सामाजकि बिकास र महिला हिंसा

शिक्षा समाचार

श्रीती खड्का
भक्तपुर, १३ साउन


नेपाली समाज पुरुषबादी समाज हो । यहाँ हरेक क्षेत्रमा महिला माथि गरीने भेदभाब कायम नै छ । केही सिमित शहरी क्षेत्रमा बाहेक अझैपनि अधिकांश क्षेत्रमा नारीहरु शोषित भएर बाँच्न बाध्य छन् । नारीमाथि हरेक दिन दमन, शोषण र पिडादायक यातनाहरु दिईन्छ । यहाँ महिला वर्गलाई तल्लो स्थानमा राखि पुरुषलाई माथिल्लो स्थानमा राख्दछन । घरधन्दा सम्हाल्ने काम महिलाको र बाहिरी काम पुरुषको भनेर आजको युगमा पनि महिलालाई पछाडी पारेका छन । यदि यसैगरी पुरुषलाई प्राथमिकता दिँदै जाने हो भने महिला उत्थान कहिल्यै हुदैन ।
हालको परिप्रेक्षलाई हेर्नुपर्दा महिलाहरु पछाडी परेका मात्र होइनन् पुरुष प्रधान समाजमा उनीहरुको कुनै सम्मान र इज्जत छैनन् जसको कारण आज सामाजिक लैंगिक विभेद व्यापक रुपमा रहेको छ । देश बिकाशका दृष्टिकोणले शिक्षा क्षेत्रमा महिलाहरुको सहभागीताले पुरुषको भन्दा वढी प्रभावकारी भुमिका खेलेको हुन्छ । एउटा महिला शिक्षित भए पुरै परिवार शिक्षित बन्न जान्छ र पुरै पारिवारिक शिक्षा, स्वास्थ्य जस्ता कुराहरुको स्तरिकरणमा महिलाको भुमिका महत्वपुर्ण हुन्छ । तर अर्काको घर जानुपर्छ छोरीलाई पढाउनु हुन्न भनेर छोरीलाई पढायो भने अर्काको घरमा गएर काम गर्दैनन् र दुख पाउँछन् भन्ने धारणाले गर्दा आज कयौँ महिला अशिक्षित छन् । छोरा भयो भने भविष्यमा कमाउछ आमावाबुलाई दागबत्ति दिन्छ भन्ने धारणाले गर्दा जति छोरी भएता पनि छोराको आसले जनसंख्या वृद्धि गरीरहेका छन् जसले समाजमा नकारात्मक असर परेको छ । राज्य स्वयं नै महिला हिंसा बिरुद्ध खरो रुपमा उत्रिन नसक्नु पनि महिला हिंसा कम नहुनुको एउटा प्रमुख कारण हो । बलात्कार पछि हत्या गरीएकि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न दोषीलाई एक बर्ष पग्दा पनि राज्यले अझै कानुनको दायरामा ल्याउन सकेको छैन । यस्तै काठमाण्डौमा धर्तिमाताको नामले परिचित महिलाले सुरक्षाकर्मी कै उपस्थितिमा एक किशोरी माथि अपशब्द प्रयोग गरी हातपात गर्दा समेत राज्यले दोषीलाई के कारबाही गर्ने भन्ने बारे राज्य आफै अन्योलमा छ । दिनभरी महिला हिंसाबिरुद्ध आवाज उठाउँदै हिड्ने महिला सांसद स्वयम साँझ परे पछि घरकि बुहारीलाई अनेक बाहानामा गाली गर्दै महिला हिंसा गर्न पछि नपर्ने अवस्था नेपाली समाजमा रहेको छ । यसबाहेक बोक्सि प्रथा, दाईजोप्रथा, अन्धबिस्वास आदीका नाममा महिला हिंसा हुने गरेका छन् । यसरी राज्यले महिला हिंसा बिरुद्ध कडा कदम चाल्न नसक्नु तथा भएका कानुन प्रयोगमा नआउँदा महिला हिंशा अन्त्य हुन सकेको छैन । जसका कारण सुरक्षानिकाय तथा राज्यप्रति नै नागरीकले प्रश्न उठाउनु पर्ने अवस्था आइसकेको छ ।
महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन्, जहाँ एकको अभा्वमा अर्काेको अस्तित्व निरर्थक हुन जान्छ । लैंगिक समानतामा महिला र पुरुष हुनु विचको जैविक बिबिधतालाई यथावत राखेर पनि उनीहरुका बिच समान हैसियत स्थापना गर्नका लागी आवश्यक पर्ने मुल्यमान्यता, मनोवृत्ति र दृष्टिकोणहरु आवश्यक हुन्छन । तर लैंगिक सवाल लाई हाम्रो समाजमा फरक दृष्टिकोणले हेर्ने प्रवृत्ति व्यापक रुपमा रहेको छ । हरेक समाजको निर्माण हुनको लागी त्यहाँ महिला र पुरुषको भुमीका महत्वपुर्ण रहन्छ । न त कुनै महिलाविना एउटा समाज विकसित हुन्छ न त कुनै पुरुष विनाको समाज हुन्छ । महिला समाजका अभिन्न अंग हुन । हरेक समाजमा एउटा उज्यालो दिप सजाउन महिलाको भुमिका महत्वपुर्ण हुन्छ । यदि महिलाहरुलाई पनि पुरुष सरह प्राथमिकता दिने हो भने हाम्रो देश, समाज को स्वरुप नै परिवर्तन हुन्छ ।
समाजमा महिला हिंसा कम गर्न सके मात्र दिगो विकाश सम्भव छ । समाजमा महिला हिंसा कम गर्न परम्परागत सोच एवं धारणा परिवर्तन गरी महिला शसक्तिकरणमा जोड दिन सके नेपाली समाज विकासले फट्को मार्न सक्ने कुरामा दुई मत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *