिममा रहेको क्षेत्र भएको नपाद्वारा सञ्चालित कलेजहरुमा भूकम्प इन्जिनियरिङ विषयको अध्ययन—अध्यापन भइरहेको छ भने । नयाँ पुस्तालाई कुलतबाट जोगाउन विभिन्न प्रतियोगिता र गतिविधिमा संलग्नता बढाइरहनुपर्ने बताउदै उनले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै किसिमको लापरबाही हुनु नहुनेतर्फ सजग पारे ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष तथा धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य उकेश कवांले धिमेबाजाको विकास र प्रवद्र्धनमा अग्रजको भूमिका उल्लेखनीय भएको बताउदै मानव सभ्यताको विकासको निम्ति निरन्तर लागिरहनुपर्ने बताए । नयाँ पुस्तामा विदेशी वाद्यवादनमा आकर्षण बढिरहनु चिन्ताको विषय भएको औंल्याउदै नेपालको गीत—संगीतलाई बचाइराख्न नयाँ पुस्तालाई क्रियाशील बनाइराख्नु आजको आवश्यकता हो भने ।

उक्त समारोहमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर देशकै सांस्कृतिक महत्व बोकेको ठाउँ भएको बताउदै भक्तपुर नपाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी भएको स्रोत—साधनको अधिकत्तम उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य रबिन्द्र ज्याख्व, भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पनि बोलेको थियो ।


प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु. ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय स्थान हासिल गरेको  टोलीलाई नगद रु. २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय स्थान ओगटेको  टोलीलाई नगद रु. २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु. १०,०००।—, भुछ्या १ थान, धिमे १ थान प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागी सबै टोलीलाई भुछ्या १ जोडी र खाजा खर्च रु. २००० प्रदान गरिएको उक्त समारोहमा निर्णायक मण्डलका सदस्य, धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य, बजार परिक्रमा मूल्यांकनकर्ताहरुलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *