एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल बनाउँदै केयू

विशेष समाचार समाचार

न्यूज अपडेटसंवाददाता
काठमाडाैं, २७ मंसिर

काठमाडौं विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच लामो समयदेखि सम्बन्ध चिसिँदै गएको समयमा केयूले आफ्नै एक हजार शय्याको अस्पताल स्थापना गर्ने विषय बाहिर आएको छ। केयू र अस्पतालबीचको विवादका कारण दुई संस्थाबीचको सहकार्य तोडिने विषय बाहिर आइरहेको समयमा केयूका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले केयूले आफ्नै अस्पताल निर्माण गर्न लागेको सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री दाहालको उक्त भनाईसँगै केयू र धुलिखेल अस्पताल छुट्टिने विषय लगभग निश्चित जस्तै देखिएको छ। केयूले धुलिखेल सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्दै आइरहेको छ। केयू र अस्पतालबीच सन् १९९५ मा सम्झौता भएको थियो। उक्त समयमा ५० वर्षसम्मका लागि दुई संस्थाबीच सहकार्य हुने सम्झौता भएको थियो। तर सम्झौताको २८ वर्षपछि दुई संस्था छुट्टिने अवस्थामा पुगेका हुन्।

केयूको बुधबार आयोजित २९ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले विश्विविद्यालयले आफ्नै शिक्षण अस्पताल स्थापना गर्न लागेको भन्दै शुभकामना दिएका थिए। स्थापनाको ३२ औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ । यो शुभ कार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु ,’ प्रधानमन्त्री दाहालले भने, ुविश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु। म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौँ विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु।’

उनले चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा खुसी व्यक्त गर्दै अस्पताल खोल्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए। काठमाडौँ विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु,’ उनले भने।

दीक्षान्त समारोहमा केयूका उपकुलपति प्राडा भोला थापाले केयुले एक हजार शय्याको मल्टीस्पेसियालिटी शिक्षण अस्पताल बनाउन लागेको जानकारी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *