पुस्तक समीक्षा : अल्टिमेट आकाश : उडी छुनु चन्द्र एक

कला/साहित्य समाचार

~गोबिन्दसिंह रावत~

साहित्य के हो र केका लागि लेखिन्छ ? यसको उत्तर आफैमा निर्भर पर्ने कुरा हो। म भन्छु मनका परिकल्पनाहरूलाई वस्तु तथ्यमा उतारेर हेर्ने माध्यम साहित्य हो । आफ्नो सखानभतिलाई शब्दमा रूपान्तरित गरेर हेर्न शाब्दिक घोषणा पत्रसाहित्य हो। अझ भनौं, मातृभाषाप्रतिको आस्था र समाज सचेतताको माध्यम हो साहित्य । नेपाली साहित्यको इतिहास पल्टाएर हेर्न हो भने नेपाली साहित्यमा धेरै कम लेखिने माध्यम हो उपन्यास । प्राचीन समयमा महाकाव्य बढी लेखिन्थ्यो भने आजको समयमा उपन्यास बढी लेखिने गरिएको छ । साहित्य लेखनमा रमाउने साहित्यकर्मी सबैमा एउटा उपन्यास लेख्ने आन्तरिक ईच्छा हुने गर्दछ । उपन्यासलाई मानिसको जीवनको धेरै नजिक रहेको रचनाका रूपमा परिभाषित गरिएको पाइन्छ । किनभने उपन्यासको सम्बन्ध मानिसको जीवनसँग गासिएको हुन्छ । मानिसको जीवन दर्शाउने आख्यान साहित्य नै उपन्यास हो।

नेपाली उपन्यास साहित्यको काल क्रमिक इतिहासलाई पल्टाएर हेर्‍यौं भने उपन्यासको प्रारम्भ सन् १७७० मा शक्तिबल्लभ अर्यालको धार्मिक तथा पौराणिक विषयवस्तूमा आधारित महाभारत विराटपर्व उपन्यासबाट भएको मानिन्छ । त्यसपछिका विभिन्न कालखण्डको चरण विभाजनको कोषेढुङ्गाका रूपमा परिचित उपन्यासहरू पहिलोचरणमा सन् १९३४ मा रूद्रराज पाण्डेको रूपमति उपन्यासबाट सामाजिक विषयवस्तुमा आधारित मौलिक उपन्यास देखा पर्छ । दास्रोचरणमा सन् १९५९ मा गोबिन्दबहादुर मल्ल गोठालेको सामाजिक मनोविश्लेषणत्मक पल्लो घरको झ्याल देखापर्छ। तेस्रोचरणमा आएर सन् १९६४ मा ईन्द्रबहादुर राईको आज रमिता छ उपन्यास अस्तित्ववादी र विसङ्गतिवादी नविन धारालाई नेपाली उपन्यासमा भित्र्याएको पाइन्छ । चौंथोचरणमा ध्रुव चन्द गौतमको सन् १९७९ मा नेपाली उपन्यासमा सामाजिक मानोवैज्ञानिक यथार्थतामा थप स्वैरकल्पना, मिथकीयताको नवस्वाद भरेर डापी उपन्यास देखा पर्छ । यसरी विभिन्न कालखण्ड पार गर्दै नेपाली उपन्यासले विस्तारै गति लिदै गएको पाइन्छ ।

प्रवासी नेपाली साहित्यकारहरूले उपन्यास विधाको थालनीसँगै कलम चलाएको पाइन्छ । तर आप्रवासी नेपाली साहित्य जसलाई अंग्रेजी प्रेमीहरूले डायस्पोरा साहित्य पनि भन्ने गर्छन, यसको प्रारम्भिक चरण कसलाई मान्ने भन्ने बारे अध्ययन अनुसन्धान गर्नुपर्ने देखिन्छ । सन् २०१७ मा प्रकाशित निलम कार्की निहारिकाको योगमाया उपन्यासले गरिमामय मदन पुरस्कार पाएपछि आप्रवासी साहित्यप्रति पाठकको रूचि बढ्न थालेको छ । हुन त डा. गोबिन्दप्रसाद भट्टराईले होमनाथ सुवेदीको यमपुरीको महल (सन् २००७) उपन्यासलाई पहिलो आप्रवासी उपन्यास भनेर नामाकरण गरेपनि सुवेदी कै सन् १९९४( द्यौराली) र सन् १९९६(अंकुर) मा प्रकाशित उपन्यासलाई विर्सेर सन् २००७ को यमपुरीको महललाई पहिलो भन्नुको औचित्य अस्पष्ट भएकोले यसबारे अझ अध्ययन हुन जरूरी भएकोछ । किनभने माथिका द्यौराली र अंकुर दुवै उपन्यासहरू नेपाल बाहिर आप्रवासको नेपाली साहित्यकारहरूबाट आप्रवासको नेपाल साहित्यको विकास र विस्तारका लागि सन् १९९१मा अमेरिकामा दर्ताभई स्थापना भएको अ.ने.सा.स. (अहिले नेपालकै अधिनमा गएको छ) बाट प्रकाशित भएको भनिएको छ । त्यसैले पहिलो आप्रवासी उपन्यासको खोजी गर्नु जरूरी छ ।

उपन्यासलाई विभिन्न धारा र प्रकारमा बाडिएको पाइन्छ । आख्यान साहित्यको मेरूडण्ड भनेको त्यसको कथानक (भन्न चाहेको कथा), सहभागी (कथाले जन्माएका पात्रहरू), परिवेश (कथाले अनुशरण गरेको देश–काल–परिस्थिति), भाषाशैली (कथाले समेटेको भाषा) र उद्देश्य (लेख्नुको औचित्य) लाई मानिन्छ । यसैलाई कसी बनाएर कृतिको विचरण गरेर मूल्यांकन गरिन्छ ।

आप्रवासी नेपाली साहित्यमा पछिल्लो उपन्यासका रूपमा सन्तोष लामिछानेको अल्टिमेट आकाश प्रकाशित भएकोछ । समकालिन साहित्य प्रतिष्ठान, बेलायतबाट गत वर्ष (सन् २०१८) प्रकाशित ईन्दिरा मानन्धरको परिकल्पनामा उतारिएको यस उपन्यासको आवरणले मानिसको जिजिविषा दर्शाएको छ । नेपाली युवाहरूको ईच्छाको संसार भनेको नै अमेरिका बनेकोले त्यहीँ युवाहरूको चाहनामा रहेको अतिरिक्त आकाश आवरणमा झल्किएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेभै सबैको चाहना आकाशलाई चुम्ने नै बन्न थालेको छ ।

सन्तोष लामिछाने मूलतः कविता कोर्ने गर्छन् । कवितामा रमाएर उनले एउटा संग्रह पनि प्रकाशित गराएको पाइन्छ । काव्यबाट कथ्यमा आएर उनले आफ्नो क्षमता प्रमाणित गरिदिएका छन् । १७३ पानाहरूलाई तेह्र अध्यायमा बाडेर विभिन्न शीर्षकका आधारमा यो उपन्यास तयार पारेका छन् । उनले औपन्यासिक अभिव्यक्तिहरूका माध्यमबाट आफ्नो जीवन संघर्षको कथा बयान गरे झै लाग्छ । उनी एक सचेत लेखक हुन भन्ने कुराको प्रमाण उनले तेह्र अध्यायमा बाडिएको जीवनका मोडहरूको नामाकरण अक्षरबाट नै राखेर एकरूपता दिन खोजेकोबाट प्रष्टिन्छ ।

अगस्त १, २००२ देखि शुरू भएको उपन्यासको कथायात्राले अगस्त २००७ को कुनै मितिमा आएर पहिलो बिट मार्छ । त्यसपछि फेरी २५ वर्षपछिको अर्को यात्रालाई उपसंहारका रूपमा सवा पाँच पानामा उतारेका छन् । अर्थात उनको एउटा संघर्षमय जीवनको अन्त्यपछि सेवामय जीवनको परिकल्पनामा २५ वर्षपछिको वयान आएको देखिन्छ । यो वास्तविकता प्रायः सबै आप्रवासीहरूको मन मस्तिष्कमा आउने एउटा सत्य तथ्य हो। उपन्यास निर्माणका आवश्यक तत्वको कसीले अल्टिमेट आकाशलाई नियाल्दा यसलाई सफल मान्न सकिन्छ ।

कथानक भनेको उपन्यासले समेटेको धर्ती हो यहाँ पात्रहरूको उपस्थिति रहने गर्दछ । उपन्यासले एउटा नेपाली ठिटोको जीवनमा आईपरेका आरोह अवरोहको कथालाई प्रस्तुत गरको छ । नेपालको सामान्य परिवारको विभासले पनि आजको मितिमा प्रत्येक नेपाली युवाले देख्ने सपना देखेको हुन्छ । त्यही सपनालाई सार्थक बनाउन विभास सम्भावनाहरूको देश अमेरिका पुग्छ । अनि शुरू हुन्छ संघर्षको कथा । आफ्नो पाँच वर्षको अध्ययन कालमा विभासले धर नै नेपाली र अनेपाली पात्रहरूकोसंग त गर्दै जानुपर्छ । यिनै पात्रहरूको चारीत्रिक विकासमा कथा बुनिदैजान्छ । कतैप्रताप जस्तो दुष्पात्र आउँछ भने कतै अथीना जस्ती मनग्य माया लाउने पात्र आउँछे । कतै पाओल र मरिया जस्तो समलिङ्गी मित्रहरूको मायामा छताछुल्ल हुने मौका पाउँछन् भने कतै नेपालबाट विजारोपण भएको नीलमसँगको प्रेमले प्रगतिकोरूप लिदै जानथाल्छ । कतै अमरप्रित र अब्दुल जस्ता सहयोगी मनहरू आउँछन् कतै हतियारधारी लुटेर देखा पर्छन् । एउटा नेपाली ठिटोले आफुलाई अमेरिकामा स्थापित गर्नहुने गरिएका वास्तविक जीवनका संघर्षमय उतार चढाउँको कथा उपन्यासले समेटेको छ । त्यसैभित्र अमेरिकाको रङ्गिन जीवनमा पाओल र मरीया बीचको एउटै बेग्लै प्रेमालाप । प्रतापको परपीडन प्रवृति । शिक्षक, सहपाठी, कामदार, ग्राहक, प्रहरी आदिको कर्तव्यनिष्ठ जीवनशैलीका बीच अमेरिकामा नेपाली युवाहरूको कथाव्यथाहरू नै उपन्यासकोमूल कथानक भएर अगाडि बढेको छ ।

कथालाई गति प्रदान गर्न सहभागीका रूपमा लगभग ३०–३२ चरित्रहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट उपन्यासमा उपस्थित भएका छन् । कथालाई अघि डोर्‍याउन उपन्यासमा प्रत्यक्ष र परोक्ष आएका पात्रहरू बुवा, आमा, बैनी, मामा, लाहुरेनी आण्टी, लाक्पा, प्रियब्का, पौडेल सर, त्रिलोक , सम्राट, सुवास, विप्लव, सिल्भिया, अमनप्रित, टब्क दाइ, प्रताप, मोहन, स्टेफनी, प्रकास अब्दुलसँगै माइकल, निक, प्रहरी, ग्राहक र डकैती गर्न आएका पात्रहरूको चारीत्रिक उत्कर्स र अपकर्षमा कथाले गति लिदै निष्कर्षमा पुगेर पहिलोबिट मारेका छ भने दोस्रो बिट मार्न सत्या, प्राप्ती, राजाराम, दयारात, निलमका आमा बुवासँग नेपालीमन लिएर नेपालका लागि केही गर्ने अठोटका साथ विभास र नीलमको नेपाल पुनर्गमनको कथालाई समेटेको छ ।

यस उपन्यासले रोजेको परिवेश देश र प्रदेश अर्थात नेपाल र अमेरिका रहेको छ । उपसंहार खण्डलाई छोडेर हेर्ने हो भने पाँच वर्षको घटना क्रम मलाई उपन्यासले समेटेको छ । अनि यी दई देश अर्थात नेपाल र अमेरिकामा भए गरिएका र विभासले भोगेका सुख दुखका घटनाक्रमहरू सिनेमेटिक शैलीमा उतारिएको छ । एक पछि अर्को घटना चलचित्रका पर्दामा देखिए जसरी घट्दै कथा अघि बढेको छ । एक प्रकारको कौतुहलता पाठक मा रहदै आएको छ । कृतिमा पाईने कौतुहलता नै लेखनको सफलता हो । उपन्यासको भाषाशैली अर्थात यसका पात्रहरूले बोलेका संवादको बारेमा भन्नु पर्दा लेखकले चरित्रानुरूप र देशानुरूप पात्रहरूको संवादलाई जस्ताको यस्तै राखी दिएका छन्। नेपाली अंग्रजीसँगै हिन्दीले पनि ठाँउ पाएको छ भने स्पेनिस भाषाले पनि मौका पाएको छ । स्थानानुरूप परिस्थिति अनुरूप र पात्रानुरूप संवादले गर्दा उपन्यासले अनुशरण गरेको भाषाशैलीमा कतैखोट लगाउने ठाँउ देखिदैन । बरू नेपालीमा लेखिएको अंग्रेजी संवाद पढ्न पाठकको जिब्रो लरबराउने गर्छ र यसलाई अंग्रेजी शब्दमा राखेको भए राम्रो भन्ने कुरा आउन सक्छ । तर त्यसो गर्दा नेपाली भाषाको उपन्यासले कतिको न्याय नपाउन सक्छ भन्नेमा नै प्रश्न उब्जन थाल्छ ।

प्रस्तुत उपन्यासमा लेखनको उद्देश्यको बारेमा भन्नुपर्दा सन्तोषले अध्ययनका लागि अमेरिका प्रवेश गरेका प्रत्येक विद्यार्थीको यर्थाथ ता टकटकाएर देखाई दिएका छन् । यहाँ देश लाईन तोकौं । किनभने सपना बोकेर देशबाट प्रदेश आएका सबै विद्यार्थीहरूको कथाव्यथा यस्तै नै हुने गरेको छ । यहाँ कामको कदर हुन्छ भन्ने देखाइएको छ । यहाँ विद्याको सम्मान हुन्छ भन्ने देखाइएको छ । यहाँ कानून भन्दा ठूलो कोही हुँदैन भन्ने देखाइएको छ । यहाँ मिहेनत गरे मीठा फल पाइन्छ र बेईमानी गरे सजाय पाइन्छ भन्ने दखाइएको छ । यहाँ जात धर्म संस्कति आ-आफ्नै अनरूप चलेको छ भन्ने देखाइएको छ । यो रहरको दशमा आफ्नो सबै रहर पुर्‍याउन पाइन्छ भन्ने देखाइएको छ । साथै कर्म अनुसारको फल पाइन्छ भन्ने नेपाली उखानलाई पनि प्रताप जस्तो दुष्पात्रका माध्यमबाट देखाइएको छ । अझ सौकको पराकाष्ठामा पुग्दा भाग्नु पर्ने दुष्परिणामलाई पनि देखाइ दिएको छ । त्यसैले यो उपन्यासले लेखनको उद्देश्य पूर्ति गरेको छ भन्दा अतिशयोक्ति नहोला ।

उपन्सायले आफ्नो कथा यात्रामा माओवादीको जनयुद्ध र त्यसबाट मुलुकले भोग्नु परेको पीडालाई देखाएको छ । माओवादी राजनीतिमा आएर चुनावबाट बहुमतको सरकार बनेर पनि ढलेपछि पूनः देश मा देखा परेको अन्योलको स्थितिको प्रतिफल नै देशका युवाहरूको पलायन निति बन्दै गएको कुरा उपन्यासले अप्रत्यक्ष तरिकाले देखाएको छ । सन्तोषले आफै अनुभव गरेको वास्तविक कथा जस्तै लाग्ने अल्टिमेट आकाशमा नेपाली युवाहरूको पलायनका कारण, अमेरिका (विदेश )लाई गन्तव्य बनाउनुको औचित्य, अमेरिकाको युवाहरूको जीवन शैली, बाँच्नुको संघर्ष, जीवनुको वास्तविकता र अन्त्यमा अन्तत्वगोता नेपाली भएर विदेशिएका नेपालीको नेपालमै फर्कने मनभित्र उकुरमुकुस भएर रहेको आन्तरिक चाहनालाई उपन्यसले समेटेको छ ।

उपन्यासले उपसंहारका रूपमा लिएको २५ वर्ष पछिको कथाले धेरै आदर्शतालाई दर्शाउन खोजेको आभाष हुन्छ । विभासको संघर्षको कथापछि नीलमसँगको मिलाप नै कथाको निष्कर्ष हुनुपर्ने थियो। त्यसैले थोरैपानामा धेरै विवरणले उपन्यास टुंग्याइएर लेखकले आफ्नो आदर्शता प्रष्फुटित गरेको आभाष हुन्छ ।

उपन्यासका प्रकारगत् प्रक्रिया अनुरूप हेर्ने हो भने प्रस्तुत उपन्यालाई जीवनपरक आदर्शोन्मुख यथार्थवादी घटनाप्रधान सुखान्त उपन्यासका रूपमा परिभाषित गर्नसकिन्छ । उपन्यासले प्रस्तुतिमा तृतीय पुरूष दृष्टि बिन्दुकोशैलीका माध्यमबाट विभासलाई मुख्य पात्रका रूपमा उपस्थित गराएर उनका माध्यमबाट विदेशमा भोग्नु पर्नेजीवन शैलीका कठिन अंक गणितको समाधानका उपायहरू देखाइएकोछ ।

उपन्यासले नेपालको राजनैतिक वास्तविकता र स्वघोषित क्रान्तिकारी नेताहरूको आन्तरिक ईच्छाहरूलाई यसरी उदाङ्गो पारेर देखाइ दिएकोछ । यसले पनि नेपाली नेताहरूको स्वार्थी राजनीतिको परिणाम अहिलेसम्म नेपालीहरूले भाग्नु परेको प्रष्ट हुन्छः–

पृष्ठ १६२–१६३ : संविधान सभाको चुनावमा माओवादीको बहुमत आएको थियो । राजाराम दाइले पनि सिन्धुपाल्चोकबाट सभासद्मा भारी मतले जितेका थिए । –

ल विभास अब यतैफर्क, अब हाम्रो सरकार बन्छ । म तिमीलाई यतै चिफ इन्जिनियर बनाउँछु । ठूलो हाईड्रो प्रोजेक्टमा तिमीले त्यहाँ दस वर्षमा कमाउने हामी एकै प्रोजेक्टबाट एकै वर्षमा कमाउन सक्छौं।

………………………. राजाराम दाइ त केवल एक पात्र थिए । नौंटंकीका निर्देशक अरू नै थिए । …………………………मनका एउटा कुनामा देशमै फर्केर आउने चाहना भएका विभास जस्ता युवाका लागि देशको यस्तो स्थिति चट्टान झैं तगारो बन्थ्यो।

निष्कर्षमा १८ वर्ष नाघेका नवयुवाहरू नेपालबाट पलायन भएका वा हुन चाहने सबैले एकपटक पढ्नु पर्ने नेपाली युवाहरूका जीवनको आरोह अवरोहको वृतन्त हो सन्तोष लामिछानेको अल्टिमेट आकाश ।

– गोबिन्दसिंह रावत टोरन्टो, क्यानडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *